रसुवागढी नाका तीन वर्षपछि सञ्चालन
कोभिड-१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरुङतर्फ पठाइएका छन्। नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट आएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्किएको थियो।
कोरोना सङ्क्रमणपश्चात् बन्द चीनसित जोडिएका अन्य सीमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए। आगाम १ मेदेखि तातोपानी नाका समेत पुनः सञ्चालनमा आउने उनले बताए।
नाका पुनःसञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरुङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए। रसुवागढी नाका पुनःसञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्री लगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरुङतर्फ पठाइएका छन्। केरुङका लागि ८८७ ट्रक पालैपालो पठाइनेछन्।
कोरोना संक्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल आज पुनः सञ्चालनमा आएको हो। नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरुङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए।