अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार हुँदै मूलपानी (तस्वीरहरू)
वैशाख पहिलो साता नेपालमा हुने एसीसी प्रिमियर कपका लागि मूलपानी क्रिकेट मैदान तयार हुँदै छ।
एशिया कपको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप आगामी वैशाख ५ बाट शुरू हुँदै छ। १० वटा टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका २४ खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ५ गते नेपाल र मलेशिया त्रिवि क्रिकेट मैदानमा भिड्नेछन्। मूलपानीमा भने अर्को दिन वैशाख ६ गते ओमन र कतारले प्रतिस्पर्धा गर्नेछन्। मूलपानी क्रिकेट मैदानमा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।
मूलपानीमा प्रतियोगिताका १० वटा खेल हुनेछन्। जसमा नेपाल र साउदी अरबबीचको खेल मूलपानीमा सञ्चालन हुनेछ।
त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)को टोलीले मूलपानी क्रिकेट मैदान तयार गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने काम अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ।
प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेका साउदी अरब, ओमन, कतार र मलेशियासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समूह ‘बी’ मा यूएई, कुबेत, हङकङ, सिंगापुर र बहराइन छन्।
एसीसी प्रिमियर कपको विजेता टोली एशिया कपका लागि छनोट हुनेछ। एशिया कपका लागि आयोजक पाकिस्तानसँगै बाङ्लादेश, भारत, अफगानिस्तान र श्रीलंका छनोट भइसकेका छन्।