हाम्रा पूर्वजको ठेगाना
आनुवंशिक अध्ययनले भिन्न स्वरूप भएका मानिसका पूर्वज पहिले कहाँ थिए र कहिले अलग भए भन्ने खुट्याउँदै समुदायविशेषको उद्विकास थलो पत्ता लगाउँछ।
होमो सेपियन्स अर्थात् आधुनिक मानिसको उद्विकास अफ्रिकाबाट भएको हो। अफ्रिकाबाट दुई लाख वर्षअघि मानिसको केही झुन्ड यूरोप र एशिया पसे। अफ्रिकामा छँदा मानिसहरूको स्वरूप खासै फरक थिएन भन्ने अनुमान गर्न सकिन्छ, किनभने अहिले त्यहाँका मानिस करीब उस्तै स्वरूपका छन्। तर, त्यहींबाट विभिन्न ठाउँमा पुगेकाहरूको रूपरङ भिन्न भिन्न छ।
अफ्रिकामा प्रायः ठूलो ओठ भएका र कालो वर्णका मानिस छन्। यूरोप र मध्यएशियामा बस्नेको नाक चुच्चो तथा प्रायकोे ओठ पातलो छ। मध्य तथा दक्षिण अमेरिकामा एशियाली मूलका मानिस छन्। उता अमेरिकामा १५औं शताब्दीयता यूरोपबाट गएका मानिसको बाहुल्य छ। उत्तरपूर्वी भारत, नेपाल र उत्तरतर्फ तिब्बत, चीन, मंगोलिया तथा दक्षिणपूर्वी एशियामा यूरोपेलीको तुलनामा अलि होचो कद, नाक कम चुच्चो भएका मानिस छन्। अस्ट्रेलियामा दक्षिणपूर्वी एशियाबाट ५० हजार वर्षअघि पुगेका कालो वर्णका केही सहित यूरोपेली मूलका मानिस छन्।
एकै स्वरूपमा रहेका मानिस विभिन्न ठाउँमा छरिएपछि समयको अन्तरालमा शारीरिक नापनक्शामा फरकपन आउनुको कारण जीनमा हुने परिवर्तन हो। अचेल जीवको स्वरूपमा परिवर्तन मुख्यतया अनुकूलन र उत्परिवर्तनको विज्ञानसँग जोडिन्छ। वैज्ञानिक मान्यता अनुसार, कुनै प्रजाति हजारौं वर्ष एउटै वातावरणमा रह्यो भने त्यसमा केही बदलाव देखिन्छ। अर्थात्, जीवले वातावरण अनुसार अनुकूलन हुने क्रममा जीनमा उत्परिवर्तन हुन्छ।
यसले गर्दा स्वरूपमा पनि थोरै बदलाव आउँछ। तिनीहरू फेरि अर्को भूगोल र फरक वातावरणमा पुगेर हजारौं वर्ष बिताउँदा पुनः जीनमा परिवर्तन भई स्वरूपमा केही फेरबदल हुन्छ। यस्तो क्रम निरन्तर चल्छ। भिन्न स्वरूप भएका मानिसका पूर्वज पहिले कहाँ थिए र कहिले अलग भए भन्ने डीएनए अध्ययनबाट पत्ता लगाइन्छ।
माइटोकोन्ड्रियल डीएनए
जीवन निर्वाह र राम्रो अवसरका लागि मानिसको बसाइँसराइ प्रागैतिहासिक कालदेखि आजसम्म जारी छ। कतिपय निरन्तर बसाइँ सरिरहेका छन्, केही चाहिं पुरानै थातथलोमा बसेका छन्। मानव र मानव जीवाश्मको आनुवंशिक (डीएनए) अध्ययनबाट प्रागैतिहासिक कालको बसाइँसराइबारे पत्ता लगाइन्छ। यसबारे चर्चा गर्नुअघि मानव कोषको आन्तरिक संरचनाबारे चर्चा गरौं।
