चर्को ब्याज विरोधको ५० वर्षपछि मन्त्री
गाउँका साहुमहाजनको घरका जाली तमसुक जलाएर राजनीतिमा होमिएका बेदुराम भुसालले मन्त्री बन्न पाँच दशक कुर्नुपर्यो।
प्रधानमन्त्री पुष्पकमल दाहालले सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष बेदुराम भुसाल मन्त्री बनेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका भुसालले चैत १७ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए।
सरल र बौद्धिक नेताकाे पहिचान बनाएका राष्ट्रिय सभा सदस्य भुसाल पहिलो पटक मन्त्री बनेका छन्। राजनीतिक वृत्तमा भने उनी नौला मान्छे होइनन्।
भुसालले लामो समय नेकपा (एमाले)को स्कूल विभाग सम्हालेका थिए। एमाले विभाजन भएर एकीकृत समाजवादी निर्माण भएपछि उनी महासचिव बने। एमाले परित्याग गरेर आएका घनश्याम भुसाललाई यही चैत ५ मा महासचिव पद सुम्पिएर उनी उपाध्यक्ष बनेका थिए।
अर्घाखाँचीको घनचौरमा २०११ असार १५ मा जन्मिएका भुसालले प्रारम्भिक शिक्षा गाउँमै लिएका थिए। त्यसमाथि पढ्न गाउँमा विद्यालय थिएन।
२०२८ सालमा घनचौरमै जनजागृति माध्यमिक विद्यालय खुल्यो। १७ वर्षका भुसालले औपचारिक शिक्षा पुनः शुरू गरे।
राजनीति भने स्कूल जानुभन्दा अघि नै शुरू गरिसकेका थिए। २०२७ सालबाट राजनीतिक क्रियाकलापमा लागेका भुसाल २०२९ सालमा कम्युनिस्ट पार्टीको ‘सेल कमिटी’ सदस्य बनेका थिए।
त्यसको अर्को वर्ष अर्घाखाँचीमा भएको चर्चित ‘बर्रे काण्ड’ मा उनी पनि जोडिएका थिए। यो २०३० सालमा तत्कालीन सिद्धधारा गाउँ पञ्चायतका शोभाखर बेल्बासेको घरमा भएको घटना हो।
२०२५ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलनले पारित गरेको नयाँ जनवादी कार्यक्रम अनुसार लुम्बिनी अञ्चल कमिटीले ६ जिल्लामा किसान आन्दोलन चलाएको थियो। आन्दोलन चर्किंदै जाँदा साहु-सुदखोरलाई ठेगान लगाउने अभियानको स्वरूप लियो।
अर्घाखाँचीको तत्कालीन सिद्धधारा गाउँ पञ्चायतका शोभाखर बेल्बासेको घरमा कारबाही गर्ने योजना बन्यो। शोभाखरमाथि जिल्लाभरका किसानसँग चर्को ब्याजमा ऋण लगाउने, नक्कली तमसुक बनाएर शोषण गर्ने गरेको आरोप लागेको थियो।
नेकपाका तत्कालीन लुम्बिनी अञ्चल इन्चार्ज केशरमणि पोखरेलको नेतृत्वमा भएको कारबाहीमा बेदुराम भुसाल पनि महत्त्वपूर्ण सदस्य थिए। उनीसँगै पीताम्बर भुसाल, देवराज भार, बुद्धि रायमाझी, नेत्रप्रसाद ढुंगाना लगायत १५ जना सहभागी भएको स्थानीय नेता बताउँछन्।
एक घण्टाको संघर्षपछि आन्दोलनकारी समूहले २०३० फागुन ३० गते शोभाखरको घर कब्जा गरेर सबै तमसुक जलाएको थियो। किसानको शोषण, दमन र चर्को ब्याज असूली बन्द गर्ने शर्तमा उनलाई माफी दिइएको थियो। पछि त्यो घटना हर्रेबर्रे संघर्षका नामले परिचित भयो।
त्यसमा कमान्डर पोखरेल र भुसाल सहित नौ जना पक्राउ परे। भुसाललाई गुल्मीको तम्घास जेल लगिएको थियो। उनीमाथि राज्यसत्ता विरोधी आन्दोलनमा लागेको आरोप थियो। १९ वर्षको उमेरमा जेल परेका भुसाल २०४३ सालमा ३३ वर्षको उमेरमा जेलमुक्त भए।
उनले जेलमै पढाइ गरे। एसएलसी, आईए र बीए जेलमै पूरा गरे। जेलमुक्त हुँदा एमए दोस्रो वर्षमा अध्ययनरत थिए। त्यसपछि भने उनले राजनीति र पढाइलाई सँगसँगै अगाडि बढाए। २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ बारे विद्यावारिधि गरे।
२०४३ सालमा काठमाडौंमा जेलबाट छुटेपछि उनी चितवन फर्किए र भूमिगत राजनीतिमा सक्रिय भए। त्यो वेला गुल्मी-अर्घाखाँची संयुक्त कमिटी, पाल्पा-रुपन्देही कमिटी लगायतमा सक्रिय भूमिका खेले।
त्यसको चार वर्षपछि २०४७ सालमा तत्कालीन नेकपा (माले)को कपिलवस्तु जिल्ला कमिटी सचिवको जिम्मेवारी पाए। एकीकरण भएर नेकपा (एमाले) बनेपछि उनी २०५७ सालमा केन्द्रीय विभागको सचिव भए।
एमालेको नवौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बनेका भुसाल एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा स्थायी समिति सदस्य भए। २०७८ सालमा एमाले विभाजन भएपछि उनी माधव नेपालसँग एकीकृत समाजवादीमा लागेका हुन्।
उनी लेखनमा पनि सक्रिय छन्। २०६५ सालमा दर्शनशास्त्रको परिचय पुस्तक प्रकाशित भएको थियो। त्यस्तै, उनका जनताको बहुदलीय जनवादको दार्शनिक मान्यता, मार्क्सवादी दर्शन, नेपालमा प्रचलित चिन्तनहरू लगायत पुस्तक प्रकाशित छन्।
उनी थोरै मात्रै लाभको पदमा पुगेका नेतामा गनिन्छन्। उनले २०५८ सालमा मात्रै संसद् प्रवेश पाए। त्यति वेला उनी राष्ट्रिय सभा सदस्य बनेका थिए।
२०६२/६३ सालको जनआन्दोलनपछि संसद् ब्युँतियो। त्यसमा उनी अन्तरिम विधायकमा रूपमा संलग्न भए।
त्यसपछि संसद् प्रवेश गर्न उनलाई १२ वर्ष लाग्यो। २०७६ मा आएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए। लामो समयदेखि राजनीतिमा सक्रिय उनले पदका लागि कहिल्यै मरिहत्ते गरेनन्। राजनीतिमा लागेको पाँच दशकपछि अहिले आएर मन्त्री बनेका छन्।