ओलम्पिक छनोट: पहिलो चरणमा आज नेपालको भियतनामसँग प्रतिस्पर्धा
फ्रान्सको पेरिसमा अर्को वर्ष हुने महिला ओलम्पिकका लागि एशियाली छनोटको पहिलो चरणमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै छ।
एशियाली छनोटका लागि २६ टोलीलाई सात समूहमा विभाजित गरिएको छ। नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, अफगानिस्तान र प्लोस्टाइन छन्। अफगानिस्तान र प्यालेस्टाइन सहभागी नहुने भएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुने लागेको छ।
दुवै टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल खेल्नेछन्। आज पहिलो खेल साँझ ६ बजे शुरू हुनेछ। समूह विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
सातै समूहबाट आएका सात टोलीहरूले दोस्रो चरणमा अस्ट्रेलिया, जापान, चीन, दक्षिण कोरिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ।
दोस्रो चरणका समूह विजेता र उपविजेता टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणको प्रतिस्पर्धामा उत्कृष्ट दुई टोलीले पेरिस ओलम्पिक खेल्न पाउनेछन्।
अञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपाली टोलीले भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।