मानव कोष अण्डाकार हुन्छ। कोषको केन्द्रीय भागलाई न्यूक्लियस र यसको वरिपरिको पदार्थलाई जीवरस (साइटोप्लाज्म) भनिन्छ। न्यूक्लियसभित्र क्रोमोजोम हुन्छन्। क्रोमोजोम डिओक्सिराइबोन्यूक्लिक एसिड (डीएनए) बाट बनेको हुन्छ। डीएनएको सानो हिस्सालाई जीन भनिन्छ। ती जीन आमाको डिम्ब र बुबाको शुक्राणुमा भएका क्रोमोजोमबाट सन्तानमा आउँछन्।
जीवरसमा विभिन्न किसिमका सूक्ष्म पदार्थ हुन्छन्, जसलाई अर्गानेल्स भनिन्छ। तीमध्ये एकलाई माइटोकोन्ड्रिया भनिन्छ। जीवरसमा भएका अर्गानेल्समध्ये माइटोकोन्ड्रियामा मात्र डीएनए हुन्छ, जसलाई माइटोकोन्ड्रियल डीएनए भनिन्छ।
माइटोकोन्ड्रियल डीएनए अध्ययनबाट व्यक्तिको मातृवंश पत्ता लगाइन्छ। किनकि मानिसमा हुने माइटोकोन्ड्रियल डीएनए आमाको डिम्बबाट आउँछ। पुरुषको जीवरसबाट शुक्राणुको पुच्छर बन्छ भने न्यूक्लियसबाट टाउको। गर्भाधान प्रक्रियामा डिम्बमा पुरुषको शुक्राणुको टाउको मात्र प्रवेश हुन्छ, पुच्छर बाहिरै रहन्छ। यसकारण, मानिसको कोषमा भएको माइटोकोन्ड्रियल डीएनए आमातर्फबाट मात्र आएको हो।
बुबाको माइटोकोन्ड्रियल डीएनए सन्तानमा सर्दैन। जीवाश्म पाइएको तथा विभिन्न भूभागमा बस्ने मानिसको माइटोकोन्ड्रियल डीएनए अध्ययनबाट तिनीहरूमा कति सामीप्य छ भन्ने थाहा हुन्छ। यसबाट आमा, हजुरआमा, हजुरआमाकी पनि हजुरआमा हुँदै हजारौं पुस्ता अगाडिकी ‘सुपर हजुरआमा’ कहाँकी थिइन् भन्ने पत्ता लाग्छ।
वाई-क्रोमोजोम
कोषको न्यूक्लियसभित्र रहेको क्रोमोजोममा रहने डीएनए विभिन्न किसिमका प्रोटिनबाट ढाकिएका हुन्छन्। क्रोमोजोममा मुख्य गरी डीएनए, प्रोटिन र राइबोन्यूक्लिक एसिड (आरएनए) हुन्छन्। कोषभित्र डीएनएले कोषका गतिविधिलाई कोड वा सङ्केत प्रदान गर्छ र आरएनएले ती कोडलाई विभिन्न प्रोटिनमा रूपान्तरण गराउँछ। ती प्रोटिन कोषका विभिन्न कार्यमा प्रयोग हुन्छन्। हाम्रो जीवन कोषभित्रका डीएनए र आरएनएकै गतिविधिमा निर्भर हुन्छ।
मानव कोषमा ४६ वटा अर्थात् २३ जोडा क्रोमोजोम हुन्छन्। २२ जोडालाई अटोजोम र एक जोडालाई सेक्स-क्रोमोजोम भनिन्छ। सेक्स-क्रोमोजोमले मूलतः बच्चाको लिङ्ग निर्धारणको काम गर्छ भने अटोजोमले लिङ्ग निर्धारण गर्ने बाहेकका अन्य सम्पूर्ण काममा भूमिका खेल्छ। सेक्स-क्रोमोजोमलाई एक्स र वाई नाम दिइएको छ।
