बाटो बिराउँदै सेना
आफ्नो मूल कर्मबाट विचलित सेनालाई सही दिशामा ल्याउन सरकार र सैनिक नेतृत्व दुवैले तत्काल कदम चाल्नुपर्ने देखिन्छ।
सुरक्षा चुनौती, सामथ्र्य र आवश्यकताहरूले अहिले नेपाली सेनामा सांगठनिक पुनःसंरचनाको टड्कारो आवश्यकता औंल्याइरहेका छन्। सेनालाई मुलुकको अस्तित्व रक्षा गर्ने अन्तिम भौतिक शक्तिका रूपमा समयानुकूल र आधुनिक बनाउन ढिलो भइसकेको छ। तर, सैनिक नेतृत्व, सरकार र राजनीतिक दल यसतर्फ अग्रसर देखिँदैनन्।
हाम्रो तत्कालको चुनौती भारत वा चीनको सैन्य शक्ति होइन, तर छिमेकी देशमा देखिएका सुरक्षा जोखिमका बाछिटा यहाँसम्म आइपुग्ने खतरा छ। यिनमा इस्लामिक आतङ्कवादी संगठन (आईएसआई) का गतिविधिदेखि साइबर सुरक्षासम्म छन्। आतङ्कवादी गतिविधि गर्नेहरू नेपाल पसे/नपसेको यकीन गर्न हाम्रा सुरक्षा संयन्त्र सक्षम देखिँदैनन्।
अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदनले नेपाल आतङ्कवादी संगठनको ‘हब’ बन्दै गएको औंल्याउँछ। विगतमा त्यस्ता केही व्यक्ति पक्राउ परेको घटनाले अमेरिकी धारणालाई पूरै असत्य मान्न सकिँदैन।
अर्कातिर नेपालमा अमेरिका, चीन र भारतको चासो बढ्दो छ। तिब्बत मामिलालाई लिएर अमेरिका नेपाललाई आफ्नो प्रभावमा राख्न खोज्छ। भारत त नेपाललाई पकेटभित्रकै ठान्छ। नेपालको आन्तरिक राजनीतिमा वास्ता नराख्ने चीन पनि अहिले पकड जमाउन खुलेरै लागिपरेको छ।
हाम्रा सरकार र नीति दुवै स्थिर नहुँदा पनि शक्तिराष्ट्रहरूका यस्ता स्वार्थले सुरक्षा चुनौतीको रूप लिँदै छन्। हाम्रो अपरिपक्व कूटनीति अनि राष्ट्रिय स्वार्थमा साझा अडान राख्न नसक्ने राजनीतिले पनि विदेशीहरूलाई आआफ्नो स्वार्थमा खेल्ने ठाउँ दिइरहेको छ।
राज्य सञ्चालनमा राष्ट्रिय सुरक्षा नीतिलाई प्राथमिकता दिइएको छैन। हामीले राष्ट्रिय सुरक्षा परिषद्लाई सेना परिचालन सम्बन्धी काममा मात्र सीमित पार्यौं, सुरक्षा/प्रतिरक्षा नीति तथा चुनौतीमा उपयोग गर्न सकेनौं। आर्थिक, खाद्य, पर्यावरण र साइबर सुरक्षाबारे समीक्षा हुनुपर्ने परिषद्मा न विज्ञ जनशक्ति ल्याइए न त नीति निर्माणको अभ्यास गरियो।
रणनीतिक तालीम, फायर पावर, युद्धका आधुनिक प्रविधिबारे अभ्यास हुनुपर्ने सेनामा यसका लागि पर्याप्त स्रोतसाधन नै छैन। दशवर्षे सशस्त्र द्वन्द्वमा सेनाको संख्या ह्वात्त बढाइँदा यो पक्षमा ध्यान दिइएन। अहिले पनि अवस्था उस्तै छ।
