भुटानसँग बराबरीमा रोकियो नेपाल, लाओससँग फाइनल खेल्ने
भुटानसँग बराबरीमा रोकिएको नेपाल प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको छ।
दुई खेलबाट चार अङ्क जोडेको नेपालको फाइनल भेट लाओससँग हुने भएको छ। लाओसले भुटानलाई पराजित गरेर तीन अङ्क जोडेको थियो।
काठमाडौंस्थित दशरथ रङ्गशालामा मंगलबार नेपाल र भुटानले १–१ गोलको बराबरी खेलेका हुन्। भुटानले १९औं मिनेटमा तेन्जिङ नोर्बुको गोलले अग्रता लिएको थियो।
पहिलो हाफमा १–० अन्तरले पछि परेको नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा बराबरी गोल गरे। अग्रता जोगाउन सकेको भए भुटान फाइनल प्रवेश गर्ने थियो। दुई खेलबाट एक अङ्क जोडेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो। नेपाल र लाओसबीच चैत १७ गते फाइनल हुनेछ।
उपाधि विजेताले पाँच हजार डलर र उपविजेताले तीन हजार डलर प्राप्त गर्ने अखिल नेपाल फूटबल संघले जनाएको छ।