बजेटमा करका दर हेरफेरको आरोप लागेका नासु विरुद्ध भ्रष्टाचार मुद्दा
बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायब सुब्बा (नासु) रघुनाथ घिमिरे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार घिमिरे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्। अख्तियारले घिमिरे विरुद्धको मुद्दामा दुई करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो दाबी गरेको छ।
भन्सार विभागका पूर्व नासु घिमिरेले काठमाडौं विमानस्थल भन्सार र विभिन्न भन्सार कार्यालयमा कार्यरत रहँदा राजस्व हिनामिना गरी राजस्व छलेको अख्तियारको आरोप छ। त्यस्तै, गैरकानूनी काम गरी करोडौं सम्पत्ति कमाएको अख्तियारले दाबी गरेको छ।
अख्तियारको अनुसन्धानमा उनको आय पाँच करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ ४४ पैसा देखिएको छ। तर, उनले विभिन्न क्षेत्रमा गरेको खर्च र लगानी गरी सात करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा देखिएको अख्तियारले जनाएको छ।
वैधानिक रूपमा गरिएको आयभन्दा दुई करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बढी देखिएको अख्तियारका प्रवक्ता दाहालले बताए। स्रोत पुष्टि नभएको यो रकम बिगो दाबी गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
घिमिरेसँगै आयोगले उनकी श्रीमती शारदा घिमिरेलाई पनि विपक्षी बनाएको छ। शारदाको नाममा रहेको सम्पत्तिबाट पनि बिगो जफत गर्न अख्तियारले माग दाबी गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेको थियो। त्यसपछि प्रतिनिधि सभाले छानबिन समिति गठन गरेको थियो। संसदीय छानबिन समितिले तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिएको थियो।
त्यति वेलै घिमिरे विरुद्ध भने अख्तियारमा उजुरी परेको थियो। नासु रहँदा राजस्व हिनामिना गरी अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो। त्यति वेला परेका उजुरीमाथि अनुसन्धान गरेको अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।