उम्मेदवारको खर्च: चितवन र बारामा २९ लाख, तनहुँमा ३१ लाख
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ।
आयोगको बुधबार बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी खर्च निर्धारण गरेको हो। उपनिर्वाचनमा उठेका उम्मेदवारले अधिकतम खर्च गर्न पाउने सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आगामी वैशाख १० मा चितवन-२ र बारा-२ मा उम्मेदवारले बढीमा २९ लाख खर्च गर्न पाउनेछन्। त्यस्तै, तनहुँ-१ का उम्मेदवारले बढीमा ३१ लाख खर्च पाउने गरी सीमा निर्धारण गरिएको प्रवक्ता पौडेलले बताए।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि मार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले सचेत गराएको छ।