अर्कातिर विकास निर्माण जस्ता गैरसैनिक काममा सैन्य संलग्नता बढ्दो छ। काठमाडौं-तराई दु्रतमार्ग निर्माण जस्ता योजनामा जोडिने स्वार्थ सेना र शासक दुवैको हो। सेनाको आर्थिक कामकारबाहीको निगरानी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने भएकाले सम्भावित कारबाही छल्न सरकारले जङ्गी अड्डालाई यो भूमिका दिएको भन्ने बौद्धिक वर्गको अड्कलमा दम छ। नत्र सेनाको व्यावसायिक क्षमता बढाउनु साटो किन निर्माण कम्पनी जस्तो बनाउन खोजियो ? उत्तर दिन कोही तयार छैन। संसद्ले समेत सैन्य पुनःसंरचनाबारे बहस आवश्यक ठानेको देखिँदैन।
सेनालाई गैरसैनिक क्रियाकलापमा लगाइराख्ने हो भने अर्धसैनिक प्रकृतिको छुट्टै संगठन बनाइनुपर्छ। व्यावसायिक सेनामा गैरसैनिक गतिविधि मिसाउने होइन। ७३ अर्ब रकमको सैनिक कल्याणकारी कोषले पनि सेनालाई गैरसैनिक काममा तानेको छ। सेनाको उपल्लो तह आर्थिक मामिलामा बदनाम हुनुको एउटा कारण यही कोषको अपारदर्शी उपभोग हो।
सेनालाई अन्य सरकारी कार्यालय जसरी जिल्लैपिच्छे राख्न आवश्यक छैन। बरु तिनलाई रणनीतिक स्थानमा छाउनीका रूपमा राखेर अत्याधुनिक स्रोतसम्पन्न बनाइनुपर्छ। छरिंदा सेनाको लड्ने बल खिइन्छ, तालीम लगायत अभ्यास कमजोर बन्दै जान्छ। लडाइँका वेला जगेडा फौज नै हुँदैन। २०७३ सालमा मेरै संयोजकत्वमा गठित रक्षा मन्त्रालय र नेपाली सेनाको पुनःढाँचा सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनले सैनिक एकाइ एकत्रित गर्न जङ्गी अड्डामुनि कमान्ड संरचना राख्न सुझाएको थियो।
२०७७ साउनदेखि चार वटा कमान्ड समेत खडा गरिए। तर, अहिले फेरि पृतना संरचनामै लगिएको छ। कमान्ड संरचना किन खारेज गरियो, प्रस्ट छैन। प्रतिरक्षा नीतिको समीक्षाबाट नभएर मनगढन्ते तर्कका आधारमा यसरी सैनिक संरचना बदल्नु घातक हुन्छ।
अनावश्यक सैनिक संख्या घटाउने एउटा आधार हो, अर्धसैनिक प्रकृतिका फौजले गर्ने कामबाट सेनालाई अलग्याइनु। सेनामा ठूलो संख्या बहालवाला र अवकाशप्राप्त उच्चपदस्थ सैनिक अधिकारीको घरेलु कामदारका रूपमा प्रयोग भइरहेछ। राज्यको रकमबाट सिपाहीलाई व्यक्तिगत कामदारका रूपमा खटाइन बन्द गरिनुपर्छ। बन्दूक बोक्नु र गोली हान्नु मात्र सैनिक कौशल होइन। सेनालाई गुप्तचरी, प्रविधि र तालीममा पनि मजबूत बनाइनुपर्छ। यसका लागि आवधिक रूपमा सुरक्षा स्थिति र नीतिको समीक्षा गर्ने परिपाटी बसाइनुपर्छ।
(पूर्व रक्षा सचिव न्यौपाने सरकारद्वारा २०७३ सालमा गठित ‘रक्षा मन्त्रालय र नेपाली सेनाको सांगठनिक संरचनाको पुनःढाँचा सम्बन्धमा अध्ययन कार्यदल’ का संयोजक हुन्। हिमालको २०७९ चैत अङ्कबाट।)
कभर स्टोरी:
* यस्तो हुनुपर्छ अबको सेना
* कस्तो सेना, कत्रो सेना?
* सेनालाई कमाउ धन्दाबाट बाहिर निकाल
* द्रुतमार्गमा अक्षम्य अलमल
* सेनाको व्यावसायिक इच्छा
* सानो र छरितो सेना