सशस्त्र द्वन्द्वले तहसनहस एउटा निर्दोष परिवार
१८ महीना सैनिक हिरासतमा यातना, नाबालिग छोराहरूकै सामुन्ने आमाको सामूहिक बलात्कार, विक्षिप्त दुई छोराद्वारा आत्महत्या, धनसम्पत्ति लुटपाट, उपचार गर्न निकालेको ऋण तिर्न नसक्दा घर लिलाम हुँदै। यो सब खेपेर पनि न्याय खोजिरहेका पूर्णप्रसाद पौडेल भन्छन्, “यातनाभन्दा न्यायको संघर्ष झन् पीडादायी भएको छ।”
“तँ माओवादी होस्, बाबुराम र प्रचण्डको कुत्ता होस्!”
“तँ माओवादीको सुराकी होस्!”
बारम्बार यिनै वाक्य दोहोर्याउँदै एक हुल मान्छे पूर्णप्रसाद पौडेलको छातीमा बुट बजार्दै थिए। पूर्णको हातमा हतकडी लगाइएको थियो। आँखामा पट्टी। उनले केही भेउ पाइरहेका थिएनन्।
यत्ति थाहा थियो- उनी एउटा भ्यानभित्र छन्। भ्यान कतै गइरहेको छ।
घटना २०५८ साल मंसीर १३ गतेको हो। साथी कर्णबहादुर थापाले पूर्णलाई नयाँ बस थप्न भन्दै नेपालगञ्ज बोलाए। पूर्ण यातायात व्यवसायी थिए। किराना पसल पनि चलाउँथे।
नेपालगञ्ज जानुअघि सुर्खेतमा भएको पसलमा सामान थप्न भन्दै पाँच लाखको चेक श्रीमतीलाई दिए। गोजीमा सात लाख रुपैयाँ बोकेर नेपालगञ्ज हानिए।
त्यहाँ पुग्दा कर्णले कम्पनीलाई पैसा बुझाइसकेका रहेछन्। कर र भन्सार तिर्न बाँकी थियो। कर्णले बीपी चोक बोलाए। पूर्ण त्यतै लागे।
कर्ण आइपुगेका थिएनन्। एकछिन कुरे। एक्कासि एक हुल मानिस आएर पूर्णलाई समाते। लछारपछार पारे।
त्यो देशमा माओवादी द्वन्द्व चर्किएको वेला थियो। मुख्य चोकमै पूर्णलाई हातपात गर्दा पनि कसैले सहयोग गरेनन्। गर्ने अवस्था पनि थिएन।
पूर्णलाई भ्यानभित्र हालियो।
शुरूमा त भ्यान बर्दियाको ठाकुरद्वाराको प्रहरी कार्यालयमा रोकियो। त्यहाँबाट पूर्णलाई बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने चिसापानी नजिकको हात्तीसार लगियो जुन यातनागृहमा उनले १८ महीना बिताए।
त्यहाँ हरेक दिन छाती र पिठ्युँमा बुटैबुट बजार्थे। शरीरका जोर्नीमा पटक पटक करेन्ट लगाउँथे। दिसापिसाब आउँथ्यो, शरीरमै सुक्थ्यो।
“कोरा व्यापारी, माओवादीको सुराकी भन्दै निर्मम पीडा दिइयो। शरीरको कुनै भाग छैन, जहाँ चोट नलागेको होस्। हातका सबै औंलामा पिन गाडियो,” पूर्णले सुनाए। उनको औंलामा डाम अहिले पनि प्रष्ट देखिन्छ।
यति हुँदा पनि सहने र चूप लाग्ने बाहेक पूर्णसँग कुनै विकल्प थिएन। किनकि, उनी जस्तै यातना भोग्ने अरू पनि थिए।
“मर्ने वेला मान्छेको चिच्याहट निकै भयानक हुँदो रहेछ। कानमा सुनिन्थ्यो। आँखाले हेर्न मिल्दैनथ्यो,” उनले भने, “मान्छे मारेर गाड्ने वेलाको छटपटी आजीवन सम्झिरहनेछु।”
पूर्णको बायाँ खुट्टाको बुढी औंला यातनाकै दौरान च्यातिदिए। उनका दुवै खुट्टामा कुटाइ खाँदा बनेको निलडाम अझै छ।
यातना पाउँदा उनी ४६ वर्षका थिए। अहिले ६८ पुगे।
गिरफ्तारीको ४१औं दिन...
