सामर्थ्यको सामयिक रूपान्तरण
विश्व भूराजनीति र क्षेत्रीय सामरिक स्पर्धाले ल्याउन सक्ने आन्तरिक विग्रह तथा बाह्य गतिविधिसँग जुध्न नेपाली सेनाले धेरै काम गर्न बाँकी छ।
वर्तमान नेपाली सेनाको संरचनागत जरो पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानसँग जोडिन्छ। छरिएका राज्यहरू जोडेर विशाल नेपाल राष्ट्र बनाउन अगुवाइ गरेको तत्कालीन गोरखाली फौजमै कालान्तरमा सबै भेग र क्षेत्रहरू समेटिँदै अहिलेको आधुनिक संरचना तयार भएको हो। यस अर्थमा नेपाल राष्ट्र र सेना एकअर्काका परिपूरक हुन्।
मकवानपुरमा बंगालबाट आएको गुर्गिन खाँको फौजलाई गोर्खाली फौजले परास्त गरेपछि १८१९ सालमा पहिलो पटक नेपाली सेनाका आधुनिक पाँच कम्पनी खडा भए (रक्ष राई, युद्ध सौन्दर्य चिन्तन, विसं २०७९)। तिनै कम्पनी आज विभिन्न पृतना, वाहिनी तथा एकाइमा स्तरोन्नत छन्। सैनिक संख्या करीब एक लाख पुगेको छ।
यथास्थितिमा रहेको सामर्थ्यको उच्च तहमा विकास गर्नु नै सैनिक आधुनिकीकरणको उद्देश्य हो। भनिन्छ, युद्ध रोक्ने उत्तम विकल्प भनेकै आफूलाई युद्ध जित्न सक्ने गरी समर्थ बनाउनु हो (अमेरिकी न्याशनल डिफेन्स स्ट्राटेजी, २०१८)। सबैजसो देश आन्तरिक सुरक्षासँगै बाह्य आक्रमण सामना गर्न सक्ने आधुनिक फौज चाहन्छन्।
क्षेत्रीय वातावरण
अहिले हाम्रा दुवै छिमेकी मुलुक अत्यधिक सैन्य क्षमता राख्ने भइसकेका छन्। विज्ञान प्रविधिको विकासले भविष्यमा यस्तो क्षमता अझ विस्तृत हुने अनुमान गर्न सकिन्छ। चीनको सैन्य क्षमता सन् २०४९ भित्र विशिष्ट स्तरमा पुर्याउने राष्ट्रपति सी चिनफिङले घोषणा गरेका छन्। भारत पनि प्रतिरक्षा बजेट अधिक खर्चनेमा विश्वमै तेस्रो स्थानमा छ (इन्डियन एक्सप्रेस, २६ अप्रिल)। सन् २०२३ मा भारतको प्रतिरक्षा बजेट ५ दशमलव ९४ लाख करोड छ (रोयटर्स, १ फेब्रुअरी २०२३)।
हिन्द प्रशान्त रणनीतिक लक्ष्य स्थापित गर्ने ध्येयले यस क्षेत्रमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूबीच हातहतियार आपूर्तिमा भएका दौडधुप, सामरिक गतिविधिसँगै आउन सक्ने तनावबारे हामी जानकार नै छौं। अमेरिका सकेसम्म बढी राष्ट्रहरूलाई आफ्नो भाष्यमा मनाउँदै भारत, जापान र अस्ट्रेलिया सहितको क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) तथा अस्ट्रेलिया र यूके सहितको (औकस) मार्फत स्वतन्त्र र खुला हिन्द प्रशान्त महासागरको अवधारणा मजबूत बनाउने प्रयासमा छ।
केही महीनाअघि अमेरिकाले भारतसँग सीमाक्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गरेपछि चीन अझै सशङ्क बनेको छ।
भारत दक्षिणपूर्वी सागर र हिन्द महासागर क्षेत्रमा प्रभुत्व बढाउन चाहन्छ। सन् २०२० जूनमा भारत र चीनबीच हिमालय क्षेत्र (लद्दाखको गलवान) मा भएको सीमाविवादले हिंसात्मक मोड लिएको थियो। सन् २०२२ डिसेम्बरमा अरुणाचल प्रदेशमा पुनः सीमाविवाद बढेपछि दुवै क्षेत्रमा तनाव कायमै छ।
केही महीनाअघि अमेरिकाले भारतसँग सीमाक्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गरेपछि चीन अझै सशङ्क बनेको छ। ताइवान र आफ्ना अन्तरिक मुद्दाहरूमा बढ्दो अमेरिकी चासोप्रति चीन खुशी छैन। ऊ दक्षिणी र पूर्वी चीन सागरमा आफ्नो प्रभाव कायम राखिरहन चाहन्छ।
