तलब नपाएको भन्दै धनगढीका स्वास्थ्यकर्मी आन्दोलित
कैलालीस्थित धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी ६ महीनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
उपमहानगरको स्वास्थ्य शाखा र १९ वटा वडाका स्वास्थ्य संस्थाका ५४ जना कर्मचारी तलब नपाएको भन्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले हातमा कालोपट्टी बाँधेर उपमहानगर कार्यालयमा धर्ना दिएका छन्। माग सम्बोधन नहुन्जेल काममा नफर्किने उनीहरूको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड ल्याएर कर्मचारी समायोजन गरेको थियो। जस अनुसार‚ उपमहानगरमा आएका कर्मचारीलाई उपमहानगरले तत्काल हाजिर गराई काममा लगाउने र नियम अनुसार तलबभत्ता उपलब्ध गराउने सहमति भएको थियो।
तर‚ आफूहरूले असोजदेखि तलब नपाएको धनगढी-१३ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक अनिता खड्काले बताइन्। उनी अछामको मेल्लेख गाउँपालिकाबाट धनगढी आएकी हुन्।
२०७७ वैशाखमा डोटीको केआई सिंह गाउँपालिकाबाट समायोजन मिलान गरी धनगढी आएकी सीअनमी मीना पाण्डे र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत सीअहेब जानकी कार्कीको समस्या पनि उस्तै छ। धनगढी-२ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब शिशिर शर्मा पनि तलब नपाएको बताउँछन्।
धनगढी उपमहानगरमा स्वास्थ्य शाखा लगायत अन्य दुई स्वास्थ्य चौकीमा गरी १६ जनाको दरबन्दी छ। आर्थिक वर्ष २०७५/७६ मा तत्कालीन सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सक सहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो। सोही अनुरूप धनगढी उपमहानगरले १९ वटै वडामा स्वास्थ्य संस्था विस्तार गर्यो। उपमहानगरमा एक शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, दुई स्वास्थ्य चौकी, सात शहरी स्वास्थ्य केन्द्र र नौ वटा आधारभूत स्वास्थ्य केन्द्र छन्।
उपमहानगरका मेयर गोपाल हमालले स्वास्थ्य सेवाका कर्मचारीलाई ६ महीनादेखि तलबभत्ता खुवाउन नसकेको स्वीकार गरेका छन्। कर्मचारीले तलबभत्ता नपाएको भन्दै संघीय सरकारलाई दुई पटक जानकारी दिए पनि रकम निकासा नभएको उनको भनाइ छ। मेयर हमाल भन्छन्‚ “समायोजन गर्दा आवश्यकताभन्दा बढी पठाएको कर्मचारीको तलबभत्ता संघीय सरकारले पठाउनुपर्छ नभए कर्मचारी फिर्ता लैजानुपर्छ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहका वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याका आधारमा तीन तहमा वर्गीकरण गरी दरबन्दी प्रस्ताव गरेको छ। पाँच हजारभन्दा बढी जनसंख्या भएको वडालाई ‘क’ वर्गमा राख्दै १० जना, दुई हजारदेखि पाँच हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ‘ख’ वर्गमा राख्दै आठ जना र दुई हजारभन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ‘ग’ वर्गमा राख्दै ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।
धनगढीका विभिन्न संघसंगठनले स्वास्थ्यकर्मीहरूको आन्दोलनमा समर्थन र ऐक्यबद्धता जाहेर गरेका छन्। नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली, नेपाल निजामती कर्मचारी संगठन कैलाली, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कैलाली, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल कैलालीले विज्ञप्ति जारी गरी आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।