आयोजक टाेली विराट गोल्डकपको फाइनलमा
जावलाखेल यूथ क्लबलाई हराउँदै आयोजक टोली विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पहिलो सेमिफाइनलमा विराटनगरले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी भएको थियो।
खेलको ५९औं मिनेटमा आयोजक विराटनगरका स्टेफनले विमल घर्ती मगरको पासमा गोल गरेका हुन्। त्यसपछि खेलको ८७औं मिनेटमा विराटनगरका अभिषेक गुरुङले लामो प्रहार गरेर बललाई जाली चुमाए।
पहिलो गोल खाएदेखि नै दबाबमा परेको जावलाखेलले गोल फर्काउंने निकै कसरत गरेको थियो। इन्जुरी समयको सदुपयोग गर्दै जावलाखेलका युशुभ थपलियाले गोल गरे।
विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले जावलाखेलका थुप्रै प्रहार रोकेका थिए। विराटनगरका स्टेफन प्लेयर अफ द म्याच भए।
विराट गोल्डकपको यो सातौं संस्करण हो। प्रवेश शुल्क बढी भएको गुनासो आएपछि आयोजकले सेमिफाइनल खेलका लागि तोकेको शुल्क पाँच सयबाट घटाएर तीन सय रुपैयाँमा झारेको छ।
दोस्रो सेमिफाइनलमा चैत १४ गते सशस्त्र प्रहरी बल र भारतको केरलाको लुका सकर क्लबले प्रतिस्पर्धा गर्नेछन्।