कौरा जागरण
कौरा नाचका जनजीवनसँग सम्बन्धित अमूर्त पक्षहरू हराउँदै जाँदा कतिपय समूहले यसको कलात्मक पक्ष जोगाउने प्रयास गरिरहेका छन्।
जाऊँ त भने टाढाको बाटो
नजाऊँ भने मायाले बोलाको।
गत फागुन पहिलो साता काठमाडौंमा आयोजित ‘ट्राइबल हाट’ मा पोखरा, चाउथेदेखि आएको मगर संघको टोली गाउँदै थियो। भोटो, कछाड र भाङ्ग्रा लगाएका पुरुषहरू खैंजडी बजाएर गाइरहँदा लुङ्गी, रातो चोलो र पटुका लगाएका, शिरफूल, ढुङ्ग्री, कण्ठ र माडवारी जस्ता गहनामा सजिएका किशोरीहरू कौरा नाचमा मग्न थिए।
विशेष गरी गण्डकी प्रदेशका मगर समुदायमा प्रचलित लोकगीतको एक प्रकारलाई कौरा र यसै गीतमा नाचिने नृत्यलाई कौरा नाच भनिन्छ। यो नाच करीब अढाई-तीन सय वर्षअघि तनहुँको ऋषिङमा उत्पत्ति भएको मानिन्छ। देवीदेवताको प्रार्थनाबाट आरम्भ गरिने गीतमा अक्सर मायाप्रीतिका भाव पोखिन्छ। विगतमा महाभारत र रामायण जस्ता हिन्दू गाथाहरू पनि यस अन्तर्गत गाइन्थे। यो नाचका तीन चरण हुन्छन्- शुरूमा दर्शन गरेर नाच्ने, त्यसपछि घुमेर नाच्ने, छिटो छिटो नाच्दै सबैलाई नचाउने।
कौरा नाच मगर समुदायमा माघको श्रीपञ्चमीदेखि असारको पूर्णिमासम्म मेलापातमा वा रोदीघरमा नाच्ने गरिन्थ्यो। पछिल्लो समय नाच हराउँदै गएकाले संरक्षण र प्रवर्द्धनको अभियानमा लागेको समूहले बताएको छ। नेपाल मगर संघ चाउथे कदम मार्ग एकाइ समितिकी अध्यक्ष सुनमाया आले भन्छिन्, “संघ बनाएर हामीले जिल्ला र गाउँ तहका एकाइहरूमा काम गर्न थालेपछि आफ्नो कला र संस्कृति पनि जोगाउनुपर्छ भन्ने कुरा आयो। त्यसै अनुसार कौरा नाच जोगाउन जुटिरहेका छौं।” परम्परागत नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने प्रयास स्वरूप यो समूहले विभिन्न उत्सव र प्रतियोगितामा कौरा नाच प्रदर्शन गर्दै आएको छ।
ब्युँताउने सकस
समूहले संरक्षणको अभियान त थाल्यो, तर समुदायबाट हराइसकेको नाच ब्युँताउनु सजिलो थिएन। परम्परागत रूपमा युवायुवतीले रामरमाइलो गर्न कौरा नाच नाच्ने हुनाले यसमा अविवाहिताहरू मात्र सहभागी हुन्थे। तर, चाउथेका युवतीले यो नाच कहिल्यै देखेकै थिएनन्। “हामीले त दिदीहरू नाचेको हेरेर सिकेका थियौं। हाम्रा नानीहरूलाई नआउने भएकाले प्रशिक्षक नै राखेर सिकाउनुपर्यो,” समूहकी सदस्य केशकुमारी थापा भन्छिन्।
“हामीले गाउने धेरैजसो गीत मायाप्रीतिका हुन्थे। हुँदाहुँदा दोहोरीमा केटीले हारेमा केटाले उसलाई विवाह गर्ने भन्नेसम्मका शर्त हुन्थे, र कति विवाह त्यसै गरी भएको हामीले देखेका थियौं।”
