विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठगेको आरोपमा २४ जना पक्राउ
अवैध रूपमा सञ्चालन गरेको विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठग्ने गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट २४ जनालाई पक्राउ गरेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बसेर विभिन्न एप बनाएर विदेशी नागरिकलाई ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल तथा विदेशमा रहेका नागरिकलाई विभिन्न एप मार्फत नग्न तस्वीर पठाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले बताए।
उनीहरूले विदेशी नागरिकलाई ट्र्यापमा पारेर ठगी गरेको खुलेको छ। कतिपयलाई विभिन्न प्रलोभन देखाएर पैसा असुल्ने गरेको पनि पाइएको डीएसपी गौतमले बताए।
पक्राउ परेका २४ जना २० देखि २८ वर्षका युवायुवती छन्। उनीहरूसँगै प्रहरीले ३५ वटा कम्प्यूटर, २० वटा मोबाइल र विभिन्न विद्युतीय उपकरण पनि नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-८ मा दिलाजी आईटी कम्पनी नाममा दर्ता भए पनि तीन महीनादेखि जनकपुरधाममा सञ्चालन गरिएको पाइएको छ।
काठमाडौंमा अवैध रूपमा सञ्चालनमा रहेका विद्युतीय कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेपछि उनीहरू जनकपुरधाम आएको प्रहरीले जनाएको छ। जनकपुरधाममा पर्साको पकहा मोहनपुर-५ का सत्यानन्द राम र सञ्जु साहले उनीहरूलाई काममा लगाउँदै आएको पाइएको हो।
उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी गौतमले बताए। “अवैध रूपमा ठगीधन्दा चलाउँदै आएकाले विद्युतीय उपकरण सहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं,” उनले भने।