रेडियो किन्नरी कृष्णा
कृष्णा मामुली रेडियोकर्मी थिइनन्। रेडियोमा बोल्दा प्रत्येक शब्दको सम्मान उत्तिकै गर्थिन्।
तत्कालीन रोयल नेपाल एअरलाइन्समा काम गर्थिन् कृष्णा ताम्राकार। एक दिन गोरखापत्रमा रेडियो नेपालको हिन्दी सेवाका लागि समाचारवाचक मागिएको विज्ञापनमा उनका आँखा परे। ७५ जना आवेदकमध्ये कृष्णा सहित रामकृष्ण गौतम र श्यामा झा छानिए।
कृष्णाको रेडियोमोह कति भने २०१८ जेठ २४ गते एअरलाइन्सभन्दा ५० रुपियाँ कम पाउने रेडियो नेपालको जागिर रोजिन्। त्यहाँ उनको मासिक वेतन जम्मा १२५ रुपियाँ थियो।
त्यति वेला रेडियो नेपालमा रोजाना हिन्दी समाचारका दुई वटा बुलेटिन आउँथे। २०२१ सालमा भारतसँगको खटपटका कारण राजा महेन्द्रले हिन्दी सेवा नै बन्द गरिदिएपछि उनी नेपाली सेवामा सरुवा भइन्। त्यतिखेर निर्मला जोशी, गौरी केसी, विना राणा आदि नेपाली भाषाका समाचारवाचक महिला थिए।
त्यो यात्रा तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले ३० वर्षे सेवा-हद लगाएपछि २०४९ कात्तिक २२ सम्म जारी रह्यो। रेडियो नेपाल छाडे पनि उनको आवाजको यात्रा ६ दशकसम्म रोकिएन। हरेक रेडियो कार्यक्रम वा ‘मास्टर अफ सेरोमनी’ पछि कृष्णाको सुरिलो आवाजले ‘बेस्ट कप्लिमेन्ट’ पाइरहन्थ्यो- ‘भेरी बोल्ड एन्ड क्लियर भ्वाइस,’ ‘गड गिफ्टेड भ्वाइस,’ र ‘गोल्डेन भ्वाइस।’
यी स्वरकिन्नरी कृष्णा ताम्राकारलाई अब हामीले ‘लाइभ’ सुन्न पाउने छैनौं। निमोनियाबाट पीडित कृष्णाले चैत ९ मा संसारबाट बिदा लिइन्।
कृष्णा मामुली रेडियोकर्मी थिइनन्। रेडियोमा बोल्दा प्रत्येक शब्दको सम्मान उत्तिकै गर्थिन्।
समाचारवाचन वा कार्यक्रम सञ्चालनमा उनको शैलीमा बिछट्टै ‘ग्ल्यामर’ थियो। त्यसैकारण स्रोता उनको स्वरको जादुमा लुटपुटिन्थे। ‘न्यूज सेन्स’ मात्र नभएर हरेक वाक्यको आरोह-अवरोह, द्रुत-सुस्त, तत्सम र तत्भव शब्द, तालव्य ‘श’, दन्त्य ‘स’ र मूर्धन्य ‘ष’, लेख्य-चिह्नको ख्याल गरेर व्याकरणसम्मत बोल्ने कृष्णा जस्तो रेडियोकर्मी शायदै भेटिएलान्।
“मान्छेको जस्तै शब्दको पनि इज्जत हुन्छ, म हरेक शब्दको सम्मान गर्छु,” उनी भनिरहन्थिन्, “अहिले त ह्रस्वलाई दीर्घ उच्चारण गर्छन्, दीर्घलाई ह्रस्व। उद्योगलाई उधोग, विम्बल्डनलाई बिम्बल्डन भन्छन्। गर्व र गर्भको अर्थ थाहा छैन। शुद्धाशुद्धि नै थाहा नभएकाले पढेका समाचार म सुन्दिनँ।”