शुरू शुरूमा यो समूह रेकर्ड गरिएका गीत बजाएर नाच्थ्यो। तर, प्रत्यक्ष रूपमा गीत गाएर नाच्दा राम्रो हुने सुझाव धेरैबाट आयो। त्यसपछि समूहले पुरुषहरूलाई पनि गाउने र बाजा बजाउने तालीम दियो। समितिकी अध्यक्ष आले हराइसकेको बाजा पनि खोजेर ब्युँताएको बताउँछिन्।
त्यति गरिसक्दा पनि अर्को समस्या देखियो। अधिकांश युवा काम गर्न वा पढ्न धमाधम विदेश जान थालेपछि कौरा गाउने युवा नै नहुने भए। त्यसपछि गाउँका पाका पुरुषले पनि यो नाचमा भाग लिन थाले। हाल थुप्रै कौरा समूहमा विवाहित महिलाहरू नाच्न थाले पनि यो समूहमा अविवाहित युवतीहरू मात्र नाच्ने हुँदा यसले प्रशंसा कमाएको छ। गाउने पुरुषहरू भने सबै उमेरका छन्। ५२ वर्षीय ताराबहादुर राना भन्छन्, “खासमा यो हाम्रो नाच्ने उमेर होइन, तर युवाहरू नभएकाले हामीले नगरी भएन।”
कौरा नाचको सन्दर्भ विगतको भन्दा धेरै फेरिएकाले अहिले आफूले नाच्दा कुनै फरक नपर्ने राना बताउँछन्। हुन पनि, विगतमा निश्चित अवधि र परिवेशमा मात्र यो नाच नाचिन्थ्यो। पहिले श्रीपञ्चमीदेखि असार पूर्णिमासम्म कौरा नाचिन्थ्यो। रानाको भनाइमा विगतमा कौराको विशेष सामाजिक आधार थियो। त्यो वेला समुदायमा सम्बन्ध जोड्ने प्रक्रियामा कौरा नाचको महत्त्वपूर्ण भूमिका हुन्थ्यो।
“हामीले गाउने धेरैजसो गीत मायाप्रीतिका हुन्थे। हुँदाहुँदा दोहोरीमा केटीले हारेमा केटाले उसलाई विवाह गर्ने भन्नेसम्मका शर्त हुन्थे, र कति विवाह त्यसै गरी भएको हामीले देखेका थियौं,” राना भन्छन्। आज भने त्यो सन्दर्भ नरहेको र प्रदर्शनका लागि जुनसुकै समयमा यो नाच नाचिने उनी बताउँछन्।
कौरा सम्बन्धी किंवदन्ती अनुसार, चाडपर्वको वेला मगर युवायुवती जिम्वाल वा मुखियाको घरमा भेला भएर नाचगान गर्ने चलन थियो। ती घरमा पुगेपछि उनीहरूले मगर भाषामा ‘कानरहा’ अर्थात् ‘हामी आयौं है’ भन्थे, जुन अपभ्रंश भई कौरा भएको भनाइ छ।
बदलिएका सन्दर्भ
समयको अन्तरालमा कौरा नाचमा विविध परिवर्तन आएको देखिन्छ। विगतमा कौरा नाच्ने बन्दोबस्त विशेष हुन्थ्यो। नाचगानका लागि छुट्टै ठाउँ बनाइन्थ्यो। समूहकी अर्की सदस्य राधा रानाका अनुसार, हिउँदको वेला कुनै खाली ठाउँमा स्याउलाले बारिन्थ्यो, त्यसैलाई रोदीघर भनिन्थ्यो। “त्यहाँ थुप्रै गाउँका मान्छे जम्मा हुन्थे। जाडोको परवाह नगरी हामी रोदीमा नाच्थ्यौं,” उनी भन्छिन्।
“आजभोलि पर्मको चलन हराएर पैसा दिएर खेतको काम गराइने अभ्यास छ, त्यसले कौरा नाच्ने परम्परा पनि प्रभावित बनेको छ।”