यूरोप र एशिया प्रवेश हुनुअघि मानिसहरू अफ्रिकाको विभिन्न भूभागमा झुन्ड झुन्डमा बसेका थिए।
एक्स-क्रोमोजोममा ९०० देखि १,४०० र वाई-क्रोमोजोममा ७० देखि २०० वटा जीन हुन्छन्। पुरुषको सेक्स-क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ, महिलाकोमा एक्स र एक्स हुन्छ। डिम्बाशयमा डिम्ब बन्दा महिलाको कोषमा २२ जोडा अटोजोम र एक जोडा एक्स-क्रोमोजोम हुन्छन्।
यौन संसर्ग हुँदा पुरुषको १०औं हजार संख्यामा शुक्राणु योनिमा प्रवेश हुन्छन्। प्रत्येक शुक्राणुमा २२ वटा अटोजोम र एउटा एक्स वा वाई सेक्स-क्रोमोजोम हुन्छन्। हजारौं शुक्राणुमध्ये सामान्यतया एउटा शुक्राणुले मात्र डिम्बाशयमा प्रवेश पाउँछ। शुक्राणु र डिम्बको मिलनपछि दुई वटा कोष संयोजनबाट गर्भाधान प्रक्रियाको पहिलो कोष बन्छ। यसमा ४४ वटा अटोजोम र दुई सेक्स-क्रोमोजोम एकै ठाउँ जम्मा हुन्छन्।
पुरुषको एक्स सेक्स-क्रोमोजोम भएको शुक्राणु महिलाको डिम्बसँग संयोजन हुँदा बनेको पहिलो भ्रूण कोषमा ४४ वटा अटोजोम र दुई वटा एक्स सेक्स-क्रोमोजोम भएको नयाँ कोष बन्छ। माथि भनियो, महिलाको कोषमा २२ जोडा अटोजोम र एक जोडा एक्स सेक्स-क्रोमोजोम हुन्छन्। अतः यसैबाट लगातार कोष विभाजन भएर गर्भमा छोरी बन्छ।
यस्तै, वाई-क्रोमोजोम भएको शुक्राणु र डिम्ब मिल्दा पहिलो भ्रूण कोषमा २२ जोडा अटोजोम तथा एउटा एक्स र अर्को वाई-सेक्स क्रोमोजोम एकीकृत हुन्छन्। त्यसबाट कोष विभाजन भएर छोरा बन्छ। गर्भाधान प्रक्रियापछि सामान्यतया ६ सातापछि भ्रूणमा लिङ्ग छुट्टिन्छ। यसबाट स्पष्ट हुन्छ, पुरुषको कोषको न्यूक्लियसभित्र हुने वाई-क्रोमोजोम बुबाबाट आएको हो। अतः पुरुषको वाई-क्रोमोजोम अध्ययनबाट पितृवंश पत्ता लाग्छ।
ह्याप्लोग्रूप
पछिल्लो समय मानवशास्त्र र विशेष गरी आनुवंशिक वंशावली अध्ययनमा ‘ह्याप्लोग्रूप’ शब्द निकै प्रयोग गरिन्छ। यसले प्रागैतिहासिक कालमा एउटै आमा वा बुबाबाट फैलिएका वंशजलाई जनाउँछ। आनुवंशिक अध्ययनमा एकै प्रकृतिको डीएनए संरचना भएका जीवलाई ह्याप्लोटाइप र उही प्रकृतिको ह्याप्लोटाइपको समूहलाई ह्याप्लोग्रूप भनिन्छ। माइटोकोन्ड्रिया भएको डीएनए अन्तर्गत उस्तै जीन समूहका आधारमा एउटै हजुरआमाबाट फैलिएको माइटोकोन्ड्रियल ह्याप्लोग्रूप छुट्याइन्छ।
