‘एमाले र एकीकृत समाजवादी एकताको आधार तयार हुँदै छ’
‘सत्ता स्वार्थका लागि बनेको अहिलेको गठबन्धन त्यही स्वार्थ बाझिएर विघटन हुन सक्छ। त्यस्तो वेला एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न सक्छ। तर‚ हामी अहिलेको गठबन्धन तोड्न लाग्दैनौं।’
पुस १० मा बनेको सत्ता गठबन्धन दुई महीना पनि टिकेन। राष्ट्रपति निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेस उम्मेदवारलाई सहयोग गरेपछि नेकपा (एमाले)-माओवादी केन्द्र गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्याे। एमाले–माओवादी गठबन्धन किन लामो समयसम्म टिक्दैन? के एमाले कांग्रेस-माओवादी केन्द्र गठबन्धन भत्काउन लाग्छ? यसै सेरोफेरोमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग देविका घर्ती मगरले गरेको कुराकानीः
एमाले प्रतिपक्षी दल भएको छ। अब कस्तो भूमिका निर्वाह गर्छ?
संसदीय, बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एउटा प्रमुख प्रतिपक्षी दलले निर्वाह गर्नुपर्ने भूमिका रचनात्मक रूपमा गर्छौं। प्रतिपक्षको भूमिका भनेको गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने। राष्ट्रिय सरोकारका विषय, स्वाधीनताको विषयमा सत्तापक्षलाई समर्थन‚ सहयोग गर्छौं। तर‚ गलत हर्कत र गलत नीति ल्याएमा विरोध रहन्छ।
एमालेले माओवादी केन्द्र लगायत दलहरूसँग बनाएको गठबन्धन दुई महीना नपुग्दै किन भत्कियो?
सम्भव भए वामपन्थी दलहरूबीच एकीकरण गर्ने‚ त्यो अवस्था नरहे निश्चित लक्ष्य प्राप्तिका लागि स्वाधीनता पक्षधर दलहरूबीच मोर्चाबन्दी गर्ने उद्देश्यले माओवादी केन्द्र लगायत दलहरूसँग गठबन्धन बनाएका थियौं। नेपाली राजनीतिमा हुने विदेशी चलखेल‚ हस्तक्षेपलाई रोक्न गठबन्धन निर्माण गरेका थियौं। तर‚ नेपालमा वामपन्थी‚ प्रगतिशील शक्ति भनौं वा लोकतान्त्रिक शक्तिमा राष्ट्रिय स्वाधीनता, स्वाभिमानको अडान रहेनछ। उनीहरूमा सत्ता स्वार्थ रहेछ। जसका कारण गठबन्धन भत्कियो।
राजनीतिक दलका नेताहरूले मुलुकभन्दा आफूलाई ठूलो ठाने। देश र जनताभन्दा आफ्नो पार्टीलाई ठूलो ठाने। स्वाधीनताभन्दा राष्ट्रपति‚ प्रधानमन्त्री‚ मन्त्री र मुख्यमन्त्री पद ठूलो ठाने। नेताहरूमा मुलुकको राजनीतिक स्थायित्वभन्दा बाह्य शक्ति अगाडि लम्पसार परेर प्रधानमन्त्री‚ मन्त्री भइराख्ने प्रवृत्ति हावी भयो। आफ्नो स्वार्थ पूरा भए नेताहरूले आफूलाई त्यो पदमा पुर्याउने पक्षको स्वार्थ अनुसार काम गरिदिने भए। नेपाललाई आफ्नो क्रीडास्थल बनाउन चाहिरहेका विदेशी शक्तिहरूले त्यसलाई उपयोग गरेका छन्। यही स्वार्थ मिलेपछि उनीहरू एमाले विरुद्ध एकजुट भए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन ठीक थियो भनेपछि गठबन्धन टुटाएको भनिरहेका छन् नि?