म्यादी प्रहरीको स्वास्थ्य परीक्षणको रकम हिनामिना
जिल्ला अस्पताल खोटाङमा म्यादी प्रहरीको मेडिकल परीक्षणका लागि लिइएको शुल्क बापतको रकम हिनामिना भएको पाइएको छ।
गत मंसीर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा म्यादी प्रहरी भर्नाका लागि जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उठेको ७६ हजार रुपैयाँ हिनामिना भएको हो। प्रतिव्यक्ति १०० रुपैयाँका दरले ७६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। उक्त रकम अस्पताल सञ्चालन व्यवस्थापन समितिको खातामा जम्मा हुनुपर्ने हो।
तत्कालीन आर्थिक प्रमुख ल्याब टेक्निसियन (छैटौं) विमलकुमार देवका अनुसार, गत असोज पहिलो साता जम्मा भएको ७६ हजार रुपैयाँ स्वास्थ्यकर्मीको खाजा र भत्तामा खर्च भएको हो। खाना-खाजामा २१ हजार ४५०, भत्ता बापत ४७ हजार खर्च भएको र सात हजार ५५० रुपैयाँ मात्र बाँकी रहेको देव बताउँछन्। बाँकी रकमबाट काठमाडौंस्थित एमआरएस इन्टरप्राइजेजबाट दुई वटा अटोस्कोप (कान, नाक, घाँटी चेक गर्ने मशिन) खरीद गर्ने तयारी रहेको उनको भनाइ छ।
डा. पुस्कल राई, शत्रुघ्न यादव, सबल कोइराला, रूपेश संग्रौला र देवलाई पाँच हजार रुपैयाँका दरले, स्वास्थ्यकर्मी सीता शाह, नितु यादवलाई जनही दुई हजार ५०० र हेल्थ असिस्टेन्ट निकमार मोक्तानलाई एक हजार ५०० रुपैयाँ गरी ३१ हजार ५०० भत्ता दिइएको थियो। तर, आफूहरूले लिएको भत्ता समितिको खातामा जम्मा गर्न भन्दै देवले नै फिर्ता लिएको डा. राई बताउँछन्।
स्टोरकीपर सुनील दाहाल‚ अहेब रोशन पोखरेल, अहेब सन्तोष दाहाल, अहेब राजु खड्का र डेटा सङ्कलक भोजराज श्रेष्ठलाई जनही दुई हजार ५०० तथा एम्बुलेन्स चालक सन्देश ढुंगाना र सुरक्षाकर्मी गोपालराज थापा मगरलाई जनही एक हजार ५०० गरी १५ हजार ५०० भत्ता दिइएको थियो। त्यो पनि फिर्ता देवलाई नै गरेको उनीहरूको भनाइ छ।
म्यादी प्रहरीको स्वास्थ्य परीक्षण शुल्कबाट सङ्कलन भएको रकममध्ये खाजा र खानामा खर्च भएपछि बाँकी करीब ५० हजार रकम हालसम्म अस्पताल सञ्चालन व्यवस्थापन समितिको खातामा जम्मा नभएको भन्दै अहेब सन्तोष दाहालले छानबिन गरी सार्वजनिक गर्न चैत १२ गते अस्पतालमा निवेदन दिएका थिए। सोही दिन जिल्ला अस्पतालका निमित्त प्रमुख डा.दिपेश परियारले उक्त रकम हालसम्म अस्पताल विकास समितिको खातामा जम्मा भएको भौचर प्राप्त नभएको र छानबिनका लागि माग भएकाले त्यसबारे जवाफ दिन देवलाई पत्राचार गरेका थिए।
यसअघि गर्भवती निःशुल्क जाँच कार्यक्रमको रकम अनियमितताबारे छानबिन गर्न चैत १ गते अस्पताल व्यवस्थापन समितिका सदस्य कुमारप्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। ज्ञानेन्द्र जोशी र उपिनकुमार राई समितिका सदस्य छन्। समितिलाई एक महीनाभित्र प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।