लागूऔषध ओसारपसार गर्ने समूहबीच गोली हानाहान, एक युवक घाइते
नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसार गर्ने समूहबीच गोली हानाहान भएको छ भने गोली लागेर एक युवक घाइते भएका छन्।
लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिबीच विराटनगरसँग सीमा जोडिएको भारतको जोगबनीस्थित टिकुलिया बस्तीमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा सोमबार बिहान गोली चलेको प्रहरीले जनाएको छ।
गोली लागेर स्थानीय २० वर्षीय अंकित सिंह घाइते भएका छन्। सिंहको मुखमा गोली लागेको छ। उनको विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, जोगaनीबाट लागूऔषध नेपाल ल्याउंने र नेपालबाट गाँजा लैजाने समूहबीच विवाद भएको हो। उनीहरूबीच नेपालतर्फ ल्याउने लागूऔषधकै विषयमा विवाद भएको बताइएको छ।
घरेलु कटुवा पेस्तोलबाट गोली चलेको पाइएको प्रहरीले जनाएको छ। गोली हान्ने व्यक्तिको पहिचान खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय, मोरङले यस घटनाको अनुसन्धान भइरहेको बताएको छ। त्यस्तै, भारतीय प्रहरीले पनि गोली हान्ने व्यक्तिको खोजी गरिरहेको जनाएको छ।