रातो र सेतो मत्स्येन्द्रनाथबारे दुई भ्रम
मत्स्येन्द्रनाथ को हुन्? अनि सेतो र रातो बेग्लाबेग्लै मत्स्येन्द्रनाथ हुन् वा एकै व्यक्तिका दुई वर्ण हुन्?
काठमाडौं र पाटनमा निकै महत्त्व दिएर दुई बेग्लाबेग्लै रथजात्रा गरिन्छ। काठमाडौंको रथजात्रालाई ‘सेतो मत्स्येन्द्रनाथ’ र पाटनको रथजात्रालाई ‘रातो मत्स्येन्द्रनाथ’ भनिन्छ। काठमाडौंमा जात्रा सम्पन्न भएको केही दिनपछि मात्रै पाटनमा जात्राको तयारी शुरू हुन्छ।
अब प्रश्न उठ्छ- मत्स्येन्द्रनाथ को हुन्? अनि सेतो र रातो बेग्लाबेग्लै मत्स्येन्द्रनाथ हुन् वा एकै व्यक्तिका दुई वर्ण हुन्? मत्स्येन्द्रनाथबारे काठमाडौंमा एउटा किंवदन्ती प्रचलनमा छ। जस अनुसार‚ सिद्ध गोरखनाथलाई काठमाडौं आउँदा त्यति महत्त्व नदिइएपछि उनी क्रोधित भएछन्। उनले पनि काठमाडौंवासीलाई दुःख दिने मनसायले नाग साधना गरी सबै नागमाथि आसन जमाएछन्। अनि १२ वर्षसम्म काठमाडौंमा पानी नै परेनछ।
काठमाडौंका तान्त्रिकहरू गोरखनाथलाई आसनबाट उठाउन सके नागहरू मुक्त भई वर्षा हुने भएकाले उनका गुरु सिद्ध मत्स्येन्द्रनाथलाई काठमाडौं ल्याउनुपर्ने निष्कर्षमा पुगेछन्। यसका लागि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त र सहायकका रूपमा ललित नामका एक ज्यापू कामारुकामाक्षा पुगेछन्। त्यहाँबाट मत्स्येन्द्रनाथलाई काठमाडौं ल्याएपछि गुरुको दर्शन गर्न उनी उठ्दा नागहरू मुक्त भएछन् र वर्षा भएछ।
यही खुशियालीमा मत्स्येन्द्रनाथको रथजात्रा शुरू गरिएको हो भन्ने गरिन्छ। निकै चर्चित उक्त किंवदन्तीलाई इतिहासको आलोकमा राखेर अध्ययन गर्दा भने धेरै कुरा छताछुल्ल हुने देखिन्छ। जसले स्थापित मान्यताहरूमाथि पनि संगीन प्रश्नहरू उठाइदिन्छ।
जस्तो- नेपालको इतिहासमा नरेन्द्रदेव नाम रहेका तीन जना राजा थिए। यीमध्ये किंवदन्तीमा उल्लेख भएका राजा नरेन्द्रदेव को हुन्? सातौं शताब्दीका राजा नरेन्द्रदेवलाई रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित गरेका वर्णनहरू प्रचलित छन्।
नेपालको इतिहासमा नरेन्द्रदेव नाम रहेका तीन जना राजा थिए। यीमध्ये किंवदन्तीमा उल्लेख भएका राजा नरेन्द्रदेव को हुन्?
