घर फर्कन थाले बाढीपीडित, बन्दोबस्ती सामग्रीको पिरलो
लगातारको वर्षाले आएको बाढीका कारण विस्थापित भएकाहरू विस्तारैै घर फर्किन थालेका छन् ।
विगत दुई दिनदेखि वर्षा हुन छाडेको र बाढीको पानी घटेपछि विराटनगर महानगरपालिकाका बाढीपीडितमध्ये अधिकांश आफ्नो घर फर्कन थालेका हुन्।
बाढीका कारण विराटनगर महानगरपालिकाको १९ वटा वडा आंशिकरुपमा डुबानमा परेको थियो भने वडा नं १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ सबैभन्दा धेरै डुबानमा परेको थियो ।
विराटनगर सीमा भएर बग्ने केशलिया र सिङ्घिया नदी तथा वर्षाको पानीको उचित निकास नहुँदा ती बस्तीमा पानी पसेपछि डुबानमा परेको थियो ।
बाढीले नगर क्षेत्रका पाँच हजारभन्दा बढी प्रभावित भएका थिए । पानी जमेका कारण विस्थापित बनेका केही पानी घटेपछि घर फर्के पनि खोलाको भङ्गालो पसेर घर भत्काइदिएका धेरै सर्वसाधारण अझै पनि नजिकका विद्यालयमा आश्रित छन् ।
बाढीबाट विस्थापित विराटनगर– १२ का ६० परिवार घर फर्किसकेका छन् भने २५ परिवार घर फर्कन अझै बाँकी रहेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए ।
बाढीबाट विस्थापित भएकालाई स्थानीय श्री बखरी आधारभूत विद्यालयमा आश्रित लिएका छन् । उनीहरूलाई त्यही खानपानको व्यवस्था मिलाइएको छ ।
विगत दुई दिनदेखि मौसममा आएको सुधारले केही दिनभित्र सबैपीडित परिवार आफ्नो घर फर्कने महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगर वडा नं १, २, ४, ७, ८, १२, १५, १९ कटहरी गाउँपालिकाको वडा नं १, २ र ४ मा पीडितलाई २०० थान त्रिपाल वितरण गरेको कार्यालयका प्रमुख कुमारप्रसाद निरौलाले बताए ।