बारामा जसपालाई सघाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले बारा-२ मा जसपालाई सघाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए। यो क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन्।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले भने, “बारा-२ मा उपेन्द्र यादवलाई गठबन्धन दलको साझा उम्मेदवारका रूपमा स्वीकार गर्ने निर्णय गरेका छौं।”
उपनिर्वाचन हुन लागेका अन्य दुई क्षेत्रमा भने यसअघि नै कांग्रेसले उम्मेदवार तय गरिसकेको छ। तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
आज बसेको केन्द्रीय सम्पादन समितिको बैठकले बारा-२ का विषयमा पनि निर्णय गरेको हो। यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले शिवचन्द्रप्रसाद कुसवाहालाई उम्मेदवार बनाउने भएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रमेश खरेललाई उम्मेदवार बनाउने तय गरेको छ। उनी यसअघि मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-६ मा पराजित भएका थिए।
आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुन लागेको छ। त्यसका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।