सुनसान कोदारी
सधैं गुलजार रहने कोदारी बजारलाई सन् २०१५ को भूकम्प, सन् २०१६ मा भोटेकोशीमा आएको बाढी र त्यसपछि आएको कोरोना महामारीले सुनसान मात्र बनाएको छैन‚ धेरैलाई विस्थापित पनि गरेको रहेछ।
फागु पूर्णिमा भएकाले फागुन २२ गते काठमाडौंका बाटामा रङ छ्यापेर रमाउनेहरूको भीडभाड थियो। रङहरूको पर्व होली हो। तर‚ रङको एलर्जी भएकाले म प्रायः होली खेल्दिनँ।
यस वर्षको होली कोदारी गएर मनाउने भन्ने भयो। मेरो यात्रा प्रायः मोटरसाइकलबाटै हुने भएकाले कोदारी यात्रा पनि मोटरसाइकलमै भयो। बिहान ९ बजे मोटरसाइकल लिएर सेतो पुलमा पुगें। त्यहाँबाट मित्र निष्नु थिङसँग बाटो लाग्यौं। भक्तपुर-धुलिखेल-पाँचखाल हुँदै करीब ११ बजेतिर दोलालघाट पुग्यौं।
सुनकोशीको किनारमा रहेको दोलालघाटमा पनि होलीको रौनक थियो। हामी भने त्यहाँ खाना खाएर गन्तव्यतिर लाग्यौं। वनदेउ चोकबाट दायाँ लागेर केही बेरमा बाटो भोटेकोशी तिरैतिर लाग्यो। बाटोमा मोटरसाइकल, जीप र माइक्रोबस, बस र कारको आवतजावत बाक्लो थियो। केही बेरमा सुकुटे पुग्यौं। र्याफ्टिङका लागि प्रख्यात सुकुटे पर्यटकीय क्षेत्रमा मानिसको घुइँचो देख्दा पर्यटनकर्मीको नाताले खुशी लाग्यो।
सुकुटेको घुइँचो छिचोल्दै बाह्रबिसे-बलेफी हुँदै चाकु पुग्यौं। चाकुमा निर्माणाधीन माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना केही बेर नियालेर भकुन्डोल हुँदै तातोपानी बजार पुग्यौं। तातोपानी पुग्दा फाट्टफुट्ट पानी पर्दै थियो। त्यहाँ नरोकिई केही माथि रहेको भ्यू पोइन्टमा पुगेर पारि चीनतिरको झरना नियाल्दै केही थान तस्वीर लियौं। त्यसपछि कोदारी बजार लाग्यौं। हामी पुग्दा कोदारी बजार सुनसान थियो।
कोदारी बजारबाट सीधै लिपिङतिर लाग्यौं। लिपिङ त कोदारी बजारभन्दा पनि सुनसान थियो। कुनै घर भत्किएको, कुनै झाडीले ढाकेका। कुनै बाङ्गिएका थिए‚ युद्धले ध्वस्त बनाएको वा वर्षौं मान्छे नबसेको जस्तो देखिन्थे। दृश्यहरूबाट अनुमान लगाउन सकिन्थ्यो भूकम्प र त्यसपछि आएको बाढीले त्यहाँका बासिन्दालाई विस्थापित गराएको भन्ने। खाली घर देखेपछि मनमा खुल्दुली लाग्यो‚ कहाँ गए होलान् यहाँका मानिस? अहिले उनीहरूको अवस्था कस्तो होला?