महादेश र द्वीपहरूलाई समुद्रले घेर्दै लगेको त करीब १२ हजार वर्षअघि अन्तिम हिमयुग अन्त्य भएपछि हो। हिमयुग अन्त्य हुनुअघि भारतदेखि श्रीलंकामा मानिस सजिलै हिंडडुल गर्थे।
अफ्रिकी माइटोकोन्ड्रियल ह्याप्लोग्रूप एक लाख ४५ हजार वर्ष पुरानो पत्ता लागेको छ। माइटोकोन्ड्रियल डीएनए नाइट्रोजन बेस, सुगर र फोस्फेटबाट बनेको हुन्छ। यी रसायनको आपसमा बसाइ स्थानका आधारमा वाई-क्रोमोजोम सम्बन्धी ह्याप्लोग्रूप निर्धारण गरिन्छ।
यूरोप र एशिया प्रवेश हुनुअघि मानिसहरू अफ्रिकाको विभिन्न भूभागमा झुन्ड झुन्डमा बसेका थिए। ती झुन्ड फरक फरक ह्याप्लोग्रूपका हुन्थे। अफ्रिकाबाट बाहिरिँदा कुनै समूह यूरेशियाको उच्च घाँसे मैदानमा पुग्यो, कुनै एशिया, यूरोप र अफ्रिका जोडिएको भूभागतिरै बस्यो, कुनै दक्षिणएशियामा आइपुग्यो। यहाँबाट दक्षिणपूर्वी एशिया र अस्ट्रेलिया पुग्यो। त्यस बखत समुद्र अहिले जति फैलिएको थिएन, गहिराइ पनि धेरै थिएन।
महादेश र द्वीपहरूलाई समुद्रले घेर्दै लगेको त करीब १२ हजार वर्षअघि अन्तिम हिमयुग अन्त्य भएपछि हो। हिमयुग अन्त्य हुनुअघि भारतदेखि श्रीलंकामा मानिस सजिलै हिंडडुल गर्थे। मलेशियाबाट सिंगापुर, इन्डोनेशिया, पपुवा न्यूगिनी, अस्ट्रेलिया र तास्मानियामा आउजाउ गर्थे। साइबेरियाको पूर्वी भेगबाट उत्तर अमेरिकाको अलास्का हिंडेरै पुग्थे। त्यति वेला समुद्र थिएन।
मानिस भिन्न भिन्न ठाउँमा पुगेर त्यहाँको वातावरणसँग अनुकूलन हुने क्रममा कोषभित्र जीनको बनावटमा समेत थोरै परिवर्तन भयो। त्यस क्रममा एउटा ह्याप्लोग्रूपबाट उप-ह्याप्लोग्रूपहरू जन्मिए, त्यसबाट सहायक उप-ह्याप्लोग्रूपहरू उद्विकास भए। दक्षिणएशियामा मानिस करीब ८० हजार वर्षअघि आइपुगेका थिए।
तिनीहरू दक्षिणएशिया आउने सबैभन्दा प्राचीन ह्याप्लोग्रूपका हुन्। इरान र इरानदेखि उत्तरबाट खेतीपाती गर्ने मानिसको झुन्ड करीब आठ-नौ हजार वर्षअघि दक्षिण भारत आएका थिए। वैदिक आर्यहरू यूरेशियाको उच्च भूभागबाट करीब चार-पाँच हजार वर्षअघि दक्षिणएशियातर्फ बढ्न थालेका थिए।
अफगानिस्तान, पाकिस्तान र भारतमा विशेष गरी सिन्धु नदी आसपासमा सिन्धुघाटी सभ्यता विकास भएको थियो। त्यो सभ्यता करीब चार हजार वर्षअघि विलय भयो। विलय हुनुको कारण अझै खोजीकै विषय छ। यस सम्बन्धमा विभिन्न परिकल्पना अघि सारिएका छन्। सिन्धुघाटी सभ्यतामा यूरेशियाबाट आएका वैदिक आर्यको जीन पाइएन। सिन्धुघाटी सभ्यतासँगै जोडिएको राखीगढी (हाल भारतको हरियाणामा पर्ने) मा ४५ सय वर्ष पुरानो जीवाश्ममा पनि वैदिक आर्यको जीन देखिएन।
