किन खुला हुनुपर्छ खुलामञ्च?
पञ्चायतकालमा वाक्-स्वतन्त्रता नहुँदा पनि खुलामञ्च बोल्न पाइने ठाउँ थियो, तर लोकतन्त्रमा भने खुलामञ्च ‘बन्द’ छ।
२०६२/६३ सालको जनआन्दोलनबाट लोकतन्त्र पुन:स्थापित भएपछि बागबजारका गणेश चितौरे खुलामञ्चमा आयोजित विजय सभामा सहभागी भएका थिए। पुर्खाले छाडेर गएको साझा थलो अहिले महानगरले एकलौटी सम्पत्ति जस्तो बनाएपछि चितौरे खिन्न छन्। “महानगरले खुलामञ्च जनताका लागि बन्द गर्दा यो महानगरको एकलौटी सम्पत्ति जस्तो बनेको छ,” उनी भन्छन्।
सिन्धुपाल्चोकका लोकबहादुर मगर काम परेर वेलावेला काठमाडौं आइरहन्छन्। तर, खुलामञ्चमा छिर्न पाएका छैनन्। “बरु रत्नपार्कमा पैसा तिरेर जान्छु, खुलामञ्चभित्र त छिर्न पाएको छैन। कहिले बसपार्क राखेको छ, कहिले निर्माण सामग्री राखेको छ। अहिले त महानगरले ताला नै झुन्ड्याएको छ,” उनले भने।
गत चैत १३ गते महोत्तरीको बर्दिबासबाट हिंड्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले पनि खुलामञ्चमै विरोध कार्यक्रम गर्न खोजे। तर, काठमाडौं महानगरपालिकाले नगर प्रहरीको बलमा उनीहरूलाई रोक्यो।
यी त प्रतिनिधि उदाहरण मात्र हुन्। ऐतिहासिक, राजनीतिक तथा सांस्कृतिक महत्त्वको खुलामञ्च यति वेला नागरिकको लागि ‘आकाशको फल’ भएको छ। चारैतिर फलामको बार छ भने फलामकै ढोकामा ताल्चा झुन्ड्याइएको छ।
किन बन्द छ खुलामञ्च?
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर महानगरपालिकाले खुलामञ्चमा घाँस रोपेकाले ताल्चा लगाएको दाबी गर्छन्। “खुलामञ्चको चौरमा माटो राखिएको छ, तीन महीना भयो घाँस छरेको। घाँस बाक्लो भएपछि खुलामञ्च खुला हुन्छ,” उनी भन्छन्।
तर, हिमालखबरको स्थलगत अवलोकनमा भने खुलामञ्चमा घाँस रोपेको देखिएन। खुला मैदान मात्र छ। बसपार्क रहँदा खोलिएका पसलका भग्नावशेष अझै देखिन्छन्।
यता काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले मिटरब्याज पीडितले विरोध गर्न खोज्दा भने खुलामञ्च निषेधित क्षेत्र नभएको तर ‘माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविरै बनाएर खुलामञ्चमा राख्न गरिएको तयारीहरू शङ्कास्पद’ भएको भन्दै खुलामञ्च प्रवेश गर्न नदिइएको आशय व्यक्त गरेका थिए।
यसबाट प्रष्ट हुन्छ, महानगरका प्रवक्ता र मेयरबीच नै खुलामञ्च किन खुला नभएको भन्नेमा मतैक्य छैन। त्यसमाथि तीन महीना हुँदा पनि नउम्रने घाँसले प्रवक्ताको दाबीमा प्रश्न उठ्छ। प्रवक्ता मानन्धर घाँस उम्रन केही समय लाग्ने बताउँछन्। कति समय लाग्ने भन्न सक्दैनन्। “उम्रिन समय लागिहाल्छ नि। उम्रिसकेपछि खुला गर्छौं,” उनी भन्छन्।
