घूस लिएको आरोपमा प्रशासकीय अधिकृत सहित तीन जना पक्राउ
घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी सहित तीन जनालाई पक्राउ गरेको छ।
नदीजन्य पदार्थ उत्खननका लागि घूस मागेको उजुरीका आधारमा चैत १६ गते शुद्धोधन गाउँपालिकाको चमेनागृहबाट उनलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकृत रामकृष्ण अधिकारीले बताए। प्रमुख प्रशासकीय अधिकृत मरासिनीसँगै वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई पक्राउ गरिएको छ।
उनीहरूबाट घूस लिएको ५० हजार रुपैयाँ पनि नियन्त्रणमा लिइएको सूचना अधिकृत अधिकारीले बताए।
प्रमुख प्रशासकीय अधिकृत मरासिनी नदीजन्य पदार्थको ठेक्कामा यसअघि पनि विवादमा आएका थिए। पक्राउ परेका यादव शुद्धोधन गाउँपालिका-७ का वडाध्यक्ष हुन्।
घूस लेनदेनबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।