अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको छ।
अमेरिकाका पूर्व राष्ट्रपति विरुद्ध मुद्दा दर्ता भएको पहिलो पटक हो। वर्षौंको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनी विरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो।
फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेतर यौनसम्बन्ध लगायत दुई दर्जन मुद्दा पूर्व राष्ट्रपतिलाई लाग्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जुरीको निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ। उनी पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा थिए।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले पूर्व पोर्नस्टार स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ।
ट्रम्प विरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको खुलाएकी थिइन्।
पूर्व राष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन्। उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले गलत आरोप लगाएको जिकिर गरेका छन्।
म्यानहाटनस्थित सरकारी वकीलको कार्यालयले पूर्व राष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति ट्रम्पका वकीलसँग सम्पर्क गरिएको बताएको छ। हाल फ्लोरिडामा रहेका ट्रम्प चैत २१ मा न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।
अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ। उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उनलाई आज आत्मसमर्पण गर्न भनिएको थियो। तर, उनका वकीलहरूले केही समय माग गरेका थिए।