उपेन्द्र यादवलाई समर्थन गर्ने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ।
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा-२ मा जसपा अध्यक्ष यादव उम्मेदवार बन्ने भएका छन्। यसअघि बारा-२ मा राजेन्द्र महतोलाई उम्मेदवार बताउने तयारी गरेको लोसपाले अन्तिम चरणमा आएर यादवलाई समर्थन गर्ने निर्णय गरेको हो।
सत्तारूढ गठबन्धनमा रहेका सबै दलले यादवलाई समर्थन गरेपछि आफू पछि हटेको महतोले बताए। “स्थानीय नेता तथा कार्यकर्ताले उम्मेदवार बन्न दबाब दिएका थिए। म पनि उम्मेदवार बन्ने तयारीमा थिएँ,” महतोले भने, “तर, हामी पनि गठबन्धनमा छौं। गठबन्धनले उपेन्द्र यादवलाई समर्थन गरेपछि म पनि उम्मेदवारी नदिने निर्णयमा पुगेको हुँ।”
यसअघि लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच मोर्चा बनाएर अघि बढ्ने सहमति भएको थियो। यो क्षेत्रमा जनमत पार्टीले शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गठबन्धन र पार्टीले यादवलाई सघाउने निर्णय गरेपछि आफू त्यसलाई मान्न तयार भएको महतोको भनाइ छ। गत मंसीर ४ गते भएको निर्वाचनमा महतो गृहजिल्ला सर्लाहीबाट उम्मेदवार बनेका थिए। उनी जनता समाजवादी पार्टीका महिन्द्रराय यादवसँग पराजित भएका थिए।
लोसपाका नेता केशव झाले पार्टीको निर्णय अनुसार गठबन्धनको उम्मेदवारलाई सघाइने बताए। उम्मेदवारी दर्ताका दिन पनि यादवसँगै स्थानीय नेता तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुग्ने उनको भनाइ छ।