विद्यालयमा डीआईको त्रास
श्रद्धाले सिर्जित नियमनको डोरी छिनेर हाम्रा विद्यालयहरू भय सिर्जना गरी विद्यार्थीलाई जबर्जस्ती नियन्त्रण गरेर राख्ने ‘कैदीगृह’ बन्दै गएका छन्।
ज्ञान लिने स्थान भएकाले विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ। जहाँ शिक्षक र विद्यार्थीबीच गुरु-चेलाको सम्बन्ध रहन्छ। विद्यार्थीले शिक्षकलाई आफ्नो आदर्श व्यक्ति मानेका हुन्छन्। त्यसैले शिक्षकको व्यवहार‚ आचरण र प्रयोग गर्ने भाषा अनुकरण गर्छन्।
अभिभावक, पथप्रदर्शक भएकाले विद्यार्थीहरू शिक्षकलाई श्रद्धा र सम्मान गर्छन्। सोही श्रद्धा नै अनुशासनको अमूर्त डोरी बन्छ जसले विद्यालयको ज्ञान निष्पादन र हस्तान्तरण पद्धतिलाई व्यवस्थित पारेको हुन्छ।
तर‚ वर्तमान सन्दर्भमा शिक्षक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक सम्बन्धमा दरार देखा परेका छन्। जसका कारण श्रद्धाले सिर्जित नियमनको डोरी छिनेर हाम्रा विद्यालयहरू भय सिर्जना गरी विद्यार्थीलाई जबर्जस्ती नियन्त्रण गरेर राख्ने ‘कैदीगृह’ बन्दै गएका छन्।
शिक्षण सिकाइ क्रियाकलाप पूर्णतः मनोवैज्ञानिक हुन्छ। मानसिक रूपमा तयार भएपछि मात्र अध्ययन अध्यापन कार्य प्रभावकारी बन्दछ। जबसम्म आधारभूत आवश्यकता पूरा भई विद्यार्थीमा सुरक्षित छु भन्ने भावना विकास हुँदैन तबसम्म उसले केही पनि सिक्न उत्सुकता देखाउँदैन। तर‚ अनुशासन कायम गरी विद्यालयको वातावरण राम्रो राख्ने नाममा हाम्रा विद्यालयहरूमा अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्चार्ज (डीआई) राख्न थालिएको छ।
अनुशासन प्रमुखको नाम दिइए पनि डीआईले विद्यार्थीसामु आफूलाई गुन्डाकै रूपमा प्रस्तुत गर्छन्। परिणामतः विद्यालयमा विद्यार्थीहरू स्वस्फूर्त प्रतिभा प्रस्फुटन गर्नुको सट्टा डीआईको त्रासमा कुमालकोटीले लठ्याएको माकुरोतुल्य बनेका छन्। अनुशासन प्रमुखको जिम्मेवारीमा डीआई राख्ने कार्य विद्यालयका लागि कलङ्क बन्दै गएको छ। विद्यालय र शिक्षकप्रतिको आस्था तथा विद्यार्थीको खुशी धमिलिंदै जान थालेको देखिन्छ।
डीआई राख्ने वा नराख्ने भन्ने विषय मुख्य नभए पनि कस्ता व्यक्तिलाई कुन भूमिका दिइएको छ भन्नेले महत्त्व राख्दछ। विद्यालयमा अनुशासन प्रमुख शिक्षक वा प्रधानाध्यापकभन्दा अन्य व्यक्ति हुनु सुहाउँदो कुरै होइन। तर‚ हाम्रो विद्यालयहरूमा शारीरिक रूपमा बलिष्ठ, दमन वा नियन्त्रण गर्न सक्ने व्यक्तिलाई डीआईको जिम्मेवारी दिइने गरिएको छ। विद्यार्थीको मनोविज्ञानको वास्ता नगर्ने र आदर्श व्यक्ति बन्नुको सट्टा ‘डन’ प्रवृत्तिको व्यक्तिलाई गेटमा उभ्याइन्छ। उनीहरू ‘बात, हात र लात’ प्रयोग गर्दै विद्यार्थीलाई थर्काउँछन्। यसरी विद्यालय सञ्चालन गर्नु हाम्रो रहर हो कि बाध्यता? यसमा गम्भीर हुनु आवश्यक छ।
डीआईले ‘बात, हात र लात’ प्रयोग गर्दै विद्यार्थीलाई थर्काउँछन्। यसरी विद्यालय सञ्चालन गर्नु हाम्रो रहर हो कि बाध्यता?
