टीकापुर साहित्य महोत्सव
कैलालीको टीकापुरमा चैत अन्तिम साता ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ।
चैत २५ देखि २७ गतेसम्म हुने साहित्य महोत्सवमा सुदूरपश्चिमको कला, साहित्य, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए।
“महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन्‚” शाहले भने‚ “हरेक सत्रमा सुदूरपश्चिमका भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिताबारे छलफल हुनेछ।”
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे। महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनुका साथै यहाँको सम्भावना र राम्रा पक्षको प्रचार हुने उनको भनाइ छ।
महोत्सवमा ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। कार्यक्रममा एक लाख रुपैयाँको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार’ प्रदान गरिनेछ। ७५ हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार सुदूरपश्चिमका प्रतिभालाई र २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई प्रदान गरिनेछ।