नयाँ पुस्ताका रेडियोकर्मीप्रति उनको त्यही दुःखेसो हुन्थ्यो। ‘भ्वाइस अफ जर्मनी’ मा ‘फिर से’ को हिन्दी उच्चारण नमिल्दा तीन दिनसम्म आफूलाई स्टुडियो छिर्न नदिएको प्रसङ्ग पनि उनी सुनाइरहन्थिन्।
साँच्चै भन्ने हो भने कृष्णाले जन्मथलो बनेपा (काभ्रे)मा नेपाली भाषा बोल्नै पाइनन्। १२ वर्षको उमेरमा तुलसीमेहर श्रेष्ठले भारतको गान्धी आश्रम लगे। भद्रकुमारी घले, भुवनेश्वरी थपलिया, शिलु सिंह, नानीहिरा कंसाकार, रामवदन जोशी र उनी सँगै गएका थिए।
बरोदामा हिन्दी र मराठी भाषा सिकिन्। पाँच वर्षका लागि भारत गए पनि उनका व्यापारी पिताले तीन वर्षमै फर्काए। नेपाली भाषापछि मात्र सिकेकाले ‘कस्तो इन्डियनले जस्तो बोलेको’ भन्ने गरेको उनी सुनाउँथिन्।
त्यतिवेलै मर्फी ब्रान्डको रेडियोमा अल इन्डिया रेडियो सुन्ने बानी पारेकी कृष्णाका रोलमोडल थिए- माल्भेल डिमालो, विनोद कश्यप, इन्दु बाई आदि प्रख्यात रेडियोकर्मी। स्वदेश फर्केपछि कृष्णाले काठमाडौं, न्ह्योखाको कन्या मन्दिर स्कूलबाट २०१२ सालमा एसएलसी गरिन्। नेशनल कलेजमा बीए पढ्दा अर्जुननरसिंह केसी, विश्वकान्त मैनाली, श्रीमान् श्रेष्ठ, दुर्लभलाल सिंह सहपाठी थिए।
बीबीसी मुख्यालयमा १३ महीने र भ्वाइस अफ जर्मनीमा १८ महीने तालीमप्राप्त कृष्णाले जर्मनीबाटै रेडियो जर्नालिज्ममा डिप्लोमा गरेकी थिइन्। त्यसो त दुर्गानाथ शर्मा र उनले नेदरल्यान्ड्स गएर टेलिभिजन तालीम नलिएका होइनन्। तर, उनले टेलिभिजन कार्यक्रम कहिल्यै चलाइनन्।
रेडियो नेपालमा गएर नै आफूले समयको मूल्य थाहा पाएको कृष्णा बताउँथिन्। दिउँसो साढे २ बजे उनको समाचारवाचन शुरू हुन्थ्यो। ‘समाचार समाप्त भयो’ भन्दा सेकेन्ड सुई ठ्याक्कै १२ मा पुगेको हुन्थ्यो। उनले १० मिनेटभन्दा एक सेकेन्ड पनि बढी समाचार पढिनन्। समयमै समाचार सक्ने काइदा उनलाई बीबीसीका मिस्टर रोमले सिकाएका रहेछन्।
कृष्णा रेडियो नेपालमा राजपत्र अनङ्कित कर्मचारी थिइन्। लोकसेवा आयोगको परीक्षा दिएर राजपत्राङ्कित भएपछि उनको कहिल्यै बढुवा भएन। “मलाई चाकडी र चाप्लुसी आउँदैनथ्यो। डाइरेक्टरको कोठामा ६ महीनामा एकपटक पनि पस्दिनथें,” उनी भन्थिन्, “आफ्नो काम गर्यो, फर्कियो। त्यसैले म त्यहीँ अड्किएँ।”
उसो त राजपत्राङ्कित भएपछि भन्सार, परराष्ट्र, कर कार्यालयमा सरुवा जान मिल्थ्यो। तर, उनले न रेडियो छाड्न चाहिन्, न त रेडियोले उनलाई छोडाउन चाह्यो। एकपटक मत्स्य विभागको सिनियर एकाउन्टेन्टमा बढुवा गरिएछ। उनलाई बडा आपत् पर्यो। रेडियोमा समाचार पढिरहेको मान्छेले अब खातापाता कसरी मिलाउने? ‘बरु जागिर छाड्छु’ भन्दा रेडियोका डाइरेक्टर भोग्यप्रसाद शाह आत्तिँदै प्रधानमन्त्री सूर्यबहादुर थापाकहाँ धाएर थमौती गराए।
लन्डनमा भेट्दा राजा वीरेन्द्रबाट प्रशंसा पाएकी कृष्णा रेडियो नेपाल परिसरमा राजाको तक्मा नपाउने एक्ली पात्र हुन्थिन्। राजाको तक्मा नपाए पनि उनले जनताको तक्मा पाइरहिन्। उनी कोठामा सम्मानपत्र राख्ने ठाउँ नभएको बताउँथिन्।
रेडियो नेपालमा नियमित समाचारवाचनका अतिरिक्त ‘हाम्रो देशको माटो,’ ‘हाम्रो वन’, ‘वन हाम्रो जीवन’, ‘नासो,’ ‘पर्यटन’ आदि थुप्रै कार्यक्रम चलाइन्। ‘वातावरण’ कार्यक्रम चलाए बापत सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ‘ग्लोबल ५०० रोल अफ अनर अवार्ड’ समेत पाएकी थिइन्।
रेडियो-जीवनमा कृष्णाले के-के गरिनन्! सडकमा ‘हाजिरीजवाफ कार्यक्रम’ चलाइन्। उनकै ‘रसरङ्ग’ कार्यक्रमका उत्पादन मानिन्छन्, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शकुन्तला गुरुङ, राजपाल हाडा, सिद्धान्तराम जोशी आदि कलाकार।
रेडियोको ओजस्वी आवाजले नै ‘सेलिब्रिटी’ बनायो कृष्णालाई। कतिपयका लागि रेडियो नेपाल र कृष्णा ताम्राकार एउटै थिए। रेडियो भन्नु कृष्णा ताम्राकार, कृष्णा ताम्राकार भन्नु रेडियो नेपाल। उनको लोकप्रियता कस्तो भने हरेक साता बोराका बोरा चिठी आउँथे। दार्जीलिङबाट भेट्न आएका एक स्रोताले ‘तपाईं नै हो कृष्णा ताम्राकार’ भनेर तीन पटक सोधेछन्। उनको स्वर र अनुहार नमिलेर उपहार ल्याएको चकलेट समेत फिर्ता लगेछन्।
राजा महेन्द्रको दाहसंस्कारका वेला रेडियो नेपालका निर्देशक रामराज पौडेलसँग आर्यघाट जाँदा आफ्नो परिचय दिएपछि त्यत्रो ठेलमठेलमा पनि बाटो पाएको कृष्णा सुनाउँथिन्। त्यही लोकप्रियताकै कारण रेडियो नेपाल बाहेकका कार्यक्रम पनि थिए उनको हातमा। उनले निर्देशक भोग्यप्रसाद शाहलाई समेत काम दिने ‘हैसियत’ बनाएकी थिइन्।
सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) भेटैपिच्छे उनको तारीफ गरिहाल्थे- ‘कस्तो सरस्वतीको जस्तो आवाज!’ जेलमा बस्दा किसुनजीलाई उनको समाचार नसुनी चित्तै बुझ्दैनथ्यो। एक दिन उनको समाचार सुन्न नपाउँदा बिरामी भइन् कि व्रत बसिन् भन्ने पिरलो हुन्थ्यो। मंगलबार कृष्णाको साप्ताहिक छुट्टी रहेछ।
रेडियोकर्मीका रूपमा कृष्णाले थुप्रै अन्तर्वार्ता गरिन्। योगी नरहरिनाथ, सूर्यबहादुर थापादेखि मरिचमानसिंह श्रेष्ठसम्म। सर एडमन्ड हिलरीसँग उनले दुई-तीन पटक अन्तर्वार्ता लिइछन्।
तीन छोरीकी आमा कृष्णा मैले अन्तिम पठक भेट्दा शिवपुरीको काखमा अवस्थित शानदार भिल्लामा थिइन्। उनकी कान्छीपुत्री गृष्मा पनि समाचारवाचक हुन्।
अब्बल रेडियोकर्मी कृष्णाको शोख भनेकै समाचार श्रवण नै रह्यो। उनी रोजाना डच-ए-वेले, बीबीसी, अल जजिरा, सीएनएन आदिका कम्तीमा पाँच वटा बुलेटिन सुन्थिन्।
रेडियो सुनेर हुर्केको मेरो पुस्ताका लागि कृष्णा आदरणीय थिइन्। किशोरकालमा मेरा निम्ति रेडियो नै असली साथी थियो। रेडियोमा बोल्ने मानिस बाहेक अरू सेलिब्रिटी थिएनन्। बिहान बेलुकी उनकै कार्यक्रम सुनिन्थ्यो। कतिपय कार्यक्रममा पत्र पनि पठाउँथेँ।
बिदाको दिन गोठालो जाँदा उनले पढेको समाचार सुनिन्थ्यो। उनको मुहुनी आवाजसँग पहिलो पटक साक्षात्कार गर्न पाउँदा पुलकित भएको थिएँ। रेडियोको सुनौलो संसारमा सोचे जस्तै पाएँ उनलाई।
रेडियो नेपालका अर्का समाचारवाचक माइकल (हरिश) चन्दलाई कृष्णाले अंग्रेजीमा समाचार वाचन गर्ने रहर सुनाएकी रहिछन्। उनी कार्यक्रमको स्क्रिप्ट समेत आफैं लेख्थिन्। समाचारवाचनलाई उनी पहाडको टुप्पामा पुगी एकछिन विश्राम गरेर फेरि तल ओर्लने कला मान्थिन्।
रेडियोमा बोलेर कहिल्यै धीत मरेन कृष्णालाई। जीवनका अन्तिम अवस्थामा समेत उनी इमेज एफएममा शनिबार बिहान साढे ७ देखि पौने ८ बजेसम्म स्वयंसेवी सञ्चालक भएर उत्तिकै जोश, जाँगर र फूर्तिका साथ ‘आँखादान’ कार्यक्रम लाइभ चलाउँथिन्।
२०७३ सालमा उनलाई क्यान्सर देखियो। हाफ साइकलमा ११ पटक किमो चढाउँदा समेत स्टुडियो धाउन छाडिनन्। उनको इच्छाशक्तिसामु क्यान्सरको केही जोर चलेन।
आफ्नो जमानाकी ‘मोस्ट एक्सपेन्सिभ एनाउन्सर थिइन्’ कृष्णा। उनले एउटा कार्यक्रम चलाएको २५ हजार रुपियाँसम्म लिइन्। केही वर्षअघि अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा उनको चखिलो आवाज सुनेर तत्काल कसैले अफर गरेछ, ‘हाम्रो एउटा कार्यक्रम चलाइदिनूस्, कति पैसा लिने?’
उनले ठाडै भनिदिइन् रे, ‘भयो, मलाई पुग्यो। म दुई लाख दिए पनि काम गर्दिनँ।’
यही चैत ९ मा भने कृष्णाले सबैलाई भनिन्, ‘भयो, जिन्दगी पुग्यो।’ ८६ वर्षे जीवनको बिट मारिन्, स्मृतिलोकको पात्र भइन्।