विद्युतीय रेल मार्ग : बर्दिवास–बुटवल खण्डको फेरी डिपिआर हुने
पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको पुनः विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरिने भएको छ ।
बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण नगर्न सर्वोच्वले आदेश दिएपछि नयाँ डिपिआर निर्माण गर्न लागिएको हो ।
रेल विभागले पूर्व–पश्चिम झण्डै एक हजार किलोमिटर रेलमार्गको चार वटा प्याकेजमा अध्ययन गरिरहेको थियो ।
चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम चरणमा पुगे पनि चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘एलाइनमेण्ट’ परिवर्तन गर्नुपर्ने भएकाले पुन डिपिआर नर्ग लागिएको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए ।
विभागका अनुसार पहिले पथलैयाबाट माडी क्षेत्रको जङ्गल हुँदै रेलमार्ग निर्माणको अध्ययन गरिएकोमा अब निजगढबाट हेटौँडा हुँदै भरतपुर निस्कने गरी नयाँ डिपिआर गर्न लागिएको छ ।
‘एलाइनमेण्ट’ परिवर्तनसँगै उक्त खण्डको लम्बाइ १०८ किलोमिटर रहेकामा १३६ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।
बर्दिवासदेखि निजगढतर्फ अध्ययन सकिएर निर्माणको काम शुरु भइसकेको छ ।
रेलमार्ग निर्माणमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गा अधिग्रहण रहेको उनले बताए ।
अहिलेसम्म झण्डै रु दुई अर्ब खर्च भइसकेको उक्त रेलमार्गमा जग्गा प्राप्ति र अध्ययन सम्पन्न गर्नका लागि मात्रै रु सात अर्ब ७० करोड खर्च लाग्ने विभागले जनाएको छ ।
यो रेलमार्गमा एक किलोमिटर निर्माणका लागि झण्डै रु ९० अर्बसम्म लाग्ने अनुमान गरिएको छ ।
बर्दिबास पश्चिमतर्फ जम्मा चार भाग बनाएर डिपिआर शुरु गरिएको थियो । जसमा लमही–कोहलपुर खण्ड र सुक्खड–गड्डाचौकी गरेर दुई खण्डको अन्तिम प्रतिवेदन आइसकेको छ । कोहलपुर–सुक्खड र बुटवल–लमही खण्डमा भने अध्ययन भइरहेको छ ।