मिटरब्याज पीडितको समस्याप्रति मधेश सरकारको ऐक्यबद्धता
मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको समस्याप्रति ऐक्यबद्धता जनाएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रेस विज्ञप्ति जारी गरी उनीहरूको समस्यामा प्रदेश सरकारको साथ रहेको जनाएका छन्। मुख्यमन्त्री यादवले पैदल हिंडेर काठमाडौं पुगेका र पुग्न नसकेका मिटरब्याज पीडितको समस्याप्रति गम्भीर रहेको भन्दै यो मधेशको मात्र नभई देशकै समस्या भएको उल्लेख गरेका छन्।
“एकातिर ब्यांकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने। अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारमा अत्याचार नै गर्ने द्रव्यपिचाशी प्रवृत्ति देखिएको छ,” मुख्यमन्त्री यादवले भनेका छन्, “शोषण विरुद्ध केन्द्र, राष्ट्र ब्यांक तथा प्रदेश समेतले मिलेर संयुक्त रूपमा काम गर्न, विशेष अधिकारसम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ।”
महोत्तरीबाट काठमाडौं पुगेका मिटरब्याज पीडितलाई न्याय दिन उनले आग्रह गरेका छन्। मुख्यमन्त्री यादवले भनेका छन्, “जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्छ। ब्यांकले बाटो खोल्नुपर्छ। आम जनतामा सहज र सुलभ रूपमा ऋण प्रवाह हुनुपर्छ।”