हकिङले भनेका थिए- मेरो पुस्तक गलत छ
स्टिफन हकिङले आफ्नो चर्चित पुस्तक ‘अ ब्रीफ हिस्ट्री अफ टाइम’ गलत भएको वैज्ञानिक थोमस हर्टोगलाई बताएका थिए। हकिङ र हर्टोगको संयुक्त अनुसन्धानको वृतान्त बताउने पुस्तक यही महीना सार्वजनिक हुँदै छ।
चार वर्षअघि निधन भएका भौतिकशास्त्री स्टिफन हकिङ जत्तिकै चर्चित छ उनको पुस्तक अ ब्रीफ हिस्ट्री अफ टाइम। सन् १९८८ मा प्रकाशित यो पुस्तक विज्ञानबारे लेखिएका सबैभन्दा बढी पढिएका पुस्तकहरूको सूचीमा आउँछ, जसको करीब एक करोड प्रति बिक्री भइसकेको दाबी गरिन्छ। तर, यति चर्चित र सर्वपठित पुस्तकका लेखक हकिङ स्वयं भने उक्त पुस्तक गलत दृष्टिकोणबारे लेखिएको ठम्याइमा पुगेका थिए।
प्रसङ्ग सन् २००२ देखि शुरू हुन्छ। जब खगोलशास्त्री थोमस हर्टोगले आफ्ना गुरु स्टिफन हकिङले पठाएको इमेल पाए। इमेल पाउनासाथ उनी हतारिंदै क्याम्ब्रिज विश्वविद्यालयमा रहेको हकिङको कोठामा पुगे। “उनका आँखा उल्लासले उज्याला भएका थिए,” हर्टोग सम्झिन्छन्।
आफ्नो कुर्सीमा जडान गरिएको कम्प्युटर नियन्त्रित स्वर प्रणालीबाट मात्र कुरा गर्न सक्ने हकिङले दुई औंला चलाउँदै आवाज निकाले, “मैले मेरो विचार बदलेको छु। मेरो पुस्तक अ ब्रीफ हिस्ट्री अफ टाइम गलत दृष्टिकोणबाट लेखिएको थियो।”
त्यसपछि हकिङ र हर्टोगको सहकार्य शुरू भयो। ब्रह्माण्डबारे आफ्ना पछिल्ला विचारहरू समेट्ने गरी उनीहरूले नयाँ ढङ्गले काम थाले।
हकिङको निधन भएको पाँच वर्षपछि यही अप्रिलमा उक्त पुस्तक आउँदै छ जसको नाम हो- अन द ओरिजिन अफ टाइमः स्टिफन हकिङ्स फाइन थ्योरी।
हर्टोगका अनुसार, उनको पुस्तक अन द ओरिजिन अफ टाइमले ब्रह्माण्डमा हाम्रो स्थानबारे बताउँनेछ। त्यससँगै केले गर्दा हाम्रो जीवन यो ब्रह्माण्डमा सम्भव छ भन्ने बताउनेछ।
(द गार्डियनबाट अनुवादित।)