उपनिर्वाचनमा यादव, भट्टराई र श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार
प्रतिनिधि सभाको उपनिर्वाचनमा उपेन्द्र यादव, गोविन्द भट्टराई र जितनारायण श्रेष्ठलाई सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाउने भएको छ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव तथा कांग्रेसबाट तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार तय भएका छन्। सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले साझा उम्मेदवारका रूपमा बारा-२ मा यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनमा भएको सहमति अनुसार साझा उम्मेदवारलाई स्वीकार गर्ने निर्णय गरेको पाण्डेको भनाइ छ। “बारा-२ मा उपेन्द्र यादवलाई गठबन्धन दलको साझा उम्मेदवारका रूपमा स्वीकार गर्ने निर्णय गरेका छौं,” कांग्रेस सहमहामन्त्री पाण्डेले भने।
गठबन्धनमा रहेका अन्य दलले तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवारलाई सघाउने भएपछि आफूहरूले पनि बारामा जसपाका उम्मेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेको भनाइ छ। “गठबन्धनले उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति गरेको छ। त्यसै अनुरूप बारा-२ मा उपेन्द्र यादव साझा उम्मेदवार भएका छन्,” पाण्डेले भने, “कांग्रेसले तनहुँ र चितवनमा तोकेका दुवै उम्मेदवार पनि गठबन्धनका साझा उम्मेदवार हुन्।” अब तीनै क्षेत्रमा गठबन्धनमा रहेका अन्य दलले उम्मेदवार नउठाउने उनको भनाइ छ।
सत्तारूढ गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन्। गठबन्धनमै रहेको जनमत पार्टीले भने छुट्टै उम्मेदवार उठाउने तयारी गरेको छ। जनमतले बारा-२ मा शिवचन्द्रप्रसाद कुसवाहालाई उम्मेदवार बनाउने भएको छ भने तनहुँ र चितवनका विषयमा निर्णय गरिसकेको छैन।
त्यस्तै, गठबन्धन सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने तीनै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेको छ। रास्वपाबाट तनहुँ-१ मा स्वर्णिम वाग्ले, चितवन-२ मा रवि लामिछाने र बारा-२ मा रमेश खरेल उम्मेदवार तय भएका छन्।
यसैगरी, नेकपा (एमाले)ले पनि दुई क्षेत्रमा उम्मेदवार तय गरिसकेको छ। एमालेबाट तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने भएका छन्। बारा-२ का विषयमा भने एमालेले निर्णय गर्न बाँकी छ।
तीनै क्षेत्रमा हुने उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। आगामी वैशाख १० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।