रेडियोले ‘आज यहाँ यति मरे’ भनेर खबर दिइरहन्थ्यो। ‘कतै श्रीमान्को नाम पो आउने हो कि!’ रेडियो सुनेर दुई छोरा र दुई छोरीसँगै खगिसरालाई यस्तै लाग्थ्यो। परिवार पूर्णको श्वास र लास दुवैसँग बेखबर थियो।
पूर्ण गिरफ्तार भएको ४१औं दिन, पुस २४ गते। बिहान करीब ९ बजेतिर खगिसरा पसल जाने तयारीमा थिइन्। छोराछोरीलाई खाना खुवाएर स्कूल पठाइन्।
एक्कासि सुर्खेतको मंगलगढी ब्यारेकबाट सेनाका जमदार रामबहादुर महतको नेतृत्वमा आएको टोलीले उनीहरूको घर घेरे। स्कूल हिंडेका छोराहरू राजेन्द्र र नारदलाई पनि लछारपछार पार्दै घरमै ल्याए। ती नाबालकलाई माओवादीको सुराकी गरेको भन्दै कुटे।
“अनि १० जना सैनिकले पालैपालो मेरी श्रीमतीलाई बलात्कार गरे। नाबालकलाई ठिङ्ग उभ्याएर आमाको चीरहरण भएको हेर्न लगाए,” पूर्ण थप बोल्नै सकेनन्, उनका आँखा नम भए। बरर आँसु बग्न बग्न थाले।
छोराहरूले प्रतिकार नगरेका पनि होइनन्, दुवैलाई मरणासन्न हुने गरी कुटेकाले केही गर्नै सकेनन्। कान्छो छोरो नारदको हात भाँचिदिए। घटनापछि दुवै छोरा मानसिक रूपमा विछिप्त भए।
धन्न दुइटी छोरीलाई भने गाउँलेले लुकाइदिएका रहेछन्। “यो १० वर्षको लडाइँले कसलाई के दियो, त्यो त थाहा छैन। मैले चाहिं यातना र अन्याय पाएँ,” पूर्ण आँखा पुछ्दै सुस्तरी बोले।
सेनाको यातनागृहमा उनलाई बोल्न छूट थिएन। भोक, प्यास र निद्राले सताउँथ्यो। जिन्दगीभर यातना भोग्न लेखिएको रहेछ भन्ने ठानेर उनी आफ्नै भाग्यलाई दोष दिन्थे।
पूर्णको अगाडि रित्तो थाल राखिदिन्थे। सैनिक ‘खा माओवादी भात’ भन्थे।
“हातले थाल खोज्थें। भात हुँदैनथ्यो। खाइनँ भन्यो भने हाम्रो बेइज्जत गर्छस् माओवादी, खाएर खाइनँ भन्छस् भन्दै कुटपिट गर्थे,” उनी ती दिन सम्झिँदै भन्छन्।
उनलाई सेना त मान्छे होइनन् भन्ने लाग्न थालिसकेको थियो। तर, ब्यारेकमा एक जना दयालु पनि रहेछन्। उनको नाम पूर्णले कहिल्यै थाहा पाएनन्।
“मासु पकाएको दिन प्लास्टिकको भाँडामा हालिदिन्थे। चाँडो खाऊ, मैले यस्तो गरेको थाहा पाए भने हामी दुवैको एकै चिहान हुन्छ भन्थे,” पूर्णले सुनाए, “कोही नहुनेको भगवान् हुन्छ भन्थे, उनी मेरा लागि भगवान् नै बने।”
यत्ति थियो मन बुझाउने बाटो, बाँकी समय त यातनामै बित्थ्यो। उनी भन्छन्, “म व्यापारी थिएँ। लडाइँसँग मेरो न विरोध थियो न समर्थन।”
लास नल्याएको निहुँ
पूर्णप्रसादले यत्रो यातना किन भोग्नुपर्यो? निहुँ सामान्य छ।
दोहोरो भिडन्तमा गोली लागेर एक जना ट्रक चालकको ज्यान गएको रहेछ। त्यसपछि प्रहरीले ‘लास ल्याइदिनू’ भनेका रहेछन्। पूर्णको जीप आधा बाटो मात्र पुग्न सक्यो। “ठूला गाडी मात्र जान सक्ने बाटो थियो। हाम्रो गाडी अगाडि बढ्न नसकेर लास नल्याई फर्कियो,” उनले भने।
त्यस वेलाका एसपी वीरशरण थापाले यत्ति निहुँमा पूर्णलाई माओवादी भएकाले सहयोग नगरेको भन्दै आक्रोश पोखे। “तिमीहरूले माओवादीलाई सहयोग गर्यौ भनेर वारेन्ट काट्यो,” उनले भने। त्यही आधारमा सेनाले नियन्त्रणमा लिएर दिनुसम्म यातना दियो।
१८ महीनापछिको मुक्ति
