चार दलको निष्कर्ष- ‘कोशी’ नामको विरोध गर्दा सामाजिक सद्भाव बिथोलिन्छ
कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले ‘कोशी’ नामको विरोध गर्दा सामाजिक सद्भाव बिथोलिने दाबी गरेका छन्।
प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको आन्दोलनलाई उनीहरूले ‘असंवैधानिक गतिविधि’ ठहर गरेका छन्। कोशी प्रदेशका नेपाली कांग्रेस सभापति उद्धव थापा, नेकपा (एमाले) अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का सचिव गणेश उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राम थापाले संयुक्त विज्ञप्ति जारी गर्दै नामकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रक्रियाद्वारा समाधान गर्नुपर्ने उल्लेख गरेका हुन्।
प्रदेश १ का सार्वभौम जनताले चयनका गरेका जनप्रतिनिधिले नै कोशी नाम छनोट गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। उनीहरूले भनेका छन्, “सार्वभौम जनताबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले आफ्नो प्रदेशको नामकरण आफैं गर्न पाउने संवैधानिक अधिकार हो, यही संवैधानिक अधिकारको प्रयोग गर्दै संविधान अनुसार तत्कालीन प्रदेश १ को नामकरण कोशी प्रदेश रहन पुगेको हो।”
कोशी प्रदेशको पुन: नामाङ्कनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू (लाजेहाङ)को ज्यान गएको छ।