मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन
मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गरेको हो। आयोगको अध्यक्षमा गौरीबहादुर कार्की चयन भएका छन्। उनी विशेष अदालतका पूर्व अध्यक्ष हुन्।
त्यस्तै, आयोगका सदस्यमा उत्तमबहादुर सुवेदी र गणेशबाबु अर्याल रहेका छन्। सुवेदी नेपाल प्रहरीका पूर्व एआईजी र अर्याल पूर्व नायब महान्यायाधिवक्ता हुन्।
आयोगलाई मिटरब्याज पीडितका समस्या समाधान हुने गरी प्रतिवेदन तयार गर्न तीन महीनाको समय दिइएको छ। आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहने भएको छ।
अधिकारसम्पन्न आयोग गठन गर्न माग गर्दै महोत्तरीको बर्दिबासबाट मिटरब्याज पीडित १२ दिन हिंडेर काठमाडौं पुगेका थिए। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्नो समस्या समाधान गर्न माग गरेका थिए।