खेलकूदले ल्याएको खुशी (तस्वीरहरू)
पोखरा रङ्गशालामा शुक्रबार छुट्टै माहोल थियो। कोही बालबालिका एकअर्काको सहारामा कुदिरहेका थिए भने कोही अभिभावकको सहारा लिइरहेका थिए।
तैपनि उनीहरू रमाइरहेका थिए। उनीहरूसँगै अभिभावक पनि खुशी देखिन्थे।
यो माहोल थियो, गण्डकी प्रदेशस्तरीय पारा खेलकूद प्रतियोगिताको। गण्डकी खेलकूद परिषद्ले आयोजना गरेको प्रतियोगितामा पाँच थरीका अपाङ्गता भएका व्यक्तिबीच प्रतिस्पर्धा भएको थियो।
शारीरिक अपाङ्गता, मनोसामाजिक, अटिज्म, बौद्धिक अपाङ्गता र बहुअपाङ्गता भएका व्यक्ति प्रतियोगितामा सहभागी थिए।
बौद्धिक अपाङ्गता तथा अटिज्म भएका बालबालिकाका लागि दौड, अटिजम भएका बालबालिका लागि सफ्टबल थ्रो, मनोसामाजिक अपाङ्गताका लागि म्युजिकल चेयर, बहुअपाङ्गता भएका व्यक्तिका लागि लागि बोसिया र शारीरिक अपाङ्गता भएका व्यक्तिका ह्वीलचेयर बास्केटबल प्रतियोगिता भएको गण्डकी खेलकूद परिषद्का सदस्य अमृत बरालले बताए।
बौद्धिक अपाङ्गता भएका बालबालिकाकी अभिभावक विश्वकुमारी आचार्य पौडेलले प्रतियोगितामा सहभागी हुँदा बालबालिका रमाउन पाएको बताइन्। उनले यस्ता खेलकूद प्रतियोगिता समय समयमा गर्न आग्रह गरिन्। प्रतियोगितामा ९९ जना सहभागी थिए।