रोड पछ्याउँदै मितेरी पुलको गेटमा पुग्यौं। गेटमा ताला लगाइएको थियो। त्यसपछि हामी पुनः कोदारी बजार फर्कियौं। कोदारी बजारमा बाहिरबाट देखिएका राम्रो होटलमध्ये कैलाश मानसरोवरमा छिर्यौं। त्यो होटेल पनि सुनसान थियो। होटेलको संरचना र बनावट हेर्दा लाग्थ्यो, त्यहाँ कुनै वेला पाहुनाको घुइँचो हुन्थ्यो। करीब १०० सय जना अट्ने डाइनिङ हल थियो। कोठा पनि त्यस्तै ३०-३५ वटा रहेछ।
डाइनिङ हलका ढोका र झ्यालहरूमा ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूका स्टिकर टाँसिएका थिए। कैलाश पर्वतको आकर्षक फोटो पनि थियो। त्यो फोटोले हेर्दा अनुमान लगाउन सकिन्थ्यो‚ उक्त होटलमा कुनै वेला कैलाश जानेको घुइँचो लाग्थ्यो। कोदारी पहिला कैलाश जानका लागि ‘गेट वे’ थियो। होटल पुगेको केही बरेमा साहुनीसँग कुराकानी गरेपछि हामीले कोठा लियौं।
खाजा खाएपछि सिमसिम पानी परिरहे पनि गाउँ डुल्न निस्कियौं। कोदारी बजारको बायाँपट्टि रहेको चौकीडाँडा गाउँ हुँदै उकालो लाग्यौं। चौकीडाँडाबाट उक्लिने क्रममा भेट भए रामेछाप स्थायी घर भई करीब २० वर्षदेखि त्यस क्षेत्रमा बस्दै एका ७० वर्षीय ज्ञानबहादुर सुनुवार। कुराकानीका क्रममा उनले करीब १५ वर्ष खासा (चीन)मा बसेको सुनाए। शुरूमा मजदूरी गरेका उनले पछि बाख्रापालन गरेका रहेछन्। बाख्रापालनबाट घरपरिवार राम्रैसँग चलिरहेका वेला सन् २०१५ मा आएको भूकम्पले उनको जीवनको लय भत्कियो।
भूकम्पमा परी उनका १८ वर्षका छोरा बिते। त्यस घटनापछि उनी त्यहाँ बसिरहन सकेनन्। पोकोपन्तुरा बोकेर नेपालतर्फ आई चौकीडाँडा माथि गाउँमा बस्न थालेका रहेछन्। भूकम्पपछि राम्रोसँग नखुल्दै कोदारी-झाङ्मु नाका २०१६ मा आएको भोटेकोशीको बाढी पुनः बन्द भयो। कोभिड-१९ को महामारीमा खुल्ने कुरै भएन। नाका अहिलेसम्म नखुल्दा काम अभावमा जीवन चलाउनै मुश्किल भएको सुनुवारले सुनाए।
सिंढी चढ्दै जाँदा बाटोको दायाँपट्टि एक महिला भेटिइन्। नयाँ मान्छे देखेकाले होला कता आएको भनी सोधिन्। हामीले पनि उनको प्रश्नको उत्तर दियौं। केही छिन कुराकानी भएपछि हामी ती महिलाको घरतिर लाग्यौं। भण्डारी खलककी उनको कोदारीका खड्का परिवारमा विवाह भएको रहेछ। उनीसँग नाका बन्द हुनुअघि कोदारीको अवस्था कस्तो थियो भनी सोध्यौं। उनले भनिन्, “पहिला यहाँका मान्छेलाई फुर्सद थिएन। अहिले दिनभरि काम नभएर बस्नुपर्ने अवस्था छ।”
काम नभएपछि यहाँका बासिन्दाहरू विदेश जान थालेका छन्। ती महिलाको ठूलो ज्वाइँ पनि कामका लागि भारत गएका रहेछन्। “नाका चालू हुँदा ज्वाइँ कैलालीबाट काम गर्न यता आएका थिए। नाका बन्द भएपछि भारततिर गएका छन्‚” उनले थपिन्, “नाका खुलेको वेला नुन‚ तेल‚ चामल जे आवश्यक पर्यो त्यही वेला मितेरी पुलमा गएर भारी ओसार्दा केही पैसा आइहाल्थ्यो। त्यही रकम चाहिने सामान किन्न पर्याप्त थियो।”
