उपनिर्वाचनका लागि आज मनोनयन दर्ता
आगामी वैशाख १० गते बारा‚ चितवन र तनहुँमा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ।
जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा-२‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने सांसद पद खारेज भएपछि चितवन-२ र कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हो।
सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।
बारा-२ मा जसपाले अध्यक्ष उपेन्द्र यादव, रास्वपाले रमेश खरेल, जनमत पार्टीले शिवचन्द्र कुसवाहा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोनेलाल साहलाई उम्मेदवारी बनाउने निर्णय गरेका छन्।
चितवन-२ मा रास्वपाले अध्यक्ष रवि लामिछाने‚ कांग्रेसले जितनारायण श्रेष्ठ‚ नेकपा (एमाले)ले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
तनहुँ-१ मा रास्वपाले स्वर्णिम वाग्ले‚ एमालेबाट सर्वेन्द्र खनाल र कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बन्ने तय भएको छ।