मधेश सरकारबाट बाहिरियो एमाले
नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव‚ कानून‚ न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी‚ गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह‚ महिला‚ बालबालिका‚ युवा तथा खेलकूद मन्त्री मोहम्मद जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरूले राजीनामा बुझाएको बताए। “केन्द्रमा सत्ता समीकरण बदलिएलगत्तै एमालेका मन्त्रीहरूले राजीनामा दिनेबारे परामर्श गर्नुभएको थियो तर त्यसबेला मैले नै पर्खिन भनेको थिएँ”, मुख्यमन्त्री यादवले भने, “केन्द्रमा गठबन्धन दलको निर्णय र विकसित राजनीतिक अवस्थाका कारण उहाँहरूले नैतिकताका आधारमा राजीनामा बुझाउनुभएको हो ।”
मुख्यमन्त्री यादवले बारा-२ को उपनिर्वाचनपछि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीसहित सरकार विस्तार हुनेमा विश्वास व्यक्त गरे।
निवर्तमान कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरूले नैतिकताका आधारमा राजीनामा दिएको बताए।