बिहानै गेटमा बसेर समयमा आए/नआएको, ड्रेस र कपाल र परीक्षण गर्ने बहानामा विद्यार्थीलाई तथानाम गालीगलौज गर्ने‚ सार्वजनिक रूपमै शारीरिक दण्ड दिएर तर्साउँदा विद्यार्थीको मनोविज्ञानमा कस्तो असर पर्ला? विद्यालयलाई अति नियन्त्रित बनाउने अनि दण्ड दिन हतारिंदा विद्यार्थीले आत्महत्या समेत गरेका समाचार प्रकाशित भएका छन्। यद्यपि‚ विद्यालयहरूले डीआईको विकल्प खोज्नुको सट्टा त्यसैलाई संस्थागत गर्दै जानुले समाज विकासको लय र विद्यालयले पढाउने कि सिकाउने भन्ने विषयमा स्पष्ट मार्ग अवलम्बन गर्न नसकेको सङ्केत गर्छ। विद्यालय विद्यार्थीलाई नियन्त्रण गरेर राख्ने ठाउँ हो। तर‚ उनीहरूलाई डर विना नियन्त्रण गर्नै सकिन्न भन्ने सोच विद्यालय सञ्चालकहरूमा रहेकाले डीआईलाई प्रवर्द्धन गरिरहेको देखिन्छ।
अनुशासन एक किसिमको डर हो भन्नेमा अंशतः सहमत हुन सकिए पनि त्यस्तो डर कुनै व्यक्तिविशेष र उसका क्रियाकलापसँग हुने भन्ने विषयमा भने सभ्य समाजमा हुर्केको कोही पनि सहमत हुन सक्दैनन्। अनुशासनलाई विधि वा नियमको डर भने मान्न सकिन्छ। अनुचित काम गर्नु हुँदैन‚ गरेमा दण्डित भइन्छ भन्ने चेतना सबैमा हुनुपर्छ। गलत काम गरे समाज वा समूहमा आलोचित भइन्छ र आधिकारिक व्यक्ति वा संस्थाबाट साङ्केतिक दण्ड पाइन्छ भन्ने चेतनाले नै मानिसलाई राम्रो आचरण गर्न सहयोग गर्छ।
धर्म र पापको डरमा बाँचेको नेपाली समाज विज्ञानको युगमा प्रवेश गरेपछि धेरै हदसम्म अनुशासनहीन बनेको हो। तर‚ मानवता, दया, माया र करुणाबारे नसिकाई कुनै अपराधमा बन्दी बनाइएका व्यक्तिलाई जस्तो व्यवहार गरिए विद्यार्थीले अनुशासन भनेको नियमको पालना गर्नु हो भनी कसरी बुझ्न सक्लान्? तर‚ विद्यालय सञ्चालकहरूमा दण्डको त्रास देखाएर मात्र विद्यार्थीलाई नियन्त्रणमा राख्न सकिन्छ र त्यही नियन्त्रित वातावरणमा राख्नु नै अनुशासित बनाउनु हो भन्ने भ्रम छ। त्यसैले त विद्यालयमा डीआई प्रथा मौलाउँदै गएको हो।
हरेक व्यक्तिमा कुनै न कुनै विशेष क्षमता हुन्छ। त्यसैले रुचि, सिक्ने तरीका, क्षमता र सीपहरू व्यक्तिपिच्छे फरक हुन्छन्। यस्ता फरक फरक प्रकृतिका विद्यार्थीका सीपलाई तिखार्न शिक्षकशिक्षिकाले सहयोग पुर्याउनुपर्छ। अबको शिक्षा शिक्षकले भनेको वा सिकाएको जस्ताको तस्तै अनुकरण गर्नु वा शिक्षकप्रदत्त सूचना सङ्कलन गर्नु मात्रै होइन। विद्यार्थी खाली दिमाग लिएर कक्षाकोठामा जाने र शिक्षकले त्यो खाली ठाउँमा भरिदिने भन्ने सोचले अब काम गर्न सक्दैन। सूचनाको स्रोत शिक्षक नभएर प्रविधि बनिसकेको वर्तमान सन्दर्भमा शिक्षकको भूमिका विद्यार्थीमा रहेका सूचना तथा सीपलाई मजबूत बनाउन टेको दिने वा सहयोग गर्ने दिशातर्फ उन्मुख हुनुपर्छ।