करीब एक घण्टाको कुराकानीपछि हामी कोदारी बजार फर्कियौं। बेलुकीपख यसो एउटा भट्टीतिर छिर्यौं। त्यहाँ ६० वर्षीय वीरकाजी श्रेष्ठ भेटिए। १५-२० वर्षअघि लिस्टीदेखि आएका उनी कोदारीमा छोरीहरूसँग बस्दा रहेछन्। कुराकानीका क्रममा उनले नाका सञ्चालन रहेका वेला कोदारी बजार व्यस्त रहेको बताएका थिए। उनले सुनाए‚ “कैलाश जाने विदेशीको भीड उत्तिकै हुन्थ्यो। होटेल गर्ने, गाडी चलाउने, पसल चलाउने सबै व्यस्त थिए। उनीहरूलाई भ्याईनभ्याई हुन्थ्यो।”
वीरकाजीले कुराकानीकै क्रममा कोदारीबाट चन्दन र सुन तस्करी हुनेबारे पनि रोचक किस्सा सुनाउन भ्याए। “यो नाकाबाट पहिला राति राति चन्दन र सुन तस्करी हुन्थ्यो‚” उनले सुनाए‚ “म त सोझो भएर केही गर्न सकिनँ। गर्नेहरूले मनग्य सम्पत्ति जोडे। अहिले त नाका पनि बन्द छ।”
कोदारीको इतिहास
उहिले हिमाल वारपारको क्याराभान व्यापारिक मार्गको शुरूआती बिन्दु थियो कोदारी। काठमाडौंका नेवार व्यापारीहरूका लागि काठमाडौं-साँखु हुँदै सिन्धुपाल्चोक जाने बाटो चौतारा, नेस्ती (लिस्ती), कोदारीदेखि कुती र थप जोडिने दिगर्चा पनि वैकल्पिक बाटो थियो। कुती जाने अर्को बाटो मध्ययुगीन कालमा पनि प्रसिद्ध थियो। त्यो भक्तपुरदेखि बनेपा‚ पलाञ्चोकदेखि लामाबगरदेखि नेस्ती (लिस्ती) हुँदै भोटेकोशी र दोलखाको लामो किनारा हुँदै कोदारी र अन्त्यमा कुती हुँदै दिगर्चासम्म जान्थ्यो।
काठमाडौं र भक्तपुरका शासकहरूबीचको निरन्तरको द्वन्द्वका कारण काठमाडौंका व्यापारीले भक्तपुर‚ बनेपा‚ पलाञ्चोक बाटोबाट आवतजावत गर्न अप्ठ्यारो परेपछि उनीहरूले यात्राका लागि काठमाडौं-साँखु-चौतारा बाटो रोजे। यो बाटोमा काठमाडौं‚ चाबहिल‚ साँखु‚ लागाचो (जहरसिङपौवा)‚ मेलम्ची‚ नवलपुर‚ चौतारा‚ याङ्लाकोट‚ थागम‚ झिर्पु‚ कोदारी‚ झाङ्मु‚ कुती हुँदै ल्हासा पुग्थे। ल्हासादेखि कुती हुँदै काठमाडौं पुग्न ४५ दिन लाग्थ्यो। कुटीबाट काठमाडौं पुग्न १४-१५ दिन लाग्थ्यो। बाटो निकै चुनौतीपूर्ण थियो। ज्यानको बाजी लगाउनुपर्ने पाइला पाइला नापेर हिंड्नुपर्ने भनी फिलिप्पो दि फिलिप्पीले एन अकाउन्ट अफ तिबेत् (पृ. ३०९-३१२) मा उल्लेख गरेका छन्।
काठमाडौं-कोदारी-कुतीको मार्ग कठिन र चुनाैतीपूर्ण थियो। त्यसै वेला सन् १९२० मा ब्रिटिश इन्डिया र तिब्बतबीच व्यापारिक सम्झौताबाट नाथुला हुँदै ल्हासामार्ग खुलेपछि काठमाडौंका व्यापारी काठमाडौं-कालिम्पोङ-ल्हासा रूटबाट व्यापार गर्न थाले। ‘नाथु लासम्म रोड बनाइसकेपछि ल्हासा र ज्ञाङ्टक जोडे। त्यसपछि ल्हासा व्यापारको केन्द्र कालिम्पोङ बन्यो। यसैबीच, कोदारीको साख घट्यो। फलस्वरूप धेरै व्यापारीहरू र नेपालका व्यापारीहरू पनि कालिम्पोङमा बसोबास गरे’ (जियोग्राफिकल डाइभर्सन्, तिबेतेन ट्रेड ग्लोबल ट्रान्ज्याक्सन्, टिना ह्यारिस पृ. ९)।
