सगरमाथा आधारशिविरमा सामान ढुवानी लफडा: चौंरी प्रयोग गर्ने कि हेलिकोप्टर?
स्थानीय सरकारले वातावरणीय र रोजगारीको मुद्दा उठाएर सगरमाथा आधार शिविर नजिकसम्म सामान लैजान हेलिकोप्टरको सट्टा चौंरी, जोक्पे र भरिया प्रयोग गर्नुपर्ने शर्त राखेको छ। यसले आरोहण सञ्चालकहरू तनावमा छन्।
पर्यटन विभागले यस वर्षको वसन्तु ऋतुमा हुने हिमाल आरोहणका लागि स्वदेशी र विदेशी आरोहीलाई अनुमति दिन शुरू गरे लगत्तै सगरमाथा क्षेत्रमा पर्यटकीय चहलपहल हुन थालेको छ। वास्तविक हिमाल आरोहण अभ्यास शुरू हुन अझै केही समय बाँकी भए पनि हिमाली वातावरणमा आफूलाई दुरुस्त राख्न केही विदेशी आरोही आधार शिविरतर्फ हिंडिसकेका छन्। आरोहणका लागि शारीरिक रूपमा तन्दुरुस्त आरोहीहरू भने नेपाल आउने क्रममा छन्।
आरोहीहरू सगरमाथा आधार शिविर पुग्नुअघि उनीहरूलाई करीब दुई महीनासम्म आवश्यक खाद्यान्न र बन्दोबस्तीका सामान काठमाडौंबाट ओसार्न थालिएको छ। सामान ओसार्न सगरमाथा आधार क्षेत्रका तल्लो बस्तीसम्म हेलिकोप्टरको ओहोरदोहोर चलिरहेको छ।
आरोहीका लागि आवश्यक टेन्ट, लत्ताकपडा‚ अक्सिजन सिलिन्डर, पकाउने भाँडाकुँडा‚ खाद्यान्न, पेयपदार्थ र पर्वतारोहणमा चाहिने सामग्री आधार शिविरसम्म ओसार्नु आरोहणका लागि शुरूआती चरणको महत्त्वपूर्ण व्यवस्थापकीय काम हो। यी सबै वस्तु आधार शिविरमा तयारी भएपछि र आरोहणका लागि शिखरसम्म बाटो तयार भइसकेपछि मात्र वास्तविक आरोहण शुरू हन्छ। सगरमाथा क्षेत्रमा अहिले शुरूआती चरणका काम भइरहेको छ।
कोरोना महामारीका कारण केही वर्ष आरोहण प्रभावित भएकाहरू नेपाल आउने क्रममा रहेकाले यस पटक आरोहीको उत्साहजनक सहभागिता रहने आकलन छ। सबैभन्दा धेरै आरोही आउनेमध्येको चीनले पनि यस वर्षदेखि आफ्ना नागरिकलाई विदेश यात्राका लागि अनुमति दिएकाले यसअघि रोकिएका चिनियाँ आरोही ठूलो संख्यामा नेपाल आउने आकलन आरोहण सरोकारवालाहरूले गरेका छन्। चीनले तिब्बततर्फबाट व्यावसायिक आरोहण खुला नगरेकाले पनि यस वर्ष नेपालमा सगरमाथामा आरोहीको संख्यामा गत वर्षभन्दा बढी रहने प्रक्षेपण पर्यटन विभाग र आरोहीहरूको साझा संस्था पर्वतारोहण सञ्चालक संघले गरेको छ।
संघले गरेको प्रारम्भिक आकलन अनुसार‚ सगरमाथा आरोहीको संख्या मात्रै कम्तीमा ४०० भन्दा बढी हुनेछ। गत वर्ष ३२५ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै अनुमति सन् २०२१ मा ४२३ जनाले लिएका थिए। तर‚ कोरोना महामारीका कारण आधाभन्दा धेरैले आरोहण रद्द गरी घर फर्किएका थिए।
सगरमाथा आरोहण भएको ७० वर्ष पुगेको अवसरमा यस वर्ष सन् २०२१ को भन्दा धेरै आरोही आउने आशा पर्यटन विभागको छ। ल्होत्से र नुप्से हिमाल आरोहणमा आउने पर्वतारोहीले पनि सगरमाथा आधार शिविर नै प्रयोग गर्ने भएकाले आरोही र सहयोगी शेर्पाहरूको संख्या जोड्दा सगरमाथा आधार शिविरमा रहने आरोहीको संख्या कम्तीमा २५ सय पुग्ने आरोहण सञ्चालक संघले जनाएको छ। उनीहरूका लागि आवश्यक सामान आधार शिविरमा पर्याउन कठिन छ।