उनी खुलामञ्चमा लागेको ताल्चाको चाबी महानगरपालिकाको वातावरण विभागसँग हुने तर्क गर्छन्। तर, वातावारण विभागका निर्देशक रविनमान श्रेष्ठ भने खुलामञ्च आफ्नो क्षेत्राधिकारमा नपर्ने बताउँछन्। “खुलामञ्च हेर्ने जिम्मेवारी वातावरण विभागको होइन। खुलामञ्चको चाबी वातावरण विभागसँग नभई महानगर प्रहरीसँग रहन्छ,” श्रेष्ठ भन्छन्।
अर्को, घाँस रोपिएको कुरा वातावरण विभागलाई थाहै छैन। नगर प्रहरी प्रमुख राजु पाण्डे पनि तीन महीनाअघि घाँस छरेको कुरा सत्य नभएको बताउँछन्।
“कुनै घाँस छरिएको छैन, प्राकृतिक रूपमै आफैं उम्रिरहेको छ। घाँस उम्रिएपछि खुलामञ्च खुला कुनै पनि हालतमा हुँदैन। महानगरले अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन,” पाण्डे भन्छन्।
केही दिनअघि भने नगर प्रहरीले खुलामञ्चको ताल्चा खोलेर त्यहाँ भएको रङ्गरोगनको निरीक्षण भने गरेको थियो।
जनताको विचार अभिव्यक्त गर्ने स्थान
खुलामञ्च त्यही स्थान हो जहाँ उभिएर २०३६ सालमा बीपी कोइरालाले निर्दलीय व्यवस्थाको आलोचना गर्दै बहुदलीय व्यवस्था पुन:स्थापित हुने भनेर सम्बोधन गरेका थिए। बीपीको यही कार्यक्रमपछि खुलामञ्च नेपाली जनताको विचार अभिव्यक्त गर्ने स्थान बनेको इतिहासविद् राजेश गौतम बताउँछन्। “बीपीले खुलामञ्चलाई साझा सम्पत्ति भएको अभिव्यक्ति दिएका थिए। जनताको सम्पत्ति, जनताकै अधिकारमा रहनुपर्ने बीपीको जोड थियो,” गौतम भन्छन्।
नेपाली कांग्रेस नेता तथा पूर्व सांसद भीमसेनदास प्रधान गणेशमान सिंह, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला जस्ता राजनीतिक व्यक्तित्वले आफ्नो अजेन्डा उठाउन खुलामञ्चलाई नै प्रयोग गरेको बताउँछन्। राजनीतिक दलको विरोध कार्यक्रममा खुलामञ्च भरिभराउ हुने गरेको प्रधान सम्झिन्छन्।
२०४६ तथा २०६२/६३ सालको जनआन्दोलनका क्रममा होस् वा संविधान निर्माणको वेला नेताहरूले आफ्नो योजना तथा मुद्दा खुलामञ्चमै बसेर सार्वजनिक गर्थे। तर, खुलामञ्च सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्नाले यसको अस्तित्व नै मेटिंदै गएको सरोकारवाला बताउँछन्।
अभियन्ता आलोक तुलाधार खुलामञ्च विना रोकतोक जनता प्रवेश गरेर आफ्नो भावना व्यक्त गर्ने ठाउँ भएको बताउँछन्। “जति पनि राजनीतिक परिवर्तन भए, यहींबाट शुरू भई अन्त्य भए। पञ्चायतकालमा राजा महेन्द्रको पालामा वाक्-स्वतन्त्रता हनन हुँदा पनि खुलामञ्च वाक्-स्वतन्त्रताको केन्द्र थियो। विडम्बना, लोकतन्त्रमा महानगरले बन्द गरिदिएको छ। यो गलत हो,” मानन्धर भन्छन्।
