मिटरब्याज पीडितका लागि आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मिटरब्याज पीडितका समस्या समाधान गर्न न्यायिक अधिकार सहितको आयोग गठन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याज पीडितसँगको छलफलमा प्रधानमन्त्री दाहालले आयोग बनाउने बताएका हुन्। “यसमा सरकार गम्भीर छ। समस्याको दीर्घकालीन समाधानका लागि कानून निर्माणको प्रक्रिया अघि बढाइसकिएको छ भने तत्कालका लागि न्यायिक अधिकार सहितको आयोग बनाई फिल्डमै गएर पुर्जी काट्ने अवस्था सिर्जना गरिन्छ,” प्रधानमन्त्री दाहालले भने।
उनले यसलाई सामन्तवादको अवशेषका रूपमा व्याख्या गरे। प्रधानमन्त्री दाहालले भने, “यो समस्या समान्तवादको अवशेष हो। हिजो सामन्तवादका विरुद्ध एकढङ्गले लडियो, अहिले सामन्तवादका अवशेषलाई निमिट्यान्न पार्न सरकारमा रहेर दृढतापूर्वक लाग्नेछु।”
मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिबासबाट १२ दिन हिंडेर काठमाडौं पुगेका हुन्। उनीहरूले न्याय नपाएसम्म घर नफर्किने बताउँदै आएका छन्।
पीडितहरूले गृह मन्त्रालयको टोलीसँग तीन चरणमा छलफल गरिसकेका छन्। उनीहरूले अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका छन्।