आरोहीको उत्साहजनक सहभागिताको सङ्केत देखिएको वेला स्थानीय खुम्बु पासाङल्हामु गाउँपालिकाले वातावरणीय र स्थानीय रोजगारीको मुद्दा उठाएर आधार शिविर नजिकसम्म सामान लैजान हेलिकोप्टरको प्रयोग गर्न नहुने शर्त राखेको छ। हेलिकोप्टर सट्टा चौंरी, जोक्पे र भरिया प्रयोग गर्नुपर्ने शर्त राखेपछि आरोहण सञ्चालकहरू तनावमा छन्। स्थानीय सरकारको यो शर्तले सिजनको मुखमा आरोहण नै प्रभावित हुने हो कि भन्ने चिन्ता उनीहरूमा थपिएको छ।
गाउँपालिकाले यसअघि चार हजार ४०० मिटर उचाइको दिङबोचे र नजिकैको फेरिचेसम्म हेलिकोप्टरबाट खाद्यान्न र आरोहण सामग्री ओसार्न दिंदै आएको थियो। तर‚ यस वर्षदेखि तीन हजार ८०० मिटर उचाइको स्याङबोचेसम्म मात्रै हेलिकोप्टरबाट सामान ओसार्न पाइने नियम ल्याएको आरोहण सञ्चालकहरू बताउँछन्। त्यहाँभन्दा माथि सामान ओसार्न भरिया, याक वा जोक्पेको प्रयोग गर्नुपर्ने गाउँपालिकाको अडान छ।
भरियालाई स्याङबोचेबाट दिङबोचे सामान बोकेर जान दुई दिन लाग्छ। भरिया, जोक्पे र याक पर्याप्त नभएकाले समान आधार शिविरसम्म लिन नै समस्या भइरहेको आरोहण सञ्चालकहरूको गुनासो छ। सधैंभरि काम नपाइने भएकाले खुम्बु क्षेत्रमा पहिलेको तुलनामा भरिया कम छन्। पढाइ, रोजगारी र कामको खोजीमा स्थानीय युवाहरू शहर पसेका छन्। आर्थिक रूपमा सक्षमहरू होटल, ट्रेकिङ र पर्वतारोहण व्यवसायमा छन्। अर्कोतर्फ‚ पशुपालन पेशाप्रति आकर्षण नभएका कारण चौंरी र जोक्पे पनि अपर्याप्त भएको आरोहण व्यवस्थापकको भनाइ छ।
आरोहणको सिजन आउनै लाग्दा स्थानीय सरकारको शर्तले आफूहरू अफ्ठ्यारोमा परेको पर्वतारोहण सञ्चालकहरू बताउँछन्। आधार शिविरमा सामान पुग्न ढिला हुँदा त्यहाँको हावापानीमा दुरुस्त राख्न पर्याप्त समय नहुने भन्दै सेभेन समिट ट्रेकबाट ल्होत्से हिमाल आरोहणको अनुमति लिएका केही विदेशी आरोहीले योजना परिवर्तन गरेर मकालु हिमाल आरोहणमा जान तयार देखिएको संघले जनाएको छ। यसले अन्य आरोहीलाई पनि दोधारमा पारेको संघको भनाइ छ।
स्थानीयवासी र गाउँपालिकाले भने आरोहण व्यवस्थापकले शक्ति र पैसाको आडमा सगरमाथा आरोहणलाई व्यापारीकरण गरेर स्थानीयको रोजगारी खोसेको बताउँदै आएका छन्। प्रशासकलाई प्रभावमा पारेर उद्धारको नाममा दोस्रो शिविरबाट धेरै रकम तिर्ने आरोही ओसार्न थालिएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको प्रयोग धेरै बढेको छ। हेलिकोप्टरबाट सीधै आधार शिविरमा सामान ओसार्न थालेपछि फोहोर पनि बढेको स्थानीयको भनाइ छ।
सामान्य रूपले हेर्दा चौंरी गोठ भएका स्थानीय र हेलिकोप्टर सञ्चालकको स्वार्थमा गाउँपालिकाले रोजगारीको नाममा राजनीति गरेको जस्तो देखिए पनि समयमै यो समस्या समाधान नभए पर्वतारोहण नै प्रभावित हुन सक्ने डर आरोहण सञ्चालकको छ। स्थानीय सरकार र आरोहणको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको पर्यटन विभागले समयमै समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ।
“मेरो सात हजार किलो सामान स्याङबोचेमा थन्किएर बसेको छ। सात हजार थाक्सिङेमा थन्किएको छ। हेलिकोप्टर प्रयोग गर्न नदिने भनेपछि दिनभर आधार शिविरमा काम गर्ने शेर्पा साँझ परेपछि गोरक्षेपमा आएर बस्ने गरेका छन्,” एटके एक्सपेडिशनका सञ्चालक लाक्पा शेर्पाले भने, “यो मेरो मात्र समस्या होइन‚ सबैले यही अवस्था भोगिरहेका छन्।”