पूर्व सांसद प्रधान पनि पञ्चायतकालमा वाक्-स्वतन्त्रता नहुँदा समेत जनताले बोल्न बनाएको ठाउँ सधैं खुला हुनुपर्ने तर्क गर्छन्। “२०३६ सालमा बीपीले भाषण गर्दा समेत राजाले रोक लगाएनन्। अहिले लोकतन्त्रमा रोक लगाउनु गलत छ। मेयर बालेन साहको एकलौटी निर्णय गर्ने स्वभावले जनतालाई समस्या पारेको छ,” उनी भन्छन्।
खुलामञ्चमा भूमिगत पार्किङ, डीपीआर बन्दै
खुलामञ्च कहिले बसपार्क त कहिले वीर अस्पतालको निर्माण सामग्री राख्ने थलोका रूपमा भने प्रयोग हुँदै आएको छ। हाल महानगरले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजनाअघि सारेपछि विवाद उत्पन्न भएको छ। तर, महानगर पछि हटेको छैन। प्रवक्ता मानन्धर भूमिगत पार्किङको डीपीआर बन्दै गरेको बताउँछन्।
अभियन्ता तुलाधर खुलामञ्चको चौर आकाशे पानी जमीनमुनि भण्डारण गरेर नजिकको पोखरी, हिटी, कुवा तथा इनारहरूमा पठाउने संयन्त्र भएको बताउँछन्। यसै कारण पुर्खाले टुँडिखेलभरि बस्ती नबसाएको, खेती नगरेको तथा कुनै संरचना नबनाएको उनको भनाइ छ। उनी पार्किङ योजनाको विरोधमा छन्।
पूर्व सांसद प्रधान पनि जल भण्डारण (वाटर रिचार्ज) हुने स्थान खुलामञ्चमा भूमिगत पार्किङभन्दा पार्क बनाउनुपर्ने तर्क गर्छन्। पार्क बनाउँदा खुलामञ्चको अस्तित्व पनि जोगाउन सकिने उनको भनाइ छ।
खुलामञ्च: साझा चाैतारी
शहरी विकास विज्ञ किशोर थापा खुलामञ्च सांस्कृतिक, साङ्गीतिक, ध्यान, आमसभा तथा राजनीतिक दलको भाषण गर्ने स्थान भएको सम्झन्छन्। खुलामञ्च बन्द गरिंदा सर्वसाधारणको अधिकार खोसिएको उनको भनाइ छ। थापा भन्छन्, “काठमाडौंमा सार्वजनिक ठाउँको कमी छ। आपत्विपत्मा अस्थायी बसोबासका लागि पनि खुला ठाउँ खुला रहनुपर्छ।”
महानगरकी पूर्व उपमेयर हरिप्रभा खड्गी खुलामञ्च चौबीसै घण्टा खुला हुनुपर्ने बताउँछिन्। “पुर्खाले जनताका लागि छाडेर गएका हुन्। १९९० सालको भूकम्प होस् या २०७२ सालको, विपत्मा शरण लिने ठाउँ त्यही खुलामञ्च नै हो,” खड्गी भन्छिन्।
उनका अनुसार, विगतमा जाडोमा घाम ताप्ने, बच्चालाई तेल लगाएर घाममा राख्ने, सुन्तला-बदाम खाने, ताजा हावा खाने स्थान खुलामञ्च थियो। खुलामञ्चमा सर्वसाधारणले आफ्ना पीडा, वेदना बिसाउन पाउनुपर्ने, जमघट गर्ने, विजय सभा, विरोध र्याली, उत्सव लगायत गतिविधि निर्विरोध गर्न पाउनुपर्ने उनकाे भनाइ छ।
समाजशास्त्री मीना पौडेल खुलामञ्च काठमाडौं मात्रै नभई नेपालभरिका करदाताहरूको साझा चौतारी भएको बताउँछिन्। खुलामञ्च बन्द गरिंदा नागरिकको सामाजिक क्रियाकलाप र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको पौडेल बताउँछिन्। उनी भन्छ्न्, “सामाजिक रूपमा यसले महानगर र आम नागरिकबीचमा भएको सद्भावमा खलल पुर्याएको छ। नागरिकको आवाजसँग महानगर डराएको छ।”