सन् १९५० को दशकमा जब तिब्बतलाई चीनले आफ्नो आधिपत्यमा ल्याएपछि अन्तरदेशीय सीमानाकामा कडाइ गर्यो। लगत्तै भूराजनीतिक कारण सन् १९६२ मा भारत-चीन युद्ध भएपछि भारत भएर ल्हासा जाने नाका पूर्ण रूपमा बन्द भयो। त्यही वेला सन् १९६३-६७ सम्म कोदारी राजमार्गको निर्माण गरी चीन-नेपाल पहिलो ऐतिहासिक सडक सञ्जाल बन्न पुग्यो। त्यसपछि कोदारीले आफ्नो पुरानो साख फर्कायो। सन् १९६३-६७ को अवधिमा ११५ किलोमिटर (७१ माइल) काठमाडौं-कोदारी सडक निर्माण भएपछि कोदारी नेपाल-चीनको पहिलो सडक सञ्जाल बन्न पुग्यो। अरनिको राजमार्गको नामले परिचित यस राजमार्ग मितेरी पुलसँग जोडी नेपाल र चीनबीचको पहिलो र अहिलेसम्मकै ठूलो सीमानाका भयो। सन् १९६० को दशकमा अरनिको राजमार्ग र नेपाल-चीन मैत्री पुलको निर्माणसँगै खोलिएको यस पोस्टले चीन र नेपालबीचको ८० प्रतिशतभन्दा बढी अन्तरदेशीय व्यापार ओगटेको थियो।
अहिलेको कोदारी बजार क्षेत्रलाई पहिले चित्रे बजार भनिन्थ्यो। त्यही नजिकैको गाउँको नाम कोदारी थियो। अहिले पनि माथिल्लो कोदारी र तल्लो कोदारी भन्ने गरेको पाइन्छ। तल्लो कोदारी नजिकै लिपिङ खोला छ। लिपिङ खोलाबाट मितेरी पुलसम्म पुग्ने क्षेत्रलाई लिपिङ बजार भनिन्छ। लिपिङ खोलाको माथिल्लोपट्टि डाङ्ज्युङ र रङ्बसए (थामी गाउँ) पनि रहेका छन्।
भोटेकोशी चीनबाट बग्दै नेपालतिर आउँछ। त्यही नदीमाथि मितेरी पुल निर्माण गरिएको छ। भोटेकोशी क्षेत्रमा पहिरोको जोखिम रहेछ। तिब्बती भाषामा भोटेकोशीलाई पोछ्यु खोला भनिंदो रहेछ। भोटेकोशीपारि चिनियाँ क्षेत्रमा खासा बजार छ। त्यस ठाउँलाई नेपालीले खासा भने पनि चिनियाँले झाङ्मु र तिब्बतीले डर्म भन्दा रहेछन्।
अरनिको राजमार्ग बनेपछि कोदारीले नयाँ परिचय बनाएको थियो। कोदारी कैलाश मानसरोवर यात्राका लागि गेट वे बन्यो। कोदारी एउटा गुलजार बजार बन्यो। व्यापारी, तस्करी, जासूस, ज्यालादारी मजदूर लगायत धेरैको कर्मभूमि बन्यो कोदारी । त्यहाँ बडेमान घरहरू बने। सुविधासम्पन्न होटेलहरू बने। यहाँ यूरोप‚ अमेरिका‚ भारत लगायत मुलुकका पर्यटकहरूको घुइँचो हुन्थ्यो। तर‚ सन् २०१५ को भूकम्प, त्यस लगत्तै सन् २०१६ को भोटेकोशीको बाढीले कोदारी बजारलाई तहसनहस गर्यो। कोभिड-१९ ले त बन्द नै बनायो। जसका कारण धेरैले रोजीरोटी गुमाए। धेरै घर परिवारहरू विस्थापित भए। राज्यले ठूलो मात्रामा राजस्व गुमायो।