गोपाल राजवंशावलीमा राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तको पहलमा बुंगम लोकेश्वरलाई काठमाडौं उपत्यका भित्र्याएको उल्लेख छ। बुंगम लोकेश्वर भनेका हिजोआज बुंग वा बुंगमती नामले प्रसिद्ध ललितपुरको दक्षिणतिर प्राचीन नेवार बस्तीमा विराजमान पद्मपाणि लोकेश्वर हुन्।
यसलाई स्थानीय नेवारहरू अहिले पनि ‘बुंगद्यः’ नामबाटै सम्बोधन गर्छन्। ‘बुंगम लोकेश्वर’ वा ‘बुंगद्यः’ लाई नै हिजोआज रातो मत्स्येन्द्रनाथका रूपमा चिनाइन्छ।
यस लोकेश्वरलाई ६ महीना बुंग (बुंगमती) र ६ महीना पाटनमा विराजमान गराइने परम्परा छ। यसलाई लोक प्रचलनमा करुणामय पनि भन्ने चलन छ।
जुनसुकै नाम प्रचलनमा रहे पनि मूर्ति पद्मपाणि बोधिसत्वको हो। गौतम बुद्धकै दाँजोको बुद्ध हुने हैसियत राखेर पनि त्यसलाई स्थगन गरी लोककल्याणका लागि निरन्तर लागिरहन्छु भन्ने मनसाय राखेका बोधिसत्वहरूलाई लोकेश्वर वा अवलोकितेश्वर भनिन्छ।
बौद्ध मान्यता अनुसार अवलोकितेश्वर देवता नभए पनि यिनलाई सामान्यतः देवता भनेर सम्बोधन गर्ने गरेको पाइन्छ। नेपालमा विभिन्न १०८ अवलोकितेश्वरका नाम लोकप्रिय छन् भने थप अन्य लोकेश्वर समावेश गरेर ३६० पुर्याइएका छन्।
यिनीहरूलाई तिब्बती भाषामा ‘चेनरेसी’ भनिन्छ। तिनै अवलोकितेश्वरमध्ये एक हुन्- पद्मपाणि बोधिसत्व। प्राप्त मूर्तिहरूको आधारमा यिनी सबैभन्दा लोकप्रिय भएको बुझिन्छ। यिनको वर्ण रातो देखेर नाथपन्थीहरूले रातो मत्स्येन्द्रनाथ भनेको बुझ्न गाह्रो छैन।
दुई बेग्लाबेग्लै अवलोकितेश्वरको मूर्तिलाई गुरु मत्स्येन्द्रनाथसँग तादात्म्य देखाउनु उदेकलाग्दो कुरा हो।
त्यस्तै‚ काठमाडौंको जनबहालमा राखिएका अवलोकितेश्वरको नाम हो- आर्यावलोकितेश्वर। यिनको वर्ण सेतो भएकै आधारमा सेतो मत्स्येन्द्रनाथ भनियो। दुई बेग्लाबेग्लै अवलोकितेश्वरको मूर्तिलाई गुरु मत्स्येन्द्रनाथसँग तादात्म्य देखाउनु उदेकलाग्दो कुरा हो।
मत्स्येन्द्रनाथ भनी नामकरण गरिनु हचुवाको काम
गुरु मत्स्येन्द्रनाथ कुनै काल्पनिक पात्र होइनन्। नाथ सम्प्रदायमा यिनको उच्च स्थान छ। यो सम्प्रदायमा तान्त्रिक विधि अनुसार साधना गरिन्छ। तान्त्रिक साधना गर्ने बौद्धहरू पनि हुन्छन्। तन्त्र अनेकौं प्रकारका हुन्छन्।
बौद्ध इतिहासको प्रारम्भिक कालमा तन्त्रको खासै प्रयोग हुँदैनथ्यो। पछि बौद्ध साधकहरूले पनि तन्त्रलाई अपनाउँदा नाथपन्थीहरूसँग नजिक हुन पुगे।
एउटै प्रकृतिको तन्त्र प्रयोग गरेर आआफ्नो दर्शन अनुसारको साधना गर्दा यसलाई बाहिरबाट देख्नेहरू धेरै मात्रामा अलमलिन पुगेको पनि देखिन्छ। यसरी नै कतिपय सन्दर्भमा दुई सम्प्रदायका कुराहरू मिल्छन्। यही भएर नाथ सम्प्रदायले मान्ने गरेका सिद्धहरू बौद्ध सन्दर्भमा पनि जोडिन्छन्।