यस्तो परिवेशमा हाम्रा लागि असैनिक संलग्नता एवं परस्पर क्रियाकलाप नै किन नहोस्, अमेरिकी हिन्द प्रशान्त कमान्ड, बिमस्टेक सैनिक अन्तरक्रिया र चीन नेतृत्वको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील छन्। यी मुद्दामा राष्ट्रिय संवेदनशीलता केन्द्रमा राखेर अडान बनाइरहन सक्नु चुनौतीपूर्ण छ।
आधुनिक चुनौती
विश्वव्यापीकरण, सामरिक प्रतिस्पर्धा र विज्ञान प्रविधिको नवीनतम विकासक्रमसँगै नेपाली सेनालाई आधुनिक चुनौतीहरू थपिँदै छन्। पहिलो हो, आधुनिक संसाधनको व्यवस्था। कुनै पनि सैनिक संगठनको औचित्य, सामर्थ्य र मनोबल संसाधन प्रेरित हुन्छ। अठारौं शताब्दीमा पर्सियाका सैनिक रणनीतिज्ञ कार्ल भों क्लाउजविजले युद्ध राजनीतिक उद्देश्यले प्रेरित हुने बताएका थिए। कमजोर सेनाबाट यस्तो उद्देश्य हासिल गर्न कठिन हुन्छ। सेनाको बल उसको आकारले मात्र होइन, लड्न सक्ने क्षमताले पनि निर्धारण गरिरहेको हुन्छ।
यस्तो क्षमता आधुनिक हातहतियारको उपलब्धता र तिनको घातकतासँग जोडिएको हुन्छ। क्लाउजविजकै मान्यता अनुसार राज्यको सामरिक लक्ष्य जनता, सेना र सरकार (नेतृत्व) को परस्पर सम्बन्धबाट हासिल हुने हो। पृथ्वीनारायणकै पालादेखि यही मान्यता अँगालेको नेपाली सेनाले परम्परागत युद्ध तथा राष्ट्रनिर्माणका विभिन्न गतिविधिबाट आफ्नो क्षमता सिद्ध गर्दै आएको छ। यद्यपि, अत्याधुनिक विश्व प्रविधि र संसाधनयुक्त सबलीकरण अझै दुर्लभ बनिरहेछ।
नेपाली सेनाले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सामरिक परिस्थितिको निरन्तर अनुगमन गर्दै यसका सम्भावित बाछिटाले आफूलाई असर गर्न नदिन अग्रसक्रियता देखाउन जरुरी छ।
दोस्रो, क्षेत्रीय सामरिक वातावरण र कूटनीतिक सन्तुलनमा रहनु। शीतयुद्धयता विकसित विश्व राजनीति, आर्थिक परिस्थिति र सैनिक कूटनीतिसँग अन्तर्राष्ट्रिय सम्बन्ध बढी गाँसिएका छन्। शक्तिराष्ट्रका सैन्य कूटनीतिमा तिनका राजनीतिक दृष्टिकोण परिलक्ष्यित हुन्छन्। विकासका द्विपक्षीय तथा बहुपक्षीय साझेदारीका कार्यक्रमले सहकार्यको बाध्यात्मक परिस्थिति सिर्जना गर्ने भएकाले हामीलाई उनीहरूबाट टाढा रहन त्यति सरल नहुन सक्छ। सहकार्यसँगै अनेक आशङ्का वा टकराव निम्तिने सम्भावना पनि नकार्न सकिन्न।
नेपाली भूभागको मध्य हिमालय क्षेत्र जुन भारत र चीनका लागि प्राकृतिक प्रतिरक्षात्मक सीमारेखा पनि हो त्यसलाई सार्वभौम स्वतन्त्र नेपालले सुरक्षित राखेको छ। विश्व भूराजनीति र क्षेत्रीय सामरिक प्रतिस्पर्धात्मक गतिविधिले हामीलाई पनि भविष्यमा परोक्ष रूपले प्रभावित बनाउन सक्छ। यस्तोमा सेनाले एक विशुद्ध गैरराजनीतिक संस्थाका हैसियतले यी सबै भूराजनीतिक अवस्था मनन गरेर विशेष रणनीतिक कौशल अपनाउनुपर्छ।
