एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ।
एशियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा नेपालमा हुने प्रतियोगिताका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ।
प्रारम्भिक टोलीका सदस्यमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा छन्।
त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमलसिंह ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल छन्।
प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न १० राष्ट्रले सहभागिता जनाउनेछन्।
समूह ‘ए’ मा आयोजक नेपाल सहित साउदी अरब, मलेशिया, कतार र ओमन छन् भने समूह ‘बी’ मा कुवेत, बहराइन, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कपका लागि छनोट हुनेछ। त्यसैगरी शीर्ष तीनमा रहने टोली एशिया इमर्जिङ कपका लागि छनोट हुनेछ।
नेपालले आगामी वैशाख ५ गते मलेशियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।