शिक्षकको भूमिका विद्यार्थीमा रहेका सूचना तथा सीपलाई मजबूत बनाउन टेको दिने वा सहयोग गर्ने दिशातर्फ उन्मुख हुनुपर्छ।
यसैले आजका शिक्षालय नयाँ सूचना सङ्कलन र हस्तान्तरण गर्ने स्थल हुन सक्दैन। ती सूचनाको व्यवस्थितीकरण एवम् वैयक्तिक गुणको पहिचान गरी आचरण र व्यवहारमा परिवर्तन र परिमार्जन ल्याउने स्थलका रूपमा विकसित हुनुपर्छ। त्यसैले विद्यालय डर र त्रास सिर्जना गरेर नियन्त्रण गर्ने ठाउँ बन्नु हुँदैन। शिक्षकको सुपरिवेक्षणमा विद्यार्थीले निर्धक्क आफ्नो ज्ञान, दृष्टिकोण र सीपको प्रदर्शन, प्रवर्द्धन र प्रयोग गर्ने वातावरण हुनुपर्छ।
शिक्षकले आफू अनुकूलको विद्यार्थी बनाउने होइन‚ विद्यार्थीको प्रतिभा पहिचान गरी सो प्रतिभा झाँगिन सहयोग पुर्याउने थाँक्रो बन्नुपर्छ। जसका लागि विद्यालयमा विद्यार्थीले त्रासमुक्त वातावरणमा रहन पाउनुपर्छ। त्रास र भय नै अनुशासन हो भन्ने भ्रमबाट मुक्त हुनु आवश्यक छ। अन्यथा विद्यालय विद्यार्थीको प्रतिभा फक्रिन सहयोग पुग्ने स्थल नबनेर विद्यार्थीको स्वतन्त्रता, चेतना र जन्मजात विशेष सीपको दागबत्ती दिने मसानघाट बन्न पुग्छ।
अनुशासन मानिसको सबैभन्दा ठूलो गहना हो। तर‚ अनुशासन कायम गर्ने नाममा डीआईले गर्ने व्यवहारले विद्यार्थीमा नकारात्मक असर पुर्याएको छ। सबैसामु दण्ड दिंदा विद्यार्थीमा बदलाको भावना विकास भएको पाइन्छ। यस्तै‚ साथीसँगीको अगाडि दण्ड पाउँदा उनीहरूमा मानसिक तनाव उत्पन्न भई कुलतमा लाग्ने सम्भावना बढ्ने गरेको छ।
विद्यार्थीका आचरण र व्यवहारका निर्माता घरपरिवार र विद्यालय नै हुन्। तर‚ उनीहरूलाई भावनात्मक रूपले बुझी अनुशासनप्रति आस्था सिर्जना गरी सुन्दर, स्वस्थ र उर्वर भावी पुस्ताको निर्माणमा जुट्नुपर्छ। त्यसैले विद्यार्थीका लागि हाउगुजीको रूपमा रहेको डीआई प्रथालाई तुरुन्त अन्त्य गरी समस्यामा परेका विद्यार्थीलाई मनोविद्बाट परामर्श दिने वातावरण मिलाउनुपर्छ। यसो गरिए गुम्न लागेको विद्यालयको साख अझ चम्किलो हुनेछ।