अहिले कौरा गीतको भाषा पनि बदलिएको छ। विगतमा कौरा नाच हेर्न मगर समुदाय मात्र भेला हुने भएकाले मगर भाषामै गीत गाइन्थे भने आज सबै समुदायका मानिस जम्मा हुने भएकाले धेरैजसो नेपाली भाषामा गाइन्छन्। पहिले एक गाउँबाट अर्कोमा निम्तो गरेर कौरा नाच्न जाने चलन थियो, अहिले त्यो पनि निकै घटेको बताइन्छ।
अर्कातिर, कृषि प्रणालीसँग कौराको साइनो र त्यसले बनाएको सामाजिक सम्बन्ध पनि कमजोर हुँदै गएको छ। कृषि कर्मले गाँस्ने सामाजिक सम्बन्धमा कौरा भारा-पर्म प्रथासँग जोडिएको ताराबहादुर राना बताउँछन्। “सबै गाउँले मिलेर एक-अर्काको खेतमा काम गर्थ्यौं र साँझमा भेला भएर कौरा नाच्थ्यौं,” उनी भन्छन्, “आजभोलि पर्मको चलन हराएर पैसा दिएर खेतको काम गराइने अभ्यास छ, त्यसले कौरा नाच्ने परम्परा पनि प्रभावित बनेको छ।”
नेपालका नाचगानलाई कलाका रूपमा मात्र नभई सामाजिक सन्दर्भको पृष्ठभूमिमा पनि बुझ्नुपर्ने सङ्गीत अध्येताहरूले बताउँदै आएका छन्। सन् १९९३ मा हिमाल साउथएशियनमा प्रकाशित लेखमा किशोर गुरुङ लेख्छन्, “सङ्गीत पसलमा बेच्न राखिएका सामग्री हेर्दा लोकसङ्गीत धेरैजसो गाइनेहरूले गाउने ‘चुट्के गीत’ वा ‘झ्याउरे गीत’ वा नेपाली भाषामा गाइएको ‘तामाङ सेलो’ जस्ता सङ्गीतका विधाहरूमा मात्र सीमित छ जस्तो देखिन्छ।
यो सम्बन्धले नेपाली लोकसङ्गीतलाई सांस्कृतिक रूपमा साँघुरो मात्र देखाउँदैन, लोकसङ्गीतका सामाजिक र संस्कारगत पक्ष तथा कृषि-आर्थिक प्रणालीसँगको सम्बन्ध पनि ओझेलमा पार्छ। उदाहरणका लागि गुरुङ र मगर समुदायमा पुरुष वा महिलाहरू भेटेर रोदीघरमा नाच्ने र गाउने परम्परा हो, जुन कृषि श्रम आदानप्रदान गर्ने पर्म प्रथाको एउटा अभिन्न अङ्ग हो।”
समयको गति र आधुनिक प्रविधिको विकाससँगै समाज बदलिँदै जाँदा गीत र नृत्यका सन्दर्भ, रहनसहन/रीतिरिवाजमा यिनको स्थान र सामाजिक सम्बन्ध विस्तारमा भूमिका जस्ता अमूर्त पक्ष बिस्तारै हराउँदै छन्। कौरा गीत र नाच हिजो झैं आज जीवनको अभिन्न अङ्ग रहेन। जनजीवनसँग सम्बन्धित पक्ष हराउँदै गए पनि विभिन्न समूहले उत्सव, प्रतियोगिता र प्रदर्शनमा कौराका गीत र नृत्य जस्ता कलात्मक पक्ष भने जोगाइरहेका छन्।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य अनुसन्धाता हुन्। ‘अनुश्रुति’ स्तम्भ मार्फत उनले नेपालका आदिवासी समुदायका भाषा र ती भाषासँगै जोखिममा परेका साहित्य, संस्कृति र ज्ञानबारे शृङ्खलाबद्ध चर्चा गर्नेछिन्। -स.)