नेपालमा मूलतः मंगोलियन भनेर चिनिने समूहको मुख्य जीन करीब ३० हजार वर्षअघि उद्विकास भएको मानिन्छ।
भारतमा वैदिक आर्य सम्बन्धित ह्याप्लोग्रूपको आगमन अगावै राखीगढी, धोलाविरा आदि ठाउँमा नगरस्तरको सभ्यता विकास भएको थियो। त्यहाँ द्रविडियन मूलका बासिन्दा थिए। हिजोआज मध्य तथा दक्षिण भारत र श्रीलंकामा छन् द्रविडियन। भारतीय इतिहासमा भारतवर्षको विकास वैदिक आर्यहरूबाट भएको हो भन्ने कथन स्थापित छ। भारतको सबैभन्दा पुरानो सांस्कृतिक समुदाय वैदिक आर्य हुन् भन्ने मान्यता थियो। सन् २०१८ मा राखीगढीको जीवाश्ममा पाइएको डीएनए नतीजाले त्यसलाई उल्टाइदिएको छ।
नेपालका उराँव (झाँगड) द्रविडियनसँग सम्बन्धित ह्याप्लोग्रूपका हुन्। यहाँका जातजातिमा सबैभन्दा बढी जनसंख्या हुने प्रमुख चारमा क्षेत्री, बाहुन, मगर र थारू हुन्। धेरैजसो बाहुन वैदिक आर्य हुन्। थारूलाई नेपालको सबैभन्दा पुरानो समुदाय मानिन्छ। तर, यो सत्य नहुन पनि सक्छ। किनभने दाङ-देउखुरी उपत्यकामा ५०-६० हजार वर्षअघि नै मानव चहलपहल रहेको जर्मन पुराविद् गुड्रुन कर्भिनसले गरेको प्रागैतिहासिक अध्ययनले देखाएको छ।
नेपालमा सबैभन्दा पुरानो मानव उपस्थिति त्यही हो। सन् १९८० मा बुटवलस्थित तिनाउ खोलाको किनारमा एक करोड १० लाख वर्ष पुरानो रामापिथेकस (नरवानर) को दाँतको अवशेष भेटिनुले नेपालको तराई क्षेत्र प्राग्-मानवको बसोबास क्षेत्र रहेको प्रमाण दियो। रामापिथेकस वा शिवालिक पिथेकस अपुच्छ बाँदर ओराङ्ओटान र गिब्बनका पूर्वज हुन्।
डीएनए अध्ययन अनुसार, थारू समुदाय नेपालमा दुईतिरबाट आएका थिए। उनीहरू दक्षिणपूर्वी एशियाबाट आएर पूर्वी नेपालमा तथा भारततिरबाट आएर मध्य र पश्चिम भेगमा बसे। थारूलाई एकै जनजाति मानिए पनि उनीहरूमा फरक जीन छन्। उनीहरू फरक ह्याप्लोग्रूपका हुन्। धिमाल कुनै समय लिम्बू संस्कृतिसँग नजिकिए। त्यसबाट उनीहरू लिम्बूका नातेदार जस्ता देखिए पनि यी दुई फरक ह्याप्लोग्रूपका हुन्।
नेपालमा मूलतः मंगोलियन भनेर चिनिने समूहको मुख्य जीन करीब ३० हजार वर्षअघि उद्विकास भएको मानिन्छ। त्यसपछि यिनीहरूका जीनमा कैयौं पटक परिवर्तन भयो। यसैले मंगोल मूलका बासिन्दा भनेर चिनिने भोटे, शेर्पा, राई, लिम्बू, तामाङ, गुरुङ, मगर आदिको स्वरूप केही फरक छ। तिनीहरू भिन्न भिन्न ह्याप्लोग्रूपका हुन्। उत्तरी भेगबाट नेपाल आएका लिम्बू ‘हाङ’ संस्कृति लिएर आए। त्यो त्यस वेलाको उत्तरतर्फको संस्कृति हो। पूर्वबाट आएका लिम्बू ‘शुभा’ प्रचलन लिएर आए।
