चार नेतालाई मेसेज पठाएर स्वर्णिम वाग्लेले गरे कांग्रेस छोडेको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बन्न प्रस्ताव गरेपछि अर्थशास्त्री स्वर्णिम वाग्लेले चार जना नेतालाई मेसेज पठाएर नेपाली कांग्रेस छोडेको घोषणा गरेका छन्।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार हुन रास्वपाले वाग्लेलाई प्रस्ताव गरेको थियो। केही दिन सोचविचार गर्छु भनेर कुनै जवाफ नदिएका वाग्लेले बिहीबार कांग्रेसका चार जना नेतालाई मेसेज गरेर पार्टी छोडेको घोषणा गरेका हुन्।
उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू डा. शेखर कोइराला र गोविन्द पोखरेललाई मेसेज गरेका हुन्। मेसेजमा भनेका छन्, “हजुरहरूको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ।”
अर्थशास्त्री वाग्लेले यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र नेत्री आरजु राणालाई आरोप लगाएका छन्। उनले मेसेजमा भनेका छन्, “देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।”
अब अर्को पार्टीमा संलग्न हुने पनि उनले बताएका छन्। “अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें,” वाग्लेले भनेका छन्।
गत मंसीर ४ गते भएको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ। आजै बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।