मानव अधिकारकर्मी भोला महत र पवन भट्टसँग पूर्णको पुरानै चिनजान थियो। भोला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा काम गर्थे। यो चिनजान पूर्णका लागि वरदान सावित भयो।
उनी गिरफ्तार भएको कुरा २०६० सालमा इन्सेकमा थाहा भयो। मानव अधिकारकर्मी उनलाई भेट्न बर्दिया पुगे। निर्दोष मान्छे भन्दै छुटाउन पहल गरे। तर, ठाकुरद्वाराको सेनाले छोड्न मानेन। अनि हेडक्वार्टरबाटै छुटाउन पहल भयो।
महत र भट्टको रोहबरमा २०६० जेठ ५ गते पूर्णले १८ महीनाको यातनापछि मुक्ति पाए। पूर्णको शरीरमा सुकेको दिसा थियो। महत र भट्टले नै चक्कुले खुर्केर फालिदिए। लुगा फेरिदिए।
एक सातापछि पूर्ण घर गए। घरमा बितेको कहरबारे बेखबर थिए। थाहा पाएपछि झन् पीडा भयो। घरभित्र सन्नाटा छायो। उनी विछिप्त जस्तै भए।
घरपरिवारसँगकाे सामीप्यले विस्तारै पीडा बिर्सन खोज्दै थिए। तर, छोराहरूको अवस्थाले झन् पीडा दिन्थ्यो। किनकि दुवै छोरा मानसिक रूपमा स्वस्थ हुन सकिराखेका थिएनन्।
पुस २४ गते सेनाको कुटाइबाट कान्छा छोरा नारदको टाउकोमा गहिरो चोट लागेको थियो। उपचार गरे पनि मानसिक अवस्थामा ठीक थिएन।
२०६४ सालमा उनले विष सेवन गरे। त्यतिवेला उनी जम्मा १४ वर्षका थिए, बिते।
जेठो छोरा राजेन्द्रको पनि मानसिक अवस्था ठीक थिएन। तर पनि, पौडेल दम्पतीको सहारा उनै थिए।
२०७४ सालमा हो, राजेन्द्रले पनि जाजरकोटको भेरी नदीमा हामफाले। १८ दिनपछि सेनाले लास भेटायो।
अब राजेन्द्रका दुई छोरी र एक छोरा छन्। छोरालाई विद्यालयले निःशुल्क पढाइदिएको छ। दुई छोरीलाई राजेन्द्रकी श्रीमतीका माइतीले पढाइदिए।
पौडेल दम्पतीका दुई छोरीको आफन्तले बिहे गराइदिए, सुरक्षाकर्मीको बलात्कारबाट जोगाउन। एउटीको १४ र अर्कीको १५ वर्षमा। अबको सहारा तिनै बुहारी र नातिनातिना हुन्।
घर लिलाम हुने अवस्थामा
यातनाको घाउ निको पार्न पूर्ण अहिले पनि उपचार गराइरहेका छन्। “औषधिको भरमा छु। उमेर ढल्किएसँगै रोगले च्याप्दो रहेछ। खगिसरा सातैपिच्छे बिरामी हुन्छिन्,” उनले भने।
भेरी अञ्चल अस्पताल, काठमाडौंको न्यूरो अस्पताल हुँदै उनले भारतका पनि विभिन्न अस्पताल पुगेर उपचार गराइसके। दिवङ्गत वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटासँग पनि उपचार गराएका थिए उनले।
श्रीमतीको पाठेघरको शल्यक्रिया समेत गरेर तीन वर्षमा १६ लाख रुपैयाँ खर्च भयो उनको। तिर्न सक्ने अवस्थामा थिएनन्। सुर्खेत जनस्वास्थ्य कार्यालय र प्रहरी प्रशासन कार्यालयमा निवेदन दिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बलदेव भट्टले उपचारको पैसा तिर्न सिफारिश गरिदिए।
सिफारिश लगेर स्वास्थ मन्त्रालय र शान्ति मन्त्रालयमा निवेदन दिए। राज्यले पाँच लाख उपचार खर्च दियो।
यता उपचारकै लागि भनेर एनआईसी एशिया ब्याङ्कमा घर धितो राखेर १४ लाख ऋण निकालेका थिए। तिर्न नसकेर घर लिलाम हुने अवस्थामा छ।
सम्पत्ति जफत
पूर्णसँग दुईवटा जीप थियो, त्यो वेला एउटाकै ४० लाख पर्ने। जीप सुर्खेतदेखि सल्लीबजार, नेपालगञ्ज र दैलेखसम्म चल्थ्यो।
