तस्वीरमा तेमाल जात्रा
बौद्ध स्तूपमा दीप प्रज्वलन गर्दै तेमाल जात्रा मनाइएको छ।
तामाङ समुदायले बुधबार साँझ बौद्ध र स्वयम्भूमा तेमाल जात्रा मनाएका हुन्। हरेक वर्ष चैत शुक्ल पूर्णिमा दिन तेमाल जात्रा लाग्ने गर्छ।
त्यसअघि चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरिन्छ। बुधबार तामाङ समुदायले बौद्ध स्तूपमा दीप प्रज्वलन गरेका छन्।
सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेको बौद्ध किंवदन्ती छ। उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बीज रोपेका थिए भन्ने विश्वास छ।
त्यही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको किंवदन्ती छ। विपश्वी बुद्धले कमलको बीज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको कथन छ।