बौद्ध जगत्मा प्रसिद्धि पाएका ८४ सिद्ध तथा थप सिद्धहरूमध्ये कतिपय नाथ सम्प्रदायमा पनि भेटिनु यसको उदाहरण हो। गुरु मत्स्येन्द्रनाथको सम्बन्धमा धेरै जानकारी उपलब्ध छन् र भारतमा उनको मूर्ति पनि बनेका छन्। तर, नाथपन्थीहरूले प्रस्तुत गर्ने उक्त मूर्तिले पद्मपाणि र आर्यावलोकितेश्वरसँग सादृश्य राख्दैन।
विभिन्न नामका अवलोकितेश्वरहरू विभिन्न मुद्रा र वर्णका हुन्छन्। अरू कुनै पनि अवलोकितेश्वरलाई गुरु मस्त्येन्द्रनाथको नाम नजोडिने तर पाटनको पद्मपाणि र काठमाडौंको आर्यावलोकितेश्वरलाई मात्र रातो मत्स्येन्द्रनाथ र सेतो मत्स्येन्द्रनाथ भनी नामकरण गरिनुमा हचुवाको काम वा सतही चिन्तन भन्न सकिन्छ। यी दुई अवलोकितेश्वरलाई मत्स्येन्द्रनाथ भन्ने चलन अन्यत्र कतै पनि पाइँदैन।
अवलोकितेश्वरहरूको सम्बन्धमा बौद्ध धर्मानुयायीहरू अत्यन्तै प्राचीनताका कुरा गर्ने भए पनि त्यसमा ऐतिहासिकताको अभाव हुने गर्छ। यसलाई इतिहासकै सन्दर्भमा कुरा गर्दा बौद्ध धर्मभित्र महायान र बज्रयानको विकासपछि मात्रै अवलोकितेश्वरहरूको अवधारणा प्रकट भएको पाइन्छ।
गौतम बुद्धका उपदेशलाई व्यवहारमा उतार्ने क्रममा अनेक तौरतरीकाको विकास हुँदै अवलोकितेश्वर लगायत अवधारणाको पनि विकास क्रमशः हुँदै आएको इतिहासमा देखिन्छ। यस अनुसार छुट्टाछुट्टै पन्थका रूपमा आआफ्नो रुचि अनुसार भिन्नाभिन्नै अवलोकितेश्वरलाई अपनाएको पाइन्छ।
काठमाडौं उपत्यकामा पाँचौं/छैटौं शताब्दीतिर नै अवलोकितेश्वरहरू लोकप्रिय भइसकेको दृष्टान्त मूर्ति तथा शिलालेखहरूबाट जानिन्छ। सातौं शताब्दीमा राजा नरेन्द्रदेवको अग्रसरतामा पद्मपाणि लोकेश्वरको रथजात्रा नै शुरू गरेको बुझिन्छ। काठमाडौंमा आर्यावलोकितेश्वरको रथजात्रा पछि मात्रै चलाइएको हो।
यी बाहेक कीर्तिपुरको चोभार डाँडामा अवस्थित आनन्दादिलोकेश्वर तथा नालाको सृष्टिकान्ता लोकेश्वर पनि लोकप्रिय अवलोकितेश्वरहरू हुन्। यी दुईको काठमाडौं र पाटनमा जस्तो भव्य रथजात्रा नभए पनि जात्रा भने हुन्छ। दोलखामा पनि लोकेश्वरको रथजात्रा गर्ने परम्परा छ। यी बाहेक अन्य लोकेश्वरहरूको उल्लेख तथा पूजाआजा दैनिक धार्मिक कार्यमा नै हुन्छ।
अत्यन्तै प्रचलित बौद्ध मन्त्र ‘ओम् मणि पद्म हुँ’ षडक्षरी लोकेश्वरसँग सम्बन्धित हुन्। अवलोकितेश्वरहरूको रथयात्रा गर्ने चलन एक समय भारतमा व्यापक रहेको सातौं शताब्दीका चिनियाँ यात्री हुयान साङको वर्णनबाट पनि बुझिन्छ। नेपालमा यो चलन भारतबाटै आएको दृष्टान्त जात्रासम्बद्ध व्यक्तिहरूको वेशभूषा तथा अन्य कुरा हुन्।
करुणामयका रूपमा चिनिएका अवलोकितेश्वरको रथमा बलि दिइनु बौद्ध धर्मलाई नसुहाएको भनी बाहिरबाट टिप्पणी र आलोचना हुने गरेको छ।