खगिसरालाई बलात्कार गर्ने जमदार रामबहादुर महतले नै जीपका चालकलाई कुटेर जीप जफत गरे। “अदालतमा मुद्दा लड्न प्रमाण चाहिपछि यातायात कार्यालय गएको थिएँ, ११ लाख तिरेपछि बल्ल प्रतिलिपि प्रमाणित गरिदिन्छु भन्छन्,” पूर्णले सुनाए।
किराना पसल चलाएको ६ वर्ष भइसकेको थियो। त्यो वेला १७ लाख खर्चेर ठूलो किराना पसल खोलेका थिए। त्यही पसलको सामान थप्न पूर्णले खगिसरालाई दिएको चेक पनि उनै महतले जफत गरे। पसलका सबै सामान लुटे।
खगिसराले खिइन्छ भनेर नलगाई राखेको सुनका गहना पनि लुटेर लगे सेनाले। पूजा गर्ने ठाउँमा राखेको सिक्का ‘माओवादीको गोली’ भन्दै झ्यालबाट फालिदिए।
पूर्णसँग भएको सात लाख नगद त पक्राउ गरेकै दिन सेनाले जफत गर्यो। “दुईवटा त जीप थिए। त्यही वेला १७ लाख हालेर खोलेको पसल थियो। लगानी थप्दै जाँदा कति पुग्यो हिसाब गरिएन। मेरो करोडौंको सम्पत्ति गुम्यो,” उनले पीडा र आक्रोश मिश्रित भावमा भने, “अझ दुई छोराको हिसाब त कसले गर्ने? तिनको मूल्य कति राख्ने? छोराहरूको मूल्य तोक्न सकिन्छ र?”
न्यायको संघर्षले झन् पीडा
२०६४ सालमा पूर्णले सम्पत्तिको मुचुल्का गरिदिन र श्रीमती लाई बलात्कार गरेको भन्दै सेनाका जमदार रामबहादुर महत विरुद्ध सुर्खेत जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए। बलात्कार जाहेरीमा कुनै सुनुवाइ भएन। सम्पत्ति जफतको सम्बन्धमा मुचुल्का त भयो, न्याय पाएनन्।
२०६६ सालमा उनले पुनरावेदन गरे। सम्पत्ति जफतको परिपूर्ति र लडाइँमा घाइते भएको भन्दै उपचार गर्ने फैसला भयो। यो पनि अझैसम्म कार्यान्वयन भएको छैन।
२०७१ सालमा उनले सर्वोच्चमा मुद्दा दायर गरे। त्यसपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले परिपूर्ति भनेर तीन लाख र घाइते भएकामा उपचार गर्न दुई लाख सिफारिश गरिदियो।
पूर्ण एक दशकभन्दा बढी समयदेखि अदालत धाइरहेका छन्। फैसला कार्यान्वयन नभएकाले २०७७ सालमा फेरि सर्वोच्चमा मुद्दा हालेका थिए उनले। तीन महीनाभित्र कार्यान्वयन हुने गरी फैसला उनकै पक्षमा त भयो, आजसम्म क्षतिपूर्ति भने पाएका छैनन्।
उपचार खर्च बापत परिवारका पाँच सदस्यले जनही पाँच लाख पाए। तर, उनको माग सम्पत्ति जफतको परिपूर्ति, दम्पतीको उपचार र परिवार नै तहसनहस बनाएको क्षतिपूर्ति हो।
उनले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै वेला पनि प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए। माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पनि निवेदन दिएका थिए। दाहाललाई व्यक्तिगत इमेल पनि पठाएका थिए। “यातनाभन्दा न्याय पाउन संघर्ष गर्दा झन् ठूलो पीडा हुने रहेछ,” उनले निराश हुँदै भने।
माओवादीका नाममा परिवारै तहसनहस भएका पूर्ण माओवादी नेतृत्वकै सरकारले पनि सहयोग नगरेकोमा दु:खेसो गर्छन्। अझ सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेकोमा पनि चित्तदुखाइ छ। उनी भन्छन्, “म १८ महीना कालकोठरीमा बसेर आएँ। मेरी श्रीमतीमाथि यौन हिंसा भयो। दुई छोराले आत्महत्या गरे। सम्पत्ति सबै लुटियो। म कसरी यसलाई दिवसका रूपमा मनाऊँ?”
असावधानीवश पर्न गएकाे पीडितकी पत्नीको नाम सखेद हटाएका छौं। स.