एमालेबाट सर्वेन्द्र खनाल र रामप्रसाद न्यौपाने उम्मेदवार
नेकपा (एमाले)ले तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले दुई क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको हो। सचिवालय बैठकले तनहुँ-१ मा खनाललाई र चितवन-२ मा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्। गत मंसीर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-६ बाट उम्मेदवार बनेका खनाल पराजित भएका थिए।
त्यस्तै, न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन्। उम्मेदवारका लागि जिल्ला कमिटीबाट सर्वसम्मत रूपमा उनको नाम सिफारिश भएको थियो।
बारा-२ का विषयमा भने टुङ्गो लागेको छैन। आइतबार बस्ने बैठकले बारा-२ का उम्मेदवारका विषयमा निर्णय गर्ने गुरुङले बताए।
तनहुँ-१, चितवन-२ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।
यसअघि कांग्रेसले पनि दुई क्षेत्रका लागि उम्मेदवार टुङ्गो लगाएको थियो। तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले भने तीनै क्षेत्रमा उम्मेदवार तय गरिसकेको छ। तनहुँ-१ मा स्वर्णिम वाग्ले, चितवन-२ मा रवि लामिछाने र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।