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेको घटनालाई उनीहरूले प्रतिगमन भनी प्रचार गरे। बाह्य शक्तिले पनि त्यसैलाई समातेर हामीमाथि प्रहार गरे। जनताको अभिमत लिने प्रक्रियालाई अलोकतान्त्रिक मानिंदैन। तर‚ उनीहरू त्यही कुरालाई भजाएर राजनीति गरिरहेका छन्। त्यो राजनीतिक रूपमा गलत छ।
एमालेको वैचारिक नेतृत्वमा संविधान बनेको हो। सात प्रदेशको संघीय संरचना पनि एमालेकै अजेन्डा अनुसार बनेको हो। त्यो न कांग्रेसको एजेन्डा थियो न माओवादीको। माओवादीले १० वटाभन्दा बढी र कांग्रेसले सातभन्दा कम प्रदेश हुनुपर्छ भनेका थिए। एमालेको नवौं महाधिवेशनले सात प्रदेशको संघीय संरचनामा जाने भनेको थियो। त्यही अनुरूप सात प्रदेशको बहुपहिचान सहितको संघीय संरचना बन्यो। निश्चित अर्थतन्त्रका माध्यमबाट राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादमा पुग्ने पनि हाम्रो अजेन्डा हो। त्यसैल यो संविधानप्रति सबभन्दा बढी माया त हाम्रो छ। उनीहरूको संविधानप्रतिको माया भनेको गोहीको आँसु मात्रै हो।
अहिले १० दल एक ठाउँ र एमाले अर्को पक्षमा छ। एमाले किन यसरी एक्लियो?
हामीले गठबन्धन बनाउँदा कार्यनीतिक दाउपेचबारे परिपक्व निर्णय गर्न सकेनौं कि! गठबन्धनमा रहेका दलको चरित्र‚ स्वभाव, स्वार्थको राम्ररी मूल्याङ्कन गरेनौं। किनकि‚ कस्ता शक्तिसँग मोर्चाबन्दी गर्दै छौं भन्नेमा हामी सचेत हुनुपर्थ्यो। त्यो नभएकै हो।
उनीहरू स्वार्थका कारण एकजुट भएका हुन्। बाह्य शक्तिसँग पनि उनीहरूको स्वार्थ मिल्यो। राष्ट्रिय र जनताको स्वार्थमा नभई यो यो सबै सत्ता स्वार्थकै कारण भएको हो। एक व्यक्तिको एउटा पार्टी छ। त्यसलाई गनेर उनीहरूले १२-१३ पार्टी भनेर देखाउन खोजेका छन्।
अहिलेको गठबन्धन भत्काएर कांग्रेससँग कार्यगत एकता गर्ने सम्भावना कत्तिको रहन्छ?
गठबन्धन बन्ने र भत्काउने भनेको संयुक्त मोर्चाको नीति कस्तो बनाउने भन्ने हो। संयुक्त मोर्चाको नीति र कार्यगत एकता भनेको अजेन्डा मिल्ने शक्तिसँग निश्चित अजेन्डामा समान धारणा, सहमति भए मोर्चाबन्दी गरेर भएर जाने भन्ने हुन्छ। तर‚ अहिले कांग्रेससँग यो सम्भावना देखिंदैन। कि ठूलो महामारी या ठूलो सङ्कट आउनुपर्यो‚ त्यस्तो अवस्थामा मुलुकका ठूला पार्टीहरू मिलेर सङ्कटको समाधान गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने कुरा रहन्छ। अहिले मुलुकको आर्थिक अवस्था सङ्कटको डिलमा छ। कुनै पनि वेला मुलुक फेल हुन सक्छ। त्यस्तो स्थिति सिर्जना भयो भने ठूला शक्ति मिल्नुपर्छ। पञ्चायत फाल्ने वेलामा कांग्रेस र कम्युनिस्ट मिले। राजाले सत्ता हातमा लिएपछि कम्युनिस्ट, कांग्रेस मिलेर राजालाई फाल्यौं। संविधान निर्माण गर्न पनि एकजुट भयौं। तर‚ अहिले त्यस्तो अजेन्डा नभएकाले कांग्रेस र एमाले वा कम्युनिस्टहरू मिलिहाल्नुपर्ने स्थिति होइन।
