एपीएफले जित्यो मेयर कप
कप्तान सीता राना मगर र इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरेपछि सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर कपको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ललितपुर मेयर कप महिला टी-२० प्रतियोगितामा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो। एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ६ विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ३५, ललिता राजवंशीले २१ र अप्सरा बेगमले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
एपीएफका लागि बिनु बुढाले दुई, नरी थापा, सोनु खड्का र रेखा रावलले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफका सीता राना मगरले ७९, इन्दु बर्माले ५१ र ज्योति पाण्डेले दुई रन बनाए। मगर र बर्माले दोस्रो विकेटका लागि १३६ रनको कीर्तिमानी साझेदारी गरे।
कप्तान मगरले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन्। त्यस्तै, बर्माले ४१ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन्।
कोशीका लागि अलिशा खड्काले एक विकेट लिइन्। अन्य बलर महँगा सावित भए।