उपनिर्वाचनका लागि चैत २० मा उम्मेदवारी दर्ता
तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले शुक्रबार सार्वजनिक गरेको कार्यक्रम अनुसार, चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। तनहुँ-१, बारा-२ र चितवन-२ मा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ।
त्यस्तै, चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी लिइने भएको छ भने चैत २२ गते उजुरीमाथि छानबिन हुने भएको छ। त्यही साँझ आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
आयोगले उम्मेदवारी फिर्ता लिन चैत २३ गतेको बिहान ९ देखि मध्याह्न १ बजेसम्मको समय दिएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने भएको छ।
तीनै क्षेत्रमा वैशाख १० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।