यद्यपि‚ सम्भावनाका ढोका खुला हुन्छन्। मेलमिलाप, राष्ट्रिय एकताको सरकार बनाउनुपर्ने स्थिति आए कांग्रेस-एमालेले कार्यगत एकता गर्न सक्छन्। वामपन्थीहरूको एकताको सरकार बनाउन पनि सकिन्छ। पुष्पकमल दाहाललाई बाध्य पारेर राष्ट्रिय हित विपरीत काम गराउन थालियो भने त्यो वेला वामपन्थी, देशभक्तहरू एक हुनुपर्छ। एमालेसँग फेरि मोर्चाबन्दी हुन सक्छ। राजनीतिमा यी कुराहरूको सम्भावना छ। अब उनीहरू कसरी अगाडि बढ्छन्, उनीहरूको क्रियाकलापमा भर पर्छ।
अहिले सत्ता स्वार्थका कारण भएभरका दलले मन्त्री खान गठबन्धन बनाएका छन्। तर‚ ती सबै दलको स्वार्थ त मिल्दैन। स्वार्थ बाझिएर यो गठबन्धन विघटन पनि हुन सक्छ। त्यस्तो वेला एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न सक्छ। तर‚ हामी अहिलेको गठबन्धन तोड्न लाग्दैनौं। उनीहरूकै नालायकीपनले भत्किन्छ।
माओवादीका नेताहरूले एमालेका कारण शान्ति प्रक्रिया टुङ्गोमा नपुगेको भनिरहेका छन् नि?
पुष्पकमल दाहालजीले शान्ति प्रक्रिया नटुङ्गिनुको कारण केपी शर्मा ओली हो भनी देखाउनुहुन्छ। तर‚ उहाँहरूले नै शान्ति प्रक्रिया पूरा गर्न पहल गर्नुभएको छैन। आफूले सरकारको नेतृत्व गर्दा र सरकारमा सामेल हुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्छ किन नभनेको? संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषय चाँडै टुङ्ग्याउनुपर्छ किन नभनेको? पुष्पकमलजी तीन पटक प्रधानमन्त्री बन्नुभएको छ। बाबुराम भट्टराईजी एक पटक प्रधानमन्त्री भइसक्नुभयो। माओवादी धेरै पटक सरकारमा सामेल भइसकेको छ। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू नलाग्ने‚ अहिले त्यो मुद्दा बल्झिन थाल्यो भन्ने? पिप ननिचोर्ने अनि पिप पन्पनिएर ज्वरो आयो भनी अरूलाई दोष लगाउन मिल्छ?
शान्ति प्रक्रियाका बाँकी काम पूरा नभएकाले नै माओवादीको शिरमा तरबार झुन्डिरहेको छ। जब माओवादीले राष्ट्रवादी अडान लिन थाल्छ‚ एमाले जस्ता राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्न पुग्छ तब वामपन्थी विरोधी, स्वाधीनता विरोधी शक्तिहरूले टीआरसीको कार्ड देखाइदिन्छन्। उक्त कार्ड देखाउन बित्तिकै माओवादीहरू अत्तालिन्छन्। र‚ ती शक्तिले जे भन्यो त्यही गर्छन्। त्यसैको प्रतिफलस्वरूप अहिलेको गठबन्धन बनेको हो। उनीहरूले नै के भनेका थिए- ठूला शक्तिहरूसँग जुधिराखेर नेपालमा सरकारमा चलाउन सकिंदैन।
एमाले बाधक हाेइन?