यस वर्ष धेरै आरोहीले बुकिङ गरेपछि सोही अनुसार आधा बाटोसम्म हेकिोप्टरमा सामान ढुवानी गरेको भए पनि आधार शिविर पुर्याउन नपाएको लाक्पाले गुनासो गरे। उनको कम्पनीबाट यस वर्ष सगरमाथा आरोहणका लागि ५५ जना र ल्होत्से हिमाल आरोहणका लागि १५ जनाले आरोहण अनुमतिका लागि बुकिङ गरेका छन्। त्यसको व्यवस्थापनका लागि ८० जना शेर्पा माउन्टेन गाइड र सहयोगी सगरमाथा आधार शिविर पुगिसकेका छन् भने ८० जना आधार शिविरको बाटोमा छन्। उनीहरूका लागि आवश्यक सामान भने बाटोमा थन्किएको छ।
“बाटो बनाउन हिंडेको आइसफलको टोली पनि दोस्रो शिविर पुग्न सकेको छैन। हामीलाई पनि सामान ढुवानीमा यस्तै अवरोध भए फेरि सगरमाथामा ट्राफिक जाम भएर नेपालको बेइज्जत हुने खतरा देखिरहेको छु,” लाक्पाले भने‚ “उसै त विदेशी मिडियाले नकारात्मक प्रचार गरिरहेका छन्।”
समयमा सामान पुर्याउन नपाए आधार शिविरमा टेन्ट बनाउने र शिखरसम्म डोरी टाँगेर बाटो बनाउने काममा ढिलाइ हुनसक्ने भएकाले आरोहण व्यवस्थापकहरू चिन्तित छन्। समयमा बाटो बनाउन नसकिए एक-दुई साताको छोटो समयमा सबै आरोही शिखर आरोहणमा निस्कने भएकाले ट्राफिक जामको समस्या आइलाग्छ। आधार शिविर हुँदै जोखिमयुक्त खुम्बु आइसफल भएर दोस्रो शिविरसम्म पुग्ने बाटो बनाउने जिम्मा सगरमाथा पोलुशन कमिटीको हुन्छ। दोस्रो शिविरदेखि शिखरसम्म बाटो बनाउन पर्वतारोहण सञ्चालक संघले हरेक वर्ष टेन्डर मार्फत आरोहण गराउने संस्थाहरूबाट गराउँदै आएको छ। समयमा बाटो भएन भने मौसम खुलेको छोटो समयमा सबै आरोही हिमाल आरोहणमा निस्कने भएकाले आरोहीले बाटोमा ट्राफिक जामको समस्या झेल्नुपर्छ।
सन् २०१९ मा आरोही शिखरतर्फ जाँदा कम्तीमा ११ जनाले ज्यान गुमाएका थिए। तीमध्ये धेरैको मृत्यु घण्टौंको ट्राफिक जामसँग जोडिएका थियो। त्यति वेला आरोहणलाई सुरक्षित बनाउन नसकेको भनेर अन्तर्राष्ट्रिय मिडियामा नेपालको आलोचना भएको थियो।
संवैधानिक रूपमा छुट्टै अधिकार पाएको स्थानीय सरकारले स्थानीयको रोजगारीको समस्यालाई दृष्टिगत गरी समान ओसार्न हेलिकप्टरको प्रयोगमा बन्देज लगाउनुपर्ने माग जोडतोडले उठाएपछि आरोहण सञ्चालक संघको टोलीले पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेललाई भेटेर तत्काल समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको थियो। लिखित मागपत्र बोकेर गएका उनीहरूले गाउँपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत हेलिकोप्टरको सुविधाको सुनिश्चितता सहित सबै ढुवानीको विकल्प खुला गरिदिन भनेका थिए।
सञ्चालक संघको अनुरोधपछि विभागले बिहीबार नै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई छुट्टाछुट्टै पत्र लेखेर समस्या समाधानका लागि सहजीकरण गरिदिन पत्रचार गरेको छ। “स्थानीयहरूले उठाएको रोजगारीको माग ठिकै भए पनि आरोहणको सम्मुखमा यो विषय उठेकाले केही तनाव देखिएको छ,” पर्यटन विभागका अधिकृत विज्ञान कोइरालाले भने, “अहिले हामीले गाउँपालिका र स्थानीय प्रशासनलाई तत्काल सामाधान निकाल्न भनेका छौं। समस्या लम्ब्याइरहन हुँदैन।”