ती दुवै करीब १० हजार वर्षअघि ल्हासा पूर्व चीनको सिचुवान प्रान्ततिर थिए। लिम्बूको ह्याप्लोग्रूप ओ-एम १३४ हो। यो समूहका मानिस सिचुवानबाट कोरिया र जापानतर्फ तथा मध्यएशियाली देशहरूमा पनि गए। मध्यएशियाको कजाखस्तानमा यो ह्याप्लोग्रूपका मानिस सबैभन्दा बढी छन्। कजाखस्तानका केही महिलाको अनुहार लिम्बूसँग काटीकुटी मिल्छ। त्यहाँ आर्य मूलका बासिन्दा पनि छन्।
हिजोआज संसारभर आफ्नो ह्याप्लोग्रूप थाहा पाउने लहर चलेको छ। तपाईंका पूर्वज कतातिरबाट आए, तपाईंलाई आफ्नो ह्याप्लोग्रूप थाहा छ?
आधुनिक मानवको उद्विकास
सन् २००७ मा अफ्रिकी देश केन्याको नाकालीमा एक करोड वर्ष पुरानो झन्डै मानव स्वरूपको जीवाश्म फेला परेको थियो। जापानी पुरातत्त्वविद् तथा मानवशास्त्री युटाका कुनिमट्सु र अरूहरूले पुच्छर नभएको बाँदर जस्तो त्यो जीवाश्मको वैज्ञानिक नाम ‘नाक्लिपिथेकस नाकायामै’ राखे। यसलाई वैज्ञानिकहरूले मानिसको पूर्वज मानेका छन्।
त्यसैबाट कालान्तरमा गोरिल्ला, चिम्पान्जी र मानिस उद्विकास भएको मानिन्छ। गोरिल्ला र चिम्पान्जी क्रमशः ७० लाख र ५० लाख वर्षअघि उद्विकास भएका हुन्। जीवहरूमध्ये मानिसको डीएनए सबैभन्दा बढी मिल्ने तिनै दुई हुन्। त्यसमा पनि चिम्पान्जीको डीएनए मानिससँग करीब ९८ प्रतिशत मिल्छ।
नाक्लिपिथेकस नाकायामैबाट छुट्टिएको अर्को एक हाँगोबाट एकैचोटि मानिसको उद्विकास भएको होइन। नाक्लिपिथेकस नाकायामैबाट मानिसतर्फको हाँगोबाट पहिले ओस्ट्रालोपिथेकस जाति उद्विकास भयो। उक्त जातिको जीव ५० लाखदेखि २१ लाख वर्षअघिसम्म अफ्रिकामा अस्तित्वमा थियो। त्यो जाति अस्तित्वमा रहेकै वेला करीब २५ लाख वर्षअघि होमो जातिको उद्विकास भयो।
होमो जातिको करीब एक दर्जन प्रजाति उद्विकास भएर लोप भए। लोप भएकैमध्ये कुनैबाट होमो सेपियन्स अर्थात् आधुनिक मानवको उद्विकास भयो। लोप भएका पूर्व मानव प्रजाति होमो नियन्डरथल र होमो डोनिसोवान्सको जीन होमो सेपियन्समा थोरै मात्रामा पाइन्छ।
(वनस्पतिविद् मादेन जैविक विविधता र जीवविज्ञानमा लेख्न रुचाउँछन्। हिमालको २०७९ चैत अङ्कबाट।)