एमालेले कहाँ रोकेको छ! एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बेपत्ता आयोग‚ सत्य निरूपण तथा मेलमिलाप आयोगका कामलाई अगाडि बढाऔं भन्नुभएको हो। त्यो वेला उहाँहरूले उदासीन रहनुभयो। उहाँहरूमा एमालेको नेतृत्वमा हुने त्यो काममा छिमेकी तथा पश्चिमा शक्ति‚ कांग्रेस तयार हुँदैनन् कि भन्ने मनाेविज्ञान थियो होला। हतियार राखिराखेपछि त अरूले त्यो हतियारले समातेर आफैंलाई हान्छ नि।
जसरी ६० दिनमा गठबन्धनले कोल्टे फेर्यो‚ त्यसले माओवादीको विश्वसनीयता स्वाट्टै घट्यो। आफ्नो अडानमा अडिग रहन्छ भनेर अब माओवादीलाई जनता, उसका कार्यकर्ताले कसरी विश्वास गर्ने? अन्य राजनीतिक दलहरूले कसरी विश्वास गर्ने? उसलाई प्रयोग गर्ने शक्तिलाई पनि लागेको छ यसलाई जहिले पनि प्रयोग गर्न सकिन्छ भन्ने। त्यसकारण माओवादीले आफ्नो मूल्य, गरिमा घटायो। सत्ताका लागि सिद्धान्त, अडान छाड्यो। माओवादीलाई यसको मूल्य निकै चर्को पर्नेछ।
एमालेले सभामुखको उम्मेदवार बनाएको व्यक्तिलाई प्रधानमन्त्री दाहालले रुचाएनन् र त्यही बिन्दुदेखि गठबन्धनमा समस्या उत्पन्न भयो भन्ने पनि छ। यो सत्य हो?
हामीले पुस १० गते गठबन्धन निर्माण गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौं। त्यो गठबन्धनमा राष्ट्रपति एमालेको भागमा थियो। सभामुख भने आलोपालो भन्ने थियो। प्रधानमन्त्री पनि आलोपालो नै हो। प्रधानमन्त्री माओवादीले राख्दा सभामुख एमालेको हुने र पछि एमालेको प्रधानमन्त्री हुँदा सभामुख माओवादीको हुने भन्ने थियो। राष्ट्रपति चुनाव भइराख्ने विषय नभएकाले राष्ट्रपति एमालेले लिने भन्ने सहमति भएको थियो। तर‚ सहमतिमा टिक्न नसक्ने कस्तो चरित्र देखाएको? माओवादीले कस्तो आचरण देखाएको? माओवादीका लागि यो धेरै महँगो हुन्छ।
माओवादीलाई लागेको होला, हामीले भने जस्तो मान्छे ल्याइदिए हुन्थ्यो। भागबन्डा लगाएपछि माओवादीलाई प्रधानमन्त्री दिने भन्ने थियो। अब हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई होइन कृष्णबहादुर महरालाई बनाउने भन्न मिल्छ र? मिल्ने थिएन नि। अनि सभामुख पहिलो चरणमा एमालेले लिने भनेपछि सभामुख चयन गर्ने त माओवादीले होइन होला नि? एमालेले चयन गर्ने हो। आआफ्नो भागबन्डामा आफू आफूले गर्ने निर्णय हो। एमालेसँग बस्दाखेरि माओवादीले असुरक्षित महसूस गरेको हो। अन्य शक्तिले त्रास देखाइदिएपछि त्रसित भएको हो। केपी शर्मा ओलीले सभामुखमा आफ्नो ‘पकेट’ को मान्छे ल्याए भनेर जनतालाई भ्रममा पार्न खोजेको मात्र हो।
नेपालका कम्युनिस्टहरू किन मिल्न सक्दैनन्? यसमा आन्तरिक कारण छ कि बाह्य?