सबै अवलोकितेश्वर स्वभावैले करुणावान् हुने भएर उनीहरूलाई सम्बोधन गर्दा ‘करुणामय’ भनिन्छ। तर‚ करुणामय भनेर नछुटिने भएकाले जनसाधारणमा पाटनको पद्मपाणि बुंगद्यः, काठमाडौंको आर्यावलोकितेश्वर जनबहाद्यः, कीर्तिपुरस्थित चोभारको आनन्दादिलोकेश्वर चोबहाःद्यः, नालास्थित सृष्टिकान्ता लोकेश्वर नाला करुणामय भनेर चिनिन्छन्। यी लोकेश्वरका अनन्य भक्तहरूमाझ रातो वा सेतो मत्स्येन्द्रनाथ नाम प्रचलनमा पाइँदैन।
बौद्ध संस्कृतिलाई हिन्दूकरण गर्ने खेलाँची
पाटन र काठमाडौंको रथजात्रामा नाथपन्थीहरूको भूमिका भए पनि प्रधान भने होइन। रथजात्रामा विघ्नबाधा नआओस् भनेर तान्त्रिक विधिले पूजा गर्ने काम नाथ सम्प्रदायका कानफट्टा जोगीहरूबाट सम्पन्न गराइन्छ। अन्य जात्रापर्वमा पनि नाथहरूबाट यस्ता पूजा सम्पन्न गराइने चलन पाइन्छ। उनीहरूबाटै रथको पाङ्ग्रामा बोका बलि दिने कार्य पनि हुन्छ।
करुणामयका रूपमा चिनिएका अवलोकितेश्वरको रथमा बलि दिइनु बौद्ध धर्मलाई नसुहाएको भनी बाहिरबाट टिप्पणी र आलोचना हुने गरेको छ भने स्वयं बौद्धहरूले पनि यस्तो पशुबलिमा असन्तुष्टि पोख्दै आइरहेको पाइन्छ। करुणामयको मूर्तिमा पर्दा हालेर भए पनि परम्पराका नाममा पशुबलि दिंदै आइरहेको पाइन्छ।
अवलोकितेश्वहरूको लोकप्रियता काठमाडौंमा सातौं शताब्दीभन्दा अघि नै व्यापक भइसकेको र रथजात्रा लगायतका सांस्कृतिक गतिविधि चलिसकेको अवस्थामा दशौं शताब्दीमा मात्रै देखापरेको नाथ सम्प्रदायसँग यसलाई जोड्नु कालक्रम अनुसार पनि मिल्दैन।
यसरी नै वंशावलीमा राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले लोकेश्वर ल्याएको कुरा हुँदाहुँदै अनेक कथाको सिर्जना इतिहाससम्मत छैन। कथामा गुरु गोरखनाथले नाग साधना गरी तिनमाथि आसन जमाएर काठमाडौंमा १२ वर्षसम्म अनावृष्टि गरिदिएको भने पनि इतिहासको कुनै कालखण्डमा अनावृष्टिको समस्या भएको ऐतिहासिक स्रोतसामग्रीले पुष्टि हुँदैन।
नाथ सम्प्रदायका गुरु मत्स्येन्द्रनाथ पुरुष भएकोमा कुनै द्विविधा छैन। तर, अवलोकितेश्वरहरूलाई कहीं पुरुष त कहीं महिलाका रूपमा मूर्ति तथा चित्रकलाको सिर्जना गर्ने चलन नेपाल, भारत, चीन, कोरिया, जापानमा व्यापक छ। काठमाडौं उपत्यकामा त मूर्तिको संस्कारकर्म पुरुष र महिला दुवैको बेग्लाबेग्लै रूपमा गरिन्छ।
पाटनमा रथजात्रा गरिने पद्मपाणि लोकेश्वरलाई मात्र रातो मत्स्येन्द्रनाथ भनिन्छ, अन्य कुनै पनि पद्मपाणि लोकेश्वरका मूर्ति तथा चित्रलाई त्यस रूपमा लिइँदैन।
यसैगरी काठमाडौं जनबहालमा विराजमान सेतो वर्णका आर्यावलोकितेश्वरलाई सेतो मत्स्येन्द्रनाथ भनिन्छ। सेतो वर्णकै नालास्थित सृष्टिकान्ता लोकेश्वर तथा रातो वर्णको आनन्दादि लोकेश्वरलाई सेतो वा रातो मत्स्येन्द्रनाथ भनिंदैन। बरु आनन्दादि लोकेश्वरलाई आदिनाथ भन्ने गरिए पनि यो नाम बौद्ध तथा स्थानीय समुदायमा प्रचलित छैन।
अर्थात् नाथ सम्प्रदायमा नै त्यति चासोको विषय नभएको रातो र सेतो मत्स्येन्द्रनाथको नामकरण बौद्ध संस्कृतिलाई हिन्दूकरण गर्ने सुझबुझ विनाको एउटा खेलाँची मात्रै हो।