तेस्रो, सशक्त प्रतिरोधात्मक भूमिका निर्वाह। यो भन्न सजिलो तर कठिन कार्य हो। आज विश्वभर रणभूमिको स्वरूप फेरिएको छ। हाम्रा दक्षिणी र उत्तरी छिमेकीको स्थलसेना र वायुसेनाको आकार (नौसेना बाहेक) सँगै क्षमता पनि अद्भुत छ। यी शक्ति विरुद्ध कथंकदाचित् मुकाबिला गर्ने परिस्थिति आए केकस्ता न्यूनतम साधनस्रोत अपरिहार्य हुन्छन्, त्यसको यथार्थपरक योजना र व्यवस्था नहुँदासम्म सशक्त प्रतिरोधात्मक शक्ति र युद्धकलाको प्रयोग गर्न हामीलाई कठिन हुन्छ। परराष्ट्र नीतिले इङ्गित गरिदिएको कार्य, जस्तै- हाम्रो जमीन प्रयोग गरी अर्को छिमेकी मुलुक विरुद्ध गरिने कुनै पनि गतिविधि (स्थल वा आकाशबाट समेत) लाई हामीले निषेध गर्न सक्नुपर्छ।
चौथो, सामरिक क्षमता विकास र निरन्तरता। यो फौजको मनोबलले मात्र हासिल हुने विषय होइन। लडाइँको परम्परागत शैली बदलिएर बहुनियन्त्रित, सञ्जालकेन्द्रित र गैरसम्पर्कीय युद्धको विकास भइसकेकामा सेनालाई समयसापेक्ष कमान्ड कन्ट्रोल कम्युनिकेशन, सर्भिलेन्स, सूचना सङ्कलन, अटुट लजिस्टिक्स र जमीन तथा आकाशमा परिचालन हुन सक्ने गरी रूपान्तरण गर्ने काम सहज छैन। सैनिक संगठनको यस्तो आधुनिकीकरण आर्थिक रूपले पनि महत्त्वाकांक्षी हुन्छ।
पाँचौं, राजनीतीकरणबाट मुक्त हुनु। हाम्रो सेना लोकतान्त्रिक व्यवस्थामै विश्वास गर्ने संस्था हो। नागरिक सर्वोच्चता र लोकतान्त्रिक पद्धतिमा क्रियाशील हुँदा कहिलेकाहीं राष्ट्रिय सुरक्षाका केही अहम् सवालमा राजनीतिक नेतृत्व र सेनाबीच नीतिगत मतभिन्नता आउन सक्छ। संविधानले दिशानिर्देश गरेको भन्दा फरक तर्कलाई सेनाले अनुमोदन गर्न सक्दैन (सुरेश शर्मा, आईएफए जर्नल, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, २०२२)।
छैटौं, नागरिक-सैनिक सम्बन्ध प्रवर्द्धन गर्नु। सेना, नागरिक र नेतृत्वको प्रभावशाली त्रिकोणात्मक संयोजनले सेनाप्रति अगाध जनविश्वास उजागर गर्न सक्छ। विद्यमान परिस्थितिमा सेनाका गतिविधि, परिचालन क्षमता, सैनिक संख्याबारेका जनधारणा र नागरिक-सैनिक सम्बन्ध उच्चतम तहमा पुर्याउन आवश्यक छ। सेनाले आफ्नो भूमिकाको उत्कृष्ट प्रदर्शनबाट मात्र जनताको मन जित्न सक्छ। सैनिक संस्थाले सस्तो लोकप्रियता लिन खोज्न हुँदैन।
सातौं, भरपर्दो शान्ति सैनिकको व्यवस्था। दशकौंदेखि नेपाली सेना विश्वशान्तिमा उल्लेखनीय योगदान पुर्याउन सफल छ। अब अन्तर्राष्ट्रिय जगत्मा अत्याधुनिक प्रविधिसँग परिचित हुँदै आन्तरिक सञ्चालनशीलताको अभ्यासबाट क्षमता विकास गर्न सक्नुपर्छ।
यी चुनौती सामना गर्न संगठनको समयसापेक्ष रूपान्तरणको विकल्प छैन। नेपाली सेनाले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सामरिक परिस्थितिको निरन्तर अनुगमन गर्दै यसका सम्भावित बाछिटाले आफूलाई असर गर्न नदिन अग्रसक्रियता देखाउन जरुरी छ। विशेष गरी आफ्नो भूगोलभित्र हुन सक्ने विग्रह तथा अवाञ्छित बाह्य सैनिक गतिविधिसँग लड्न साधनस्रोतको समुचित व्यवस्थापनलाई प्राथमिक दायित्व बनाइनुपर्छ। सम्पूर्ण सामरिक चुनौतीको संवेदनशीलता बुझेर उत्तम उपाय निकाल्न सक्ने संगठन नै जनप्रिय हुने हो।
(शर्मा नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी हुन्। हिमालको २०७९ चैत अङ्कबाट।)
कभर स्टोरी:
* यस्तो हुनुपर्छ अबको सेना
* कस्तो सेना, कत्रो सेना?
* सेनालाई कमाउ धन्दाबाट बाहिर निकाल
* द्रुतमार्गमा अक्षम्य अलमल
* सेनाको व्यावसायिक इच्छा
* सानो र छरितो सेना
* बाटो बिराउँदै सेना
* सैन्य पुनःसंरचनाका आधार