एमाले र माओवादी मिलेको आफ्नै पहलमा हो‚ बाह्य शक्तिले होइन। त्यो शक्ति फेरि फुट्यो, त्यो पनि बाह्य शक्तिले होइन। आन्तरिक कारणले नै नेकपा फुटेको हो। नेताहरूले पार्टीको जीवनलाई व्यवस्थित गर्न नसक्दा फुट्यो। नेताहरूले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजान प्रयत्न त गर्छन्, तर सफल भएका छैनन्। यसका मुख्य कारण नेताहरू नै हुन्। बाह्य कुरा सहायक हो। बाह्य शक्तिले जतिसुकै धक्का‚ दबाब दिए पनि, बिगार्न, भत्काउन खोजे पनि आन्तरिक रूपमा लड्नु‚ फुट्नु‚ विभाजित हुनु हुँदैन भनेर बसेको भए विभाजन नै हुने थिएन।
फुटेर जानेको र त्यहीं बस्नेको पनि कमजोरी देखिन्छ। कसैको कम‚ कसैको बेसी होला। फुटेर जाने त त्यसै धेरै दोषी भइहाले। माधव नेपाल दोषी भए। उनले पार्टी विभाजन गर्नुको औचित्य सावित गर्न सकेका छैनन्। नीति, सिद्धान्त वा विचार के कारणले पार्टी विभाजन भयो भन्ने देखाउन सकेका छैनन्। मात्र केपी शर्मा ओलीसँगको विवादका कारणले फुट्यो, केपी ओलीले दुःख दिए भन्ने आधारमा पार्टी फुटाए। पार्टीको नियम अनुसार समस्याको समाधान खोज्नुपर्थ्यो। विद्रोहले समस्याको समाधान हुँदैन रहेछ भन्ने त अहिले देखियो नि। यो कुरा अहिले उनीहरूले बुझेका छन्। मन नलागी नलागी कांग्रेसलाई भोट हाल्नु परिराखेको छ। त्यो कुरा कार्यकर्ताहरूले भनिसके। नेपालका कम्युनिस्टहरू हतारोमा पार्टी फुटाउँछन् र फुर्सदमा पछुताउँछन्।
राष्ट्रपति निर्वाचनका वेला तपाईंहरू नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा एमालेका तर्फबाट उम्मेदवार रहेका सुवास नेम्बाङलाई मत माग्न जानुभयो। त्यस वेला पार्टी एकताबारे कुनै छलफल भएन?
त्यति वेला पार्टी एकताबारे कुनै कुरा हुन पाएन। तर‚ हामीबीच अनौपचारिक छलफल भइरहेको छ। एकताको सम्भावना जहिले पनि रहन्छ। तर‚ कुरा जुन शक्ति छुटेर गयो त्यसले त्यसरी जानु गलत हो भनेर महसूस गर्नुपर्यो। उनीहरूले पार्टी विभाजन हुनु गलत रहेछ भन्ने महसूस गरेका छन्। पार्टी फुटाएको औचित्य पुष्टि भएन भन्ने देखिन्छ। एमाले र एकीकृत समाजवादीबीच एकता हुने आधार तयार हुँदै छ।
अर्को‚ माओवादी केन्द्र बाहेकका अन्य कम्युनिस्ट पार्टीहरू छन्। ती पार्टीहरूले अब समाजवादी क्रान्तिको तयारी गरी समाजवादको आधार तयार गर्ने‚ जनताको जनवादी व्यवस्था स्थापनाको सुदृढीकरण भनेका छन्। बाँकी रहेका सामन्तवादको अवशेष अन्त्य गर्ने भनेका छन्। त्यसका लागि शान्तिपूर्ण संघर्ष आवश्यक रहेको औंल्याएका छन्। त्यो विचार एमालेले राख्दै आएकोभन्दा भिन्न होइन। त्यसैले कम्युनिस्ट पार्टीहरूबीच बृहत् छलफल चलाएमा आपसमा मिल्न सकिन्छ। हाम्रो आचरण, शैली र व्यवहारले मात्र समस्या आएको हो। अहिले हामीले जुन तरीकाले आन्दोलन हाँक्न खोजेका छौं अब त्यसरी चल्दै चल्दैन।