कांग्रेसले चितवनमा जितनारायण श्रेष्ठ र तनहुँमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवनमा जितनारायण श्रेष्ठ र तनहुँमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले उम्मेदवार चयन गरेको हो। आगामी वैशाख १० गते चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदै छ।
चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। श्रेष्ठ कांग्रेस चितवनका पूर्व सभापति हुन्।
त्यस्तै, तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको महतले जानकारी दिए। भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन्।
बारा-२ का विषयमा भने कुनै निर्णय नभएको प्रवक्ता महतले बताए। “बारा-२ का विषयमा चैत १९ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुन्छ,” महतले भने।
गत मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँ-१ बाट कांग्रेसका रामचन्द्र पौडेल, बारा-२ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए। पौडेल राष्ट्रपतिमा र यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै क्षेत्र रिक्त छन्।
त्यस्तै, चितवनबाट निर्वाचित लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गर्दै सांसद पद खारेज गरेको थियो। त्यसैले तीनै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ।