ओलम्पिक छनोटको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित
पेरिस महिला ओलम्पिकको एशियाली छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थपेको थियो।
पहिलो हाफमा ३-० गोल अन्तरले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको थियो। खेलको ८०औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन्।
एशियाली छनोटका लागि २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, अफगानिस्तान र प्लोस्टाइन छन्। अफगानिस्तान र प्यालेस्टाइन सहभागी नहुने भएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा चलिरहेको छ।
पहिलो चरणको दोस्रो खेलमा नेपाल चैत २५ मा फेरि भियतनामसँगै भिड्नेछ। समूह विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
सातै समूहबाट आएका सात टोलीहरूले दोस्रो चरणमा अस्ट्रेलिया, जापान, चीन, दक्षिण कोरिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ।
दोस्रो चरणका समूह विजेता र उपविजेता टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणको प्रतिस्पर्धामा उत्कृष्ट दुई टोलीले पेरिस ओलम्पिक खेल्न पाउनेछन्।