विराटनगरले ६० वर्षपछि जित्यो विराट गोल्डकप
घरेलु टोली विराटनगर सिटी फूटबल क्लबले ६० वर्षपछि विराट गोल्डकपको उपाधि जितेको छ।
विराटनगरको शहीद रङ्गशालामा बिहीबार राति भएको खेलमा विराटनगरले भारतको केरलास्थित लुका सकर क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
प्रतियोगिता जितेसँगै विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएको छ। उपविजेता लुका सकरले १० लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ।
योसँगै गोल्डकपको ६१ वर्षे इतिहासमा आयोजक टीमले दोस्रो पटक प्रतियोगिता जितेको हो। २०१८ सालबाट शुरू भएको महेन्द्र गोल्डकपको नाम नेपालमा गणतन्त्र आएपछि परिवर्तन भएर विराट गोल्डकप राखिएको थियो। २०१९ सालमा आयोजक मोरङ ११ ले गोल्डकपको उपाधि जितेको थियो।
खेलको सातौं मिनेटमा विराटनगरका विमल घर्ती मगरले दिएको पासमा अफिज ओलावाले पहिलो गोल गरे। पहिलो खेलमा एक गोलको अग्रता लिएको विराटनगरले दोस्रो हाफमा तीन गोल थपेको हो।
खेलको ७०औं मिनेटमा सुजुकीको पासमा विमलले गोल गरे। त्यस्तै, ८९औं मिनेटमा विराटनगरका मेसुकेले तेस्रो गोल गरे। इन्जुरी समयमा विराटनगरका अभिषेक गुरुङले अर्को गोल थपे।
विराटनगरका मेसुकेले यसअघि २०औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार पोलबाट बाहिरिएको थियो। त्यस्तै, ७०औं मिनेटमा विराटनगरका स्टेफनले पाएको फ्रिकिक केरलाका रक्षक सानफिरले रोकेका थिए। खेलको शुरूआतदेखि नै विराटनगरले केरलालाई दबाबमा राखेको थियो।
क्वार्टरफाइनलमा नेपाल प्रहरीलाई पराजित गरेर सेमिफाइनल पुगेको विराटनगरले सेमिफाइनलमा जावलाखेललाई २-१ गोल अन्तरले पराजित गरेको थियो। यस्तै क्वार्टरफाइनलमा सङ्कटा क्लबलाई सडन डेथमा पराजित गरेको लुका सकरले सेमिफाइनलमा टाइब्रेकरमा सशस्त्र प्रहरीलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो।
विराट गोल्डकप ट्रस्टले प्रतियोगिता सञ्चालनका लागि स्थानीय व्यक्तिलाई हरेक वर्ष जिम्मेवारी दिने गरेको छ। यस वर्ष खेल सञ्चालन गर्ने जिम्मेवारी लिएका विराटनगरका मेयर नागेश कोइलालाले एन्फाले विराट गोल्डकपसँग छलकपट गरेको गुनासो गरे।
उनले पत्रकार सम्मेलन गरेरै एन्फाले विराट गोल्डकप सञ्चालनको अवधिमा त्रिदेशीय फूटबल गराएर राष्ट्रिय खेलाडी आउन नसकेकाले दर्शकको कम चासो भएको बताए। विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले अर्को वर्षदेखि तीन महीनाअघि नै खेलतालिका सार्वजनिक गरेर अन्य प्रतियोगितासँग नजुधाउने बताए।
एन्फाका सहायक महासचिव वसन्त अर्यालले भने अस्ट्रेलियामा हुंदै गरेको लिगमा नेपाली राष्ट्रिय खेलाडी सहभागी भए पनि हाल नेपालमा खेल्दै गरेका खेलाडी उनीहरूभन्दा कम नभएको बताए।
क्वार्टरफाइनल र सेमिफाइनलमा दर्शकको न्यून उपस्थित रहेको भए पनि फाइनलमा भने विराटनगरको शहीद रङ्गशाला भरिभराउ थियो। आठ हजार दर्शक क्षमता भएको रङ्गशालाको प्याराफिटमा बस्ने ठाउँ नपाएर दर्शकले उभिनुपरेको थियो।