प्रदेश १ मा बाढीपहिरोले २७ को ज्यान लियो, ९ जना बेपत्ता
बाढी र पहिरोमा परी प्रदेश १ मा एक सातामा २६ जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता भएका छन् ।
गत २५ असारदेखि ३१ असारसम्मको अवधिमा मृत्यु हुने सबै भन्दा बढी भोजपुरमा छन् । भोजपुरमा ५, मोरङ, ओखलढुङ्गा र उदयपुरमा ४, ४ झापा र खोटाङमा ३, ३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै सुनसरी, इलाम, पाँचथर र संखुवासभामा १, १ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालका अनुसार बाढीमा मोरङ र इलाममा ३, ३ तथा झापा र सुनसरीमा १, १ जना बेपत्ता छन् ।
यस अवधिमा बाढी र पहिरोबाट २० जना घाइते भएका छन् । सुरक्षा निकायले ५ हजार ७०२ जनाको उद्धार गरेको छ भने बाढी र डुबानका कारण ६ हजार ३२० जना विस्थापित भएका छन् । वर्षा रोकिएकाले विस्थापितहरू घर फर्कने क्रम जारी रहेको छ ।
बाढी र पहिरोमा प्रदेश १ मा २ सय १६ घर र १२ वटा सरकारी कार्यालय पूर्ण क्षति भएको एसएसपी दाहालले बताए । पहाडी जिल्लामा खनिएको बाटोका कारण पहिरो गएर घरहरूमा क्षति पुगेको उनको भनाइ छ ।
यस्तै तराईका जिल्लामा खोला किनारका घर र बाढीमा लापरबाही गर्दा बढी मानिसको ज्यान गएको उनले बताए ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बुधबार बिहानैदेखि मोरङका विभिन्न ठाउँमा पुगेर बाढी तथा डुबानका पीडितहरूलाई राहत वितरण गर्दैछन् ।
त्रिपाल, झुल, म्याट्रेस र टर्चलाइट वितरण गर्दै हिंडेका मन्त्री पण्डितले विपद आउनुअघि नै सतर